आइतबार, कार्तिक ९ गते २०८३

‘सदस्यको बचत फिर्ता गर्न राज्यसँग पैसा माग्नु गलत’ : बिजुक्छेँ

चैत्र २०, २०७९ सोमबार
‘सदस्यको बचत फिर्ता गर्न राज्यसँग पैसा माग्नु गलत’ : बिजुक्छेँ


नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले सदस्यको बचत फिर्ता गर्न राज्यसंग पैसा माग्नु गलत भएको जनाएका छन् । ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा भक्तपुरमा आयोजित प्रभातफेरी कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै बिजुक्छेले बैंक वित्तीय संस्थामा जस्को धेरै पुँजी हुन्छ त्यसको बढी अधिकार हुन्छ तर सहकारीमा सदस्यको अधिकार एक व्यक्ति एक मतका आधारमा हुने भएकोले बहुमतमा मात्र निर्णय हुने विशेषता रहेको बताए ।

सहकारी स्थानीय समुदायको आर्थिक, सामाजिक साँस्कृतिक विकासको लागि खोलिनु पर्नेमा राज्यका अधिकारीहरु नै स्वार्थबाट प्रेरित भई जथाभावी सहकारी दर्ता दिँदा आज सहकारीमा विकृति बढेको बिजुक्छेले जनाए । ‘यसको जिम्मा सरकारले लिनुपर्छ,’ उनले भने, ‘सहकारी सदस्यको हो । सदस्यबाटै बचत संकलन गर्ने र सदस्यलाई परिचालन गर्ने भएकोले सहकारी बचाउने नाममा राज्यबाट रकम माग्नु गलत हो । सहकारीमा गलत गर्नेहरुलाई कारबाही गर्नुपर्दछ ।’ व्याजको लोभमा नफस्न र सही सहकारी पहिचान गरेर मात्र सदस्य बन्न अनुरोध गर्दै उनले सहकारीबाट संकलित पुँजी कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

कार्यक्रमका विशेष अतिथि भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सहकारीको नाममा ठगी धन्दा चलाउनाले सहकारी बदनाम भइरहेको बताउदैं त्यस्ता व्यक्तिहरुको पहिचान गरी कारवाही गर्नुपर्ने विचार राखे । उनले भक्तपुर नमुना जिल्ला भएकोले आसन्न बिस्केट जात्रा शान्तिपूर्वक सम्पन्न गरी ऐतिहासिक बिस्केट जात्राको महिमा बढाउनुपर्नेमा जोड दिए ।

जिल्ला सहकारी संघ लि.का अध्यक्ष केदार खड्काले आर्थिक मन्दीका कारण देशमा सहकारी क्षेत्रले ठुलो संकट भोगिरहेको बताए । सहकारीको मुल्य, मान्यता र सिद्धान्त विपरित सञ्चालित सहकारीको विकृतिले सहकारी बदनाम भइरहेको उनको भनाइ छ । उनले सही सहकारी चिन्ने र सदस्य भई कारोबार गर्न सचेत हुनुपर्ने जनाए ।

कार्यक्रमका सभापति संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले २०१३ चैत्र २० गते चितवनको बखानपुर ऋण समिति दर्ता भएको दिनलाई आधारित भएर राष्ट्रिय सहकारी दिवस मनाउदैं आएको कु्रा बताउदै सहकारीमा सदस्यको व्यक्तिगत बचत सिमा २५ लाख तोक्ने गरी ऐन संशोधनको सरकारको प्रस्तावप्रति विरोध जनाए । तीन खम्बे अर्थनीतिमा सहकारी पनि एक खम्बा भएकोले सो खम्बाको संरक्षणमा सरकार गम्भिर हुनुपर्ने औंल्याए ।

सहकारीमा विकृती कहाँबाट कसरी भित्रीयो भन्ने कुरा सदस्यलाई थाहा नै नदिई सहकारी बचाउको नाममा राज्यसंग पैसा माग्दैमा समस्या समाधान नहुने प्रष्ट पारे । वर्तमान सहकारीको समस्या समाधान गर्न नियमनकारी निकायमा धाउने भन्दा संस्थाका आफ्नै सदस्यमाझ गई समाधान खोज्नु पर्नेमा उनले जोड ।

संघका उपाध्यक्ष हरि बल्लले सहकारी आन्दोलन र अभियानमा कालो बादल छाएको छ, त्यो बादल कुन कारणले देखियो, सम्पुर्ण सहकारीकर्मीहरुले मनन गर्नुपर्ने विचार राखे । सबै सहकारीकर्मीहरु एकजुट भएर त्यो कालो बादल हटाउनुपर्नेमा उनको जोड थियो ।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको आयोजनामा जिल्ला सहकारी संघ, जिल्ला कृषि सहकारी संघ र जिल्ला बहु्उद्देश्यीय सहकारी संघहरुको समन्वयमा त्यसअघि प्रभातफेरि आयोजना गरी टौमढीमा सभा गरेको हो । 

bkt savi.jpg