नेपाल राष्ट्र बैंकले कुनैपनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा ऋणीले आवश्यक जानकारी लिनुपर्ने जनाएको छ । कर्जा प्रवाह गर्ने क्रममा बैंक तथा वित्तीय संस्थाले लिने विभिन्न शुल्कका बारेमा पूर्ण जानकारी लिएर मात्र कारोबार गर्न केन्द्रीय बैंकले आग्रह गरेको हो।
कर्जा लिँदा ब्याजदरमा मात्र सरोकार नराखी अन्य विभिन्न अवस्थामा विभिन्न शुल्कहरू पनि भुक्तानी गर्नुपर्ने भएकोले तिनको बारेमा पूर्व जानकारी लिन ग्राहकरहरूलाइ राष्ट्र बैंकले आग्रह गरेको हो ।
शुल्कका बारेमा कर्जा प्रदान गर्ने संस्थासँग विस्तृतमा छलफल गरी प्रस्ट भएपछि मात्र कर्जाको कारोबार गर्न केन्द्रीय बैंकले भनेको छ । त्यसैगरी ऋणीलाई ब्याजदरका साथसाथै कर्जा प्रक्रियामा लाग्ने अन्य सबै शुल्कका बारेमा सरल भाषामा बुझाउनु कर्जा प्रदान गर्ने संस्थाको दायित्व भएको उसले जनाएको छ ।
राष्ट्र बैंकले २०७७ साउनबाट निर्देशिका जारी गर्दै कर्जा स्वीकृत गर्दा वाणिज्य बैंकले बढीमा ०।७५ प्रतिशत, विकास बैंकले बढीमा १ प्रतिशत, फाइनान्स कम्पनीले बढीमा १.२५ प्रतिशत र लघुवित्त वित्तीय संस्थाले बढीमा १।५ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ । यी संस्थाले तोकिएको शुल्कबाहेक अन्य कुनै शुल्क लिन पाउँदैनन् ।
राष्ट्र बैंक वित्तीय सचेतनाका लागि एक सन्देश जारी गर्दै यसबारेमा जानकारी गराएकाे हाे ।
