आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सहकारीमा दीर्घकालिन बचतको ब्राण्डिङ गर्दै जाने भएकाे छ ।
ग्लोबल मनि विक २०२३ अन्तर्गत शनिबार संस्थाले आयोजना गरेको युवा लक्षित वित्तीय साक्षरता कार्यक्रममा संस्थाले एक दशकदेखि दीर्घकालिन बचत अभियान सञ्चालन गरेको र पछिल्लो समय यसको ब्राण्डिङमा लागेको जानकारी दिइएको हो ।
सहकारीमा विभिन्न खालका बचत अभियानहरु सञ्चालन गरिन्छ, सहकारीका सदस्यहरुले पैसा भएको समयमा बचत गर्ने र आवश्यक रहेको समयमा पैसा झिक्नका लागि मात्रै सहकारीले बचत गर्ने होइन, संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी.(अञ्जु) ले भनिन्–‘सहकारीमा अन्य बचत आवश्यकता पर्दा झिक्ने हुनुपर्छ तर दीर्घकालिन बचत अति आवश्यक पर्दामा मात्रै झिक्ने गरी सञ्चालन गर्नुपर्छ ।’
आदर्श सञ्चार सहकारी संस्थाले पछिल्लो समय दीर्घकालिन बचतलाई सदस्यको स्थिर सम्पत्तिका रुपमा विकास गर्ने अभियान बनाएर अगाडि बढिरहेको उनले जानकारी दिइन् ।
संस्थाले सदस्यहरुका लागि विभिन्न खालका बचत अभियान सञ्चालन गरेको छ, त्यस मध्ये मासिक न्यूनतम १ सय रुपैयाँ बचत गर्ने दीर्घकालिन खाताको रकमलाई स्थिर सम्पत्तिका रुपमा राख्ने गरी अभियान सञ्चालन गरिएको उनले जनाइन् ।
युवा लक्षित वित्तीय साक्षरता कार्यक्रममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक राम बहादुर जिसीले आम्दानी बढाउन, खर्च घटाउन र नियमित बचतका लागि वित्तीय साक्षरता कार्यक्रम आवश्यक रहेको जनाए।
“अहिलेको अवस्थामा विलासी आवश्यकतालाई घटाउँदै लैजान आवश्यक छ, पहिला खर्च गरेर बाँकी रहेको रकम बचत गर्ने गरेका थियौं, अब आम्दानी गरेको रकमको केही बचत गरेर बाँकी रहेको रकम खर्च गर्न आवश्यक छ, एउटा मानिसले महिनाभर गर्ने आम्दानी र खर्चको हिसाब राख्न नसक्दा आर्थिक नोक्सानी हुने गरेको पाइयो” जिसीले भने“अरुको देखेर खर्च गर्ने भन्दापनि आम्दानी र परिवारको अवस्था हेरेर खर्च गर्न आवश्यक छ ।”
आर्थिक व्यवस्थापन गर्न नसक्दा कतिपयको परिवार समेत विग्रिएको उदाहरण दिँदै जिसीले आम्दानी, खर्च र बचतको व्यवस्थापन गर्न सके जीवन आर्थिक रुपमा सहज हुने जनाए ।
वित्तीय साक्षरता समुदाय र वित्तीय संस्था दुवैका लागि फाइदाजनक रहेकाले सबैले वित्तीय ज्ञान लिन आवश्यक रहेको बताउदै जिसीले पैसाको उचित व्यवस्थापनका लागि वित्तीय साक्षरता अनिवार्य रहेको बताए ।
नेपाल राष्ट्र बैंकको समन्वयमा चैत ६ देखि १२ गतेसम्म मनाउन लागिएको ग्लोबल मनि विक २०२३ अन्तरगत सहकारी विभागले सबै सहकारी संघ संस्थाहरुलई युवा लक्षित वित्तीय साक्षरता अभियान सञ्चालन गर्न आव्हान गरेको छ।