मंगलबार, कार्तिक ११ गते २०८३

पोखरा रोयल साकोसमा युवाको सहभागिता ४३ प्रतिशत

चैत्र १४, २०७९ मंगलबार
पोखरा रोयल साकोसमा युवाको सहभागिता ४३ प्रतिशत


पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थामा कूल सदस्य मध्ये ४३ प्रतिशत युवा सदस्य रहेका छन । संस्थामा ८ हजार ७ सय ९४ जना सदस्यहरु रहेको  र  युवा  सदस्यको संख्या ३ हजार ८ सय रहेको  संस्थाले जनाएको छ । संस्थामा आवद्ध सदस्यहरु मध्ये १८ देखि ४० वर्ष उमेर भित्रका  सदस्य ३ हजार ८ सय ३ जना पुगेको हो । युवा सदस्यमा २ हजार ७ सय ९४ जना महिला तथा १ हजार ९ जना पुरुष सदस्य रहेको संस्थाले जनाएको छ । संस्थाको पछिल्लो तथ्यांक बमोजिम १८ देखि २५ वर्षसम्मका जम्मा सदस्यहरु ६०५ जना र २५ देखि ४० वर्ष सम्मका युवा सदस्यहरुको संख्या ३ हजार १ सय ९८ रहेका छन् । 

सहकारी आवद्ध सदस्यहरु मध्ये युवाहरु केहि न केहि पेशा वा व्यवसायमा आवद्ध रहेका, विश्वविद्यालयका पढाई सकेका र युवाहरु मध्ये विवाहित सदस्यहरुको बाहुल्यता रहेको तथ्यांक छ । संस्थामा कूल युवा सदस्यहरु मध्ये २ हजार ३ सय २४ जना अर्थात ६१ प्रतिशत सदस्यहरु विवाहित रहेका छन् । ग्लोवल मनी विक २०२३ को साप्ताहिक कार्यक्रम बमोजिम संस्थाले गत चैत्र ६ देखि १२ गतेसम्म युवा लक्षित विविध गतिविधीहरु सञ्चालन गरेको थियो । सप्ताहको अन्तिम दिन संस्थाले उक्त तथ्यांक सार्वजनक गरेको हो।

साप्ताहिक कार्यक्रम बमोजिम संस्थाले १८८ युवा सदस्यहरुलाई सम्मान तथा स्वागत, दुई वटा विद्यालयका ४२ जना विधार्थीहरुसंग कफि गफ र सहकारीको अवलोकन, बाल बचतकर्तालाई खुत्रुके बक्स वितरण गरेको थियो । त्यसैगरी वित्तीय साक्षरता सम्वन्धमा दैनिक रुपमा चेतनामूलक सामग्री प्रकाशन, “सुन्दर भविष्यको लागि बचत”  शिर्षकमा अन्तर कर्मचारी निवन्ध प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतियोगितामा ३३ जना कर्मचारीहरुले भाग लिएका थिए । सहभागि मध्ये उत्कृष्ठ ३ जना कर्मचारीलाई ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा पुरस्कृत गर्ने र उत्कृष्ठ निवन्धलाई अनलाईन मार्फत प्रकासन गरिने संस्थाले जनाएको छ । त्यसरी नै युवा सदस्यहरुलाई सहकारीको विषयमा थप ज्ञान तथा शीप सिकाउने उद्धेश्यले नयाँ वर्ष २०८० को वैशाख पहिलो हप्तामा १०० यूथ, सहकारी दूत गोष्ठी सम्पन्न गर्ने निणर्य समेत गरेको छ । ।