आइतबार, कार्तिक ९ गते २०८३

‘सहकारीकर्मी भद्र रुपमा प्रस्तुत हुँदा सरकारले टेरेन, ऐन कार्यान्वयन गराउन आन्दोलनमा जान्छौं’

चैत्र १५, २०७९ बुधबार
‘सहकारीकर्मी भद्र रुपमा प्रस्तुत हुँदा सरकारले टेरेन, ऐन कार्यान्वयन गराउन आन्दोलनमा जान्छौं’

 


ऐनमा भएका विषय कार्यान्वयन नहुँदा सहकारी क्षेत्र बदनाम हुनु परेको राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले बताएकी छिन् । आज महासंघद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मन्त्री, प्रधानमन्त्री र सहकारीका निकायले अभियानको माग नसुनेपछि सडक आन्दोलनमा जानु परेको उल्लेख गरिन् । दुईचार जनाले बोलेको आवाज सानो भयो भन्ने सरकारलाई लाग्छ भने सडक आन्दोलन समेत गर्न आफुहरु तयार रहेको उनले बताइन् । ‘मिटर व्याजीहरु माईती घर मन्डलामा अनशन बसेपछि सरकारले क्याबिनेट मार्फत मिटर ब्याजीलाई व्यवस्थित बनाउने भन्यो’, उनले भनिन ‘हामी सहकारीकर्मी भद्र रुपमा प्रस्तुत हुँदा सरकारले टेरेन । हामीले नियम संगत मागेका मागहरु पुरा नभए अब आन्दोलन रोकिँदैन ।’ सहकारीका सञ्चालक र व्यवस्थापकहरुले सहकारीबाट ऋण लिएको भए सम्पत्ति बेचेर भए पनि पैसा तिर्न महासंघले भनेको उनले बताइन् । उहाँहरु सम्पति बेच्न तयार भएपनि विश्वमा आएको आर्थिक मन्दीका कारण सम्पत्ती बिक्री नहुँदा समस्यामा परेको उनको भनाई छ । अहिलेको अवस्थाबाट सहकारीलाई बचाई सकेपछि सहकारीहरुलाई सुशासनमा चलाउन महासंघले अगुवाई गर्ने उनले बताइन् ।

कोभिड १९ र त्यसपछि भएको रुस युक्रेन युद्धका कारण विश्वमा आएको मन्दीका कारण त्यसको प्रभाव नेपालको अर्थतन्त्रमा परेकाले व्यापार व्यवसाय मन्द हुँदा सदस्यले ऋण तिर्न नसक्दा अहिलेको परिस्थिति सृजना भएको उनको भनाई छ । सहकारीमा लगाइएको सन्दर्भ व्याजदर र संस्थाहरुले गरेको ऋणको किस्ता उठ्न नसक्दा सहकारीमा समस्या आएको उनको भनाई छ । रजिष्ट्रारले रचनात्कम भूमिका नखेलेकाले सन्दर्भ व्याजदर परिमार्जन गर्न नसकेको मल्ले बताइन् । सहकारीकर्मीको कारणले मात्र नभई नियमक निकायले कानुन कार्यान्वयनमा सहयोग नगर्दा अहिलेको परिस्थिति सिर्जना भएको मल्लले जानकारी दिईन । सरकार र सहकारीकर्मीको कम्जोरीलाई तुलनात्मक रुपमा प्रस्तुत गर्न आग्रह गर्दै उनले सहकारी बचाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइन् । सहकारीको अनुगमन गर्न सरकारलाई उनको आग्रह छ । सहकारीलाई व्यवस्थित गर्न आफुहरु पनि तयार रहेको भन्दै उनले सहकारी प्रति विश्वास घटेकाले बचत फिर्ताको लाईन लागेको बताइन् । सबै सदस्य बचत फिर्ता माग्न आए कुनै संंस्थाले पनि दिन नसक्ने उनले प्रष्ट पारिन । 

६६औं राष्ट्रिय सहकारी दिवसको संयोजक समेत रहेकी मल्लले चैत्र २० गते काठमाडौं उपत्यकाका सहकारीकर्मीहरुले आफ्ना मागहरु पुरा गर्न दवाव दिन र्यालीमा सहभागि हुन अग्रह गरिन् । राष्ट्रिय सहकारी महासंघले उपत्यकाका सहकारीकर्मीलाई माइतिघरमा भेला हुन आव्हान गरेको हो । महासंघले काठमाडौ, भक्तपुर र ललितपुरका सहकारीहरुलाई आफ्नो रुट अनुसार झाँकी, ब्यानर र प्लेकार्ड सहित प्रभातफेरी गर्दै माइतीघरमा भेला हुन भनेको छ ।

महासंघले काठमाडौं उपत्यका बाहेकका जिल्लाका सहकारी संघ संस्थाहरुले सहकारी दिवसका अवसरमा साताभर विविध कार्यक्रम गरी सहकारी महासंघलाई जानकारी दिन समेत आग्रह गरेको छ ।

नेपालमा हरेक वर्षको चैत्र २० गते सहकारी दिवस मनाइन्छ । महासंघले हरेक वर्ष सहकारी दिवसका अवसरमा वर्षभरीका लागि नारा ९थिम० तय गर्ने गरेको छ । यो वर्षका लागि ‘सहकारीको दीगोपनस् स्वनियम र सुशासन’ भन्ने थिम तय गरिएको छ ।