जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिएको छ ।
संस्थाले ६६औं राष्टिय सहकारी दिवसको अवसर पारेर दश वटै सेवा केन्द्र मार्फत वित्तीय साक्षरता कायक्रम सञ्चालन गरिरहेको छ । संस्थाले दुई तरिकाले यस्तो कार्यक्रम गदै आएको अध्यक्ष ज्ञानु पौड्यालले जानकारी दिइन् ।
कलेज तथा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सम्बन्धित कलेज र विद्यालयमा नै गएर वित्तीय साक्षरता दिँदै आएको उनले बताइन । त्यसैगरी संस्थाका सदस्यहरुलाई भने विस्तारित मञ्चमार्फत नियमित रुपमा बर्षभरी नै वितीय साक्षरता कार्यक्रम गर्ने गरेको उनको भनाइ छ ।
कलेज तथा विद्यालयमा अध्ययनरत विधार्थीहरुलाई सानै उमेरदेखि वित्तीय साक्षरता दिँदा उनीहरुमा वित्तीय ज्ञान बढ्न गई फजुल खर्च घटाउनमा सहयोग पुग्ने र वित्तीय अनुशासनमा रहेर भविष्यको लागि बचत गर्ने बानीको विकास हुने उनको भनाई छ । त्यसैगरी विधार्थीहरुमा सहकारीप्रति आकर्षण बढाउनु, सहकारी भनेको के हो भन्ने बारेमा बुझाउन र संस्थाले दिने सेवाका बारेमा जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना गरेको अध्यक्ष पौड्यालले बताइन् ।

संस्थामा आवद्ध ४० हजार सदस्य मध्ये ८ हजार बाल बचतकर्ता रहेका छन् । उनीहरुबाट मात्रै संस्थामा २८ करोड बचत संकलन भएको छ । सानैदेखि बचत गर्दा भविष्यको लागि ठुलो पुँजी निमार्ण हुने र उनीहरुको शिक्षादिक्षामा सहयोग पुग्ने भएकाले सबै विद्यार्थीलाई बचत गर्ने बानीको विकास गर्न उनको आग्रह छ । त्यसैगरी सदस्यहरुलाई संस्थाको समग्र कारोबारका साथै संस्थाले दिने सेवा तथा सुविधाको वारेमा जाकारी दिने उदेश्यले संस्थाले बर्ष भरी सेवा केन्द्रमार्फत यस्तो कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।
वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न संस्थाले ४८ लाख रुपैया विनियोजन गरेको छ । यस्ता कार्यक्रमले संस्थाप्रति सदस्यहरु जवाफदेही बन्ने, अपनत्व बढ्ने र सदस्यले निरन्तर कारोवार गर्ने उनले जनाइन । कार्यक्रममार्फत संस्था र सहकारीको बारेमा सदसयलाई बुझाउनुका साथै जनउत्थान नै किन भन्ने जस्ता प्रश्नको जवाफ दिने गरेको उनको भनाइ छ । सहकारीले सदस्यको सन्तुष्टिको लागि काम गर्ने र सदस्य नै संस्थाको मालिक भएको भन्दै उनले यस्ता कार्यक्रम गर्न आवश्यक रहेको बताइन ।
सदस्यको विश्वास संस्थाप्रति रहेकाले वितीय संकटका बेलामा पनि संंस्थाको वितीय सुचाङ्क राम्रो रहेको उनले जानकारी दिइन् ।
संस्थाले ६६औं सहकारी दिवसका अवसरमा कोटिहवा सेवा केन्द्र अन्तरगत पशुपति कलेजका विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कार्यक्रममा ७८ जना शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम जनउत्थान साकोसको संचालक सदस्य बुद्धिबल न्यौपानेको अध्यक्षतामा र साकोसको अध्यक्ष ज्ञानु पौडयालको प्रमुख आतिथ्यतामा भएको हो । विद्यालयका सहायक प्रध्यानाध्यापक जीत बहादुर रासकोटीले सो अवसरमा मन्तव्य राखेका थिए । त्यस अघि संस्थाले तामनगर सेवा केन्द्र अन्तरगत जितेश्वर मावि बुटवल १२ बदेलपोखरीका विद्यार्थीहरुलाई वित्तीय साक्षरता दिएको थियो । कार्यक्रममा ८७ जना विद्यार्थीहरुको सहभागिता थियो ।
संस्थाको रुद्रपुर सेवा केन्द्र अन्तरगत लुम्बिनी ज्ञान निकेतन मावि कञ्चन – ५मा आयोजना गरेको कार्यक्रममा १२६ जना विद्यार्थीहरुको सहभागिता थियो । कार्यक्रम जनउत्थान साकोसको रुद्रपुर सेवा केन्द्रका संयोजक भैरव बहादुर थापाको अध्यक्षतामा र साकोसको सचिव सरु रानाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा विद्यालयका प्रअ कृष्ण प्रसाद शर्मा र सहायक प्र.अ. बालकृष्ण पराजुलीले कार्यक्रम धेरै फलदायी र प्रभावकारी भएकोले विद्यार्थीहरुलाई सहकारी बुझाई र बचत कारोबारमा आधुनिक प्रविधिहरु प्रयोगमा थप टेवा पुग्ने अपेक्षा गरेका थिए ।
जनउत्थान लुम्बिनी प्रदेशकै सबैभन्दा बढी जगेडा कोष भएको संस्था हो । संस्थाको २४ करोड ९ लाख जगेडा कोष, ३० करोड ४० लाख शेयर पुँजी, ५ करोड १ लाख कर्जा जोखिम कोष, २ अर्ब ४८ करोड ५१ लाख कुल बचत तथा २ अर्ब ५० करो ५८ लाख ऋण लगानी रहेको छ । संस्थामा २४.२६ प्रतिशत अर्थात ६० करोड २९ लाख रकम तरलता रहेको छ । संस्थाबाट १० हजार ११७ जना सदस्यले ऋण लिएका छन् । संस्थाको कुल सम्पत्ति ३ अर्ब २२ करो ७६ लाख पुगेको छ ।
