
विविध कार्यक्रमको आयोजना गरी देशभर आज ६६औं राष्ट्रिय सहकारी दिवस मनाईदै छ । सहकारी दिवसको अवसरमा आज देशभर र्याली,रक्तदान कार्यक्रम,सरसफाई ,गोष्ठी लगायत विभिन्न कार्यक्रम आयोजना भएका छन् । काठमाडौं,ललितपुर र भक्तपुरले सयुक्त रुपमा र्यालीको आयोजना गरी सहकारी दिवस मनाई रहेका छन ।
उपत्यकाका विभिन्न ठाउँबाट र्याली निकाली माईती घरमा पुगेर कोणसभामा परिनत हुने राष्ट्रिय सहकारी महासंघले जनाएको छ । ६६औं राष्ट्रिय सहकारी दिवसको संयोजक रहेकी महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले आज काठमाडौं उपत्यकाका सहकारीकर्मीहरुले आफ्ना मागहरु पुरा गर्न दवाव दिन र्यालीको आयोजना गरेको बताईन । महासंघले उपत्यकाका सहकारीकर्मीलाई माइतिघरमा भेला हुन आव्हान गरेको र काठमाडौ, भक्तपुर र ललितपुरका सहकारीहरुलाई आफ्नो रुट अनुसार झाँकी, ब्यानर र प्लेकार्ड सहित प्रभातफेरी गर्दै माइतीघरमा भेला हुन लागेको उनले बताईन ।.सहकारीकर्मीले ठाएको मागलाई राज्यले वेवास्ता गरेको भन्दै उनले सहकारीको समस्याप्रति गम्भिर बन्न आग्रह गरिन । सहकारीकर्मीले उठाएका मागलाई तत्काल सम्बोधन गर्न उनको माग छ ।

राष्ट्रिय सहकारी बैंक, नेफस्कून र जिल्ला संघहरुले पनि सहकारी दिवसलाई सफल बनाउन सक्रिय रुपमा सहभागी हुन आव्हान गरेका छन् । विगतका बर्षहरुमा कोरोना भाईरसका कारण सरकारले र्याली लगायतका सामुहिक रुपमा यस्ता कार्य गर्न रोक लगाएकाले र्यालीको आयोजना हुन सकेको थिएन ।
यो बर्ष भने कोरोना भाईरसको महामारी हटेको र सहकारी क्षेत्र वितीय लगायत अन्य समस्याबाट गुज्रिरहेकाले सरकारलाई दवाव दिने उदेश्यले र्यालीको आयोजना गरिएको छ । महासंघले काठमाडौं उपत्यका बाहेकका जिल्लाका सहकारी संघ संस्थाहरुले सहकारी दिवसका अवसरमा साताभर विविध कार्यक्रम गरी सहकारी महासंघलाई जानकारी दिन समेत आग्रह गरेको थियो ।
नेपालमा हरेक वर्षको चैत्र २० गते सहकारी दिवस मनाइन्छ । महासंघले हरेक वर्ष सहकारी दिवसका अवसरमा वर्षभरीका लागि नारा तय गर्ने गरेको छ । यो वर्षका लागि ‘सहकारीको दीगोपनः स्वनियम र सुशासन’ भन्ने थिम तय गरिएको छ ।