शनिबार, आश्विन १७ गते २०८३

अर्थमन्त्रीले गभर्नर अधिकारीलाई मन्त्रालयमा डाकेर के भने ?

चैत्र २१, २०७९ मंगलबार
अर्थमन्त्रीले गभर्नर अधिकारीलाई मन्त्रालयमा डाकेर के भने ?

 

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाइ आर्थिक अवस्था सुधारका लागि सहयोग गर्न भनेका छन् । 

आज मन्त्रालयमा गभर्नरसँग करिब डेढ घण्टाको छलफलमा अर्थतन्त्र खराब अवस्थामा रहेको र बजारको मनोविज्ञान कमजोर भएकोले भन्दै अर्थमन्त्री महतले राष्ट्र बैंकसँग सहकार्य गरेर समस्याहरु समाधान गर्ने पक्षमा आफू रहेको जनाए । 

राष्ट्रबैंकको तर्फबाट अहिले बिद्यमान तरलता अवस्था, बाह्य क्षेत्रको अवस्था, सार्वजनिक वित्त, ब्याजदर, अन्तर्राष्ट्रिय परिवेशलगायतका बारेमा छलफलमा जानकारी गराएइको थियो । अर्थमन्त्री महतले अर्थतन्त्र निकै खराब अवस्थामा रहेको, राजस्वले चालु खर्च पनि धान्न नसकेको अवस्थामा सुधारका लागि के गर्न सकिन्छ भनेर राष्ट्र बैंकका गभर्नर अधिकारीलाई सोधेका थिए।

उनले उद्यमी व्यवसायीदेखि आमसर्वसाधारणसम्मको मनोबल उच्च पार्नुपर्ने अवस्था रहेको भन्दै गभर्नरसँग मिलेर काम गर्ने बताए। अर्थमन्त्रीले बैंक ऋणको ब्याजदर घटाउन के गर्न सकिन्छ भनेर पनि सोधेका थिए।

गभर्नर अधिकारीले बैंक ब्याजदर घट्दो क्रममा रहेको बताउँदै बाह्य क्षेत्रमा अब खासै समस्या आउँदैन भन्ने भएमा नीतिगत दरहरु पनि घटाउने बताए। अर्थमन्त्री महतले बढी चासो सहकारी क्षेत्र र लघुवित्तका बारेमा राखेका थिए। त्यहाँ ठूलो समस्या रहेको भन्दै त्यसको समाधान निकाल्न सँगै अगाडि बढ्नुपर्ने बताएका थिए।

सरकार र राष्ट्र बैंकको सम्बन्ध बिग्रिएका कारण पनि अर्थतन्त्रमा समस्या देखिएको कतिपयको भनाइ छ । तत्कालिन अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीच देखिनेगरी कटाक्ष हुने गरेको थियो । अर्थमन्त्री डा. महतले गभर्नर अधिकारीसँग सम्बन्ध सुधार गर्न खोजेको देखिन्छ ।