आइतबार, कार्तिक ९ गते २०८३

आन्तरिक परीक्षण सुदृढ नगरे सहकारी संस्था निरन्तर समस्यामा पर्ने

चैत्र १९, २०७९ आइतबार
आन्तरिक परीक्षण सुदृढ नगरे सहकारी संस्था निरन्तर समस्यामा पर्ने

 

सुरक्षित सहकारी सञ्चालनमा आन्तरिक परीक्षणको महत्व विषयक एक दिवसिय  कार्यशाला गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ । ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बागमती बचत तथा ऋण सहकारी संंघ (प्रोस्कून) ले आयोजना गरेको गोष्ठीमा बोल्दै वक्ताहरुले आन्तरिक परीक्षणलाई व्यवस्थित गर्न सके सहकारी संस्थामा समस्या नआउने बताएका छन् । आन्तरिक परीक्षण कमजोर हुँदा धेरै सहकारी संस्थाहरु समस्यामा पर्दै गएको भन्दै उनीहरुले यसलाई व्यवस्थित गरेर लैजान आवश्यक रहेको औंल्याएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि एंव राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले बाह्य अडिटरबाट छाप लगाउने कामले मात्रै सहकारी संस्थाहरुलाई दिर्घकालसम्म टिकाएर राख्न मुश्किल हुने बताए । संस्थाहरुले  आन्तरिक सुशासनमा ध्यान दिनुपर्ने औंल्याउँदै उनले आन्तरिक सुपरिवेक्षणलाई पूर्ण पालना गर्न सकियो भने मात्रै संस्थालाई ठुलो र दिगो बनाई टिकाइ राख्न सकिने बताए । आन्तरिक सुशासन पालना गरेका संस्थाले जतिसुकै ठुलो वितीय संकट आए पनि त्यसको सामना गर्न सक्ने उनको भनाइ छ । वर्तमान समस्याबाट सहकारीहरुलाई बचाउँदै सहकारीलाई दिर्घकालसम्म टिकाइराख्न प्रोस्कूनले अघि सारेको टुल्सलाई प्रयोगमा ल्याउनु पर्नेमा उनले जोड दिए ।

त्यसैगरी सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशिनाथ दाहालले कर्मकान्डी लेखापरिक्षणले सहकारी क्षेत्रमा समस्या आएको भन्दै आन्तरिक लेखापरिक्षेणलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । सहकारीमा आन्तरिक नियन्त्रणको निम्ति सहकारी ‘अंकुशमेन्ट’ लागू गर्ने आवश्यक रहेको उनले औंल्याए । सबै सहकारीमा लागू गर्न नसके पनि ठुलो कारोबार गर्ने संस्थाहरुमा यो लागू गर्न सकिने उनको भनाई छ । आन्तरिक निरिक्षणको लागि यसलाई प्रयोग गर्न सकिने र त्यसकै आधारमा सञ्चालक समिति, व्यवस्थापन र लेखा परिक्षकले गर्नुपर्ने सुधारमाा प्रभावकारिता ल्याउन सकिने उनको भनाई छ ।

proscun 2.jpg

आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी नहुँदा र नियमन अनुगमन प्रणाली फितलो हुदाँ सहकारीमा समस्या आएको उनको दाबी छ । दुई वटा प्रणालीमा सुधार नआएसम्म सहकारी क्षेत्र नसुध्रिने उनले जनाए । सहकारीको सुशासन र दिगोपनाको लागि गम्भीर भएर लाग्नु पर्नेमा उनले जोड दिए । सहकारी क्षेत्र सुधारको लागि उपयुक्तसमय आएको हुन सक्ने उनले बताए । सहकारी क्षेत्रको सुधार गर्न सहकारी विज्ञ सहितको उच्चस्तरिय आयोग  गठन गर्न आवश्यक रहेको उनले जनाए । राज्यकै तहबाट राज्यलाई नै सुझाव दिन आयोग गठन गर्न आवश्यक रहेको भन्दै दाहालले सहकारीका बीचमा व्यापक छलफल तथा अन्रक्र्रिया गरी ऐन, नियम, नीति र संरचनामा सुधार लागि अगाडि बढ्न उनले सुझाव दिए । तरलता व्यवस्थापन र ऐन नियम कार्यान्वयन गर्न अभियानले नै पहल गनृुपर्नेमा उनले जोड दिए । सहकारी समस्याग्रस्त हुनै नदिने गरी काम गर्न उनले सुझाए । सहकारीमा विश्वासको वातावरण बनाउन अभियानको तर्फबाट सयुक्त विज्ञप्ति निकाल्न उनले सुझाव दिँदै राज्यले सबै सहकारीमा समस्या छैन र बचत फिर्ताको लागि लाइन नलाग्नुस् भन्ने जस्ता सकारात्मक विज्ञप्ति जारी गर्ने कुरामा पनि अभियान एकाकार भएर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी उप्रेतीले सबै संघ संस्थाले एउटै काम गर्नु भन्दा फरकफरक काम गरेर संस्थाहरुलाई बलियो बनाउने तर्फ लाग्नु पर्ने उल्लेग गरे । सबैले उस्तै काम गर्दा त्यसको प्रभावकारिता नदेखिएको भन्दै उनले भुगोल र कार्यक्षेत्र निर्धारण गरेर काम गर्दा कुनै समस्या नहुने बताए । शहरी क्षेत्रमा सबै संघसंस्था केन्द्रित भएको भन्दै उपे्रतीले दुर्गममा कोही जान तयार नभएको बताए । सहकारीमा सुशासन कायम गर्न स्वनियममा बस्न आवश्यक रहेको बताउँदै उनले सहकारीमा समस्या आउन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेफस्कूनका अध्यक्ष परितोष पौड्यालले एउटै विषयमा संघहरु केन्द्रीत हुनु भन्दा नयाँ काम गर्दै अगाडि बढ्नु राम्रो भएको बताए । हरेक संघले परिभाषित काम गर्नु पर्नेमा जोड दिँदै उनले प्रोस्कूनले नयाँ कार्यको थालनी गर्नु राम्रो भएको जनाए । संघहरुबीच इन्टरकनेक्सनको विषय महत्वपूर्ण भएको भन्दै पौड्याले नेटवर्क म्यानेजमेन्टमा रहेक अगाडि बढ्न आवश्यक रहेको जनाए । बचत तथा ऋण सहकारीको ८ नम्बरको सिद्धान्तलाई टेकेर अहिले देखिएको समस्या नआउने उनको दावी छ । नेटवर्क म्यानेजमेन्टमा  ध्यान दिएनन् भने नेपालको सहकारी अभियान समस्या रहिरहने उनले दावी गरे ।

कार्यक्रममा सहकारी विज्ञ डा. शिवजी सापकोटाले कार्यपत्र प्रस्तुत गर्दै सहकारीहरु नाफामा भन्दा पनि सेवामा केन्द्रित हुनुपर्नेमा जोड दिए । अहिले बजारमा संस्था ठुलो बनाउने र नाफालाइ प्राथमिकता दिने गतिविधिले सदस्य शोषित भएको भन्दै उनले त्यो सहकारी सिद्धान्त विपरित रहेको उल्लेख गरे ।

कार्यक्रममा प्रोस्कूनका सिइओ केशवप्रसाद दाहालले प्रस्तुतिकरण गर्दै संस्थाहरुमा  आन्तरिक परिक्षण विधि प्रभावकारी नभएकोमा चिन्तित हुने बेला आएको बताए । प्रोस्कूनले ३ वटा विषयको पाठ्यक्रम तयार गरेको जानकारी दिँदै क्वालिटी एस्योरेन्समा भाग लिएका संस्थाले ब्राण्ड नपाएपनि संस्था निरन्तर सुरक्षित छ भन्ने सुनिश्चितता दिन यो कार्यक्रम लागु गरेको उनले बताए । सहकारीहरु व्यक्तिगत, सामुहिक र पारस्परिक र सक्रिय स्थिरताको घेरामा रहेको भन्दै उनले सहकारीको दिगापनाका लागि यी कुरा आवश्यक रहेको जनाए । संघले सबै संस्थाहरुलाई सुधार गर्न सक्दैन, उनले भने, तर सुधारका लागि आवश्यक पर्ने टुल्सहरु दिन्छ र संस्था स्वयंले सुधारका लागि अगाडि बढ्नु पर्छ ।

सहकारी बिग्रनुमा सञ्चालक र व्यवस्थापक मात्रै दोषी नभएको भन्दै उनले लेखापरीक्षण गर्ने अडिटरको मुख्य हात भएको दावी गरे । १० वर्षदेखि एउटै लेखापरीक्षकले प्रतिवेदन तयार गर्ने, घाटामा गएको संस्थाको पनि नाफा बाँड्ने, बिना धितो अधिक लगानी र ऋणको फाइलको सही व्यवस्थापनमा ध्यान नदिने र संस्थाको सुधारका लागि नियामक निकायलाई जानकारी दिनुपर्ने भएपनि ती विषयमा कुनै टिप्पणी नगर्ने जस्ता कमजोरी लेखा परीक्षकको रहेको उनले औंल्याए । लेखा परीक्षणलाई मात्र व्यवस्थित गर्नसके अहिले देखिएका आधा समस्या हल हुने उनको दावी छ ।

कार्यक्रमका सभापति एवं प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले सहकारी संस्थालाई व्यवस्थित र दीगो बनाउन संघले यस्ता खालका टुल्सको विकास गरी प्रयोगमा ल्याएको जानकारी दिए । निकट भविष्यमा ने केहि संस्थाको आन्तरिक परिक्षणको काम प्रोस्कूनले अगाडि बढाउने समेत उनले जनाए । 

proscun 3.jpg