शुक्रबार, कार्तिक ७ गते २०८३

‘उत्पादनमूलक सहकारीले भोगेका समस्या महासम्मेलनमा उठाउँछौं’

चैत्र १६, २०७९ बिहीबार
‘उत्पादनमूलक सहकारीले भोगेका समस्या महासम्मेलनमा उठाउँछौं’

हामी महासंघको सदस्य नै हौं । हामी उत्पादनसँग जोडिएका छौं । १ सय भन्दा बढि चिया उत्पादक सहकारी छन् र ३०/३२ वटा कारखाना सञ्चालनमा रहेका छन् । सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ । र त्यसपछि मात्रै बजारमा टिक्न सकिन्छ भन्ने मेरो मान्यता हो । सहकारी बचत तथा ऋणमा मात्र सीमित हुनुहुँदैन भनेर हामीले चिया उत्पादन गर्दै आएका छौं । उत्पादनशील क्षेत्रमा जान नीतिगत समस्याहरु छन् । उत्पादनमूलक सहकारीले ब्राण्ड, लेबलिङ, खाद्य अनुमति र आयात निर्यातको समस्या भोग्नुपरेको छ । बैंकहरुले सहुलियत कर्जा उत्पादन सहकारीलाई दिँदैनन् । हामी उत्पादनमा लागेका सहकारीले धेरै समस्या भोगिराखेका छौं । ती कुरा महासम्मेलनमा उठाउने हाम्रो योजना छ । हामीले उठाएका विषयहरुलाई महासंघले सपोर्ट गरोस् भन्ने हाम्रो चाहना हो । अर्कोतर्फ उत्पादनमूलक सहकारीले उत्पादन गरेका वस्तुहरु जुनजुन सहकारीले मार्ट वा पसल चलाएका छन्, तिनीहरुले विक्रीका लागि सहयोग गरिदिउन् भन्ने पनि हो । नेपालभरका सहकारी महासंघका सदस्य छन् । उनीहरुमध्ये जजसले बजारिकरणमा काम गरिराखेका छन्, हामीले उत्पादन गरेको वस्तुलाई विक्री गर्न सहजीकरण गरिदिनुप¥यो भन्ने हो । महासम्मेलबाट हाम्रो अपेक्षा यहि छ ।

अहिले सहकारी खोलेर गलत काम गर्ने केहि व्यक्तिका कारण सहकारी अभियानमा समस्या आएको छ । गलत गर्नेहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्छ । यस्ता समस्या आउन नदिन अब कस्तो रणनीति बनाउनुपर्छ ? विश्वमा सहकारीले के गरिराखेका छन् ? मुल्य, मान्यता र सिद्धान्त पालनको अवस्था के छ ? ती कुराको बारेमा ज्ञान हासिल गर्न पनि महासम्मेलनमा आउने हो । सिकाइमा पनि नयाँपन आओस् र यो महासम्मेलनले सहकारी क्षेत्रको रोडम्याप तयार गरोस् । सम्मेलनका लागि मात्रै सम्मेलन नहोस् । केहि न केहि नयाँ काम गरोस् भन्ने हो । सहकारीलाई उत्पादनसँग जोड्नुपर्छ भन्ने विषय हामीले विशेष जोडकासाथ उठाउनेछौं ।

जसले उत्पादन गरिराखेका छन्, ती सहकारीमा समस्या आउँदैन । सदस्यकेन्द्रित भएर काम गरेका सहकारीमा समस्या छैन । बजारमुखी भएका र सदस्यलाई ग्राहक बनाएर जसले कारोबार गरेका छन् ती संस्था समस्यामा परेका छन् । यस्तो परिस्थितिमा हुन लागेको सम्मेलनले नयाँ बाटो तय गर्नुपर्छ भन्ने हो ।

कृषि, दुग्ध र बहुउद्देश्यीय सहकारी खोलेर पनि काम बचतऋण नै गरेपछि त समस्या आइहाल्छ नि । उदेश्यअनुसार सहकारीले काम गर्नुप¥यो र राज्यले पनि उद्देश्य अनुसार काम गर्न लगाउनुप¥यो । कृषि सहकारीलाई बचतऋण गर्न दिएपछि त के अर्थ लाग्छ ? यसले सहकारी समस्यामा पर्छ नै ।

अर्कोतर्फ सहकारी क्षेत्रलाई राज्यले चिन्दै चिन्दैन भन्दापनि हुन्छ । सहकारीले उत्पादन पनि गर्छ भन्ने राज्यलाई थाहै छैन होला ।  हामी उत्पादक सहकारीलाई भन्सार, उद्योग विभाग, खाद्य विभाग र सरकारका अन्य निकायले चिन्दैनन् । कानुनमा सहकारीलाई चिन्ने व्यवस्था बनाउनुप¥यो । एउटा व्यक्तिले उद्योग खोल्दा कानुनले चिन्छ भने सहकारीलाई पनि कानुनले चिन्नुप¥यो । सहकारी कार्यालय, विभाग र मन्त्रालय हुँदाहुँदै हामीले किन अरु १० वटा कार्यालयको ढोका चाहर्नुप¥यो । हामीलाई अन्य निकायले सिधै चिन्नुप¥यो भन्ने हो । सरकारका सबै निकायले सहकारीलाई चिन्ने बातावरण बनाउनुप¥यो । र एकद्वार प्रणालीमार्फत उत्पादनमा जान पाउनुप¥यो । हामीले यहि कुरामा जोड दिइरहेका छौं । सहकारीलाई कृषि ऋण दिँदा के हुन्छ ? उत्पादनमा जाने सहकारीलाई कृषि ऋण दिने भनेर नीतिमा लेखिदिए भइहाल्यो नि । त्यहि काम गर्न निजी कम्पनीलाई बैंकले ५ करोड दिन्छ । हामीलाई १ करोडको सीमा लगाइएको छ ।

चिया सहकारीहरुले वार्षिक ४० लाख केजी चिया उत्पादन गरिरहेका छन् । नेपालमा सबै गरेर कुल २ करोड केजी चिया उत्पादन हुने गरेको छ । हामीले उत्पादन गरेको चियाले विश्वमै नामुद छ । तिनजुरे चिया उत्पादक सहकारीले उत्पादन गरेको चिया विश्वमै उत्कृष्ट भएको छ । चियाको सम्भावना अधिक छ । यसको लागि राज्यले बातावरण बनाइदिनुपर्छ ।