ठेचो महिला जागरण बचत तथा ऋण सहकारी संस्था २०६५ सालबाट वित्तीय कारोवारमा जोडिएको हो । लुमन्ती नामक संस्थाले ठेचोमा सरसफाई र खानेपानीको काम गथ्र्यो । महिलाहरुमा नेतृत्व विकास गरी नेतृत्व तहमा पु¥याउनुपर्छ भनेर सुरुमा समुह बनाएको र त्यही समुहलाई सहकारीमा रुपान्तरण गरिएको हो । २०६५ सालमा बैशाखमा समुह गठन भएको र सात महिना पछि कात्तिक महिनामा तत्कालिन डिभिजन कार्यालयमा विधिवत रुपमा बचत तथा ऋण सहकारी दर्ता गरेको व्यवस्थापक रमिता महर्जनले बताइन् ।
एक लाख ५० हजार शेयर पुँजी र ३ सय शेयर सदस्यबाट संस्था शुरु गरिएको उनले जानकारी दिईन । संस्थाले मासिक १ सय रुपैया बचत संकलनबाट सुरुवात गरेको थियो । लुमन्ती संस्थाले कसरी समुह गठन गर्ने, बचत उठाउने, समुहको कसरी व्यवस्थापन गर्ने र सहकारीलाई कसरी अगाडि बढाउने भन्ने जस्ता विषयमा गाइड गरेको उनको भनाई छ । संस्था सुरु भएपछि सामुदायिक मञ्च, बचत संघ र नेफ्स्कूनको तालिममा सहभागी भएर धेरै ज्ञान हाँसिल गरेको उनले जनाइन् । हरेक तालिममा सहभागी भएर सिक्दै समुह बनाउदै अगाडि बढेको र टोलटोलमा गएर महिलालाई भेला गरेर सहकारी भनेको के हो र बचत गर्दाको फाईदाका बारेमा जानकारी दिने गरेको उनले सुनाइन् । महिलाहरुको मात्र सहकारी भएको र सदस्य बनेपछि ऋण लिएर व्यवसाय गर्न सकिने र क्षमता अभिवृद्धि तथा संस्थाले विभिन्न सेवा सुविधा समेत दिन्छ भन्ने जस्ता विषयमा जानकारी दिएर सुरुका दिनमा सदस्य बनाएको उनले सम्झना गरिन् ।
आयमुलक क्रियाकलाप, सरसफाई र स्वास्थ्य शिविर जस्ता क्षेत्रमा भाग लिन पाउनुका साथै नगरपालिका वडा कार्यालय र जिल्ला शिक्षा कार्यालयसँग मिलेर थुप्रै सामाजिक काम गरेको उनले बताइइन । लुमन्तीले पहिला समुह बनाएर बचत गर्न सिकाउने र त्यसपछि ढल, बाटो निमार्ण तथा सरसफार्ईका कार्यक्रम सञ्चालन गरेको उनी बताउँछिन् । संस्थाले ठेचो, सुनाकोठी, धापाखेल, चापागाँउ र झरुवारासीमा समुह बनाएर कारोबार गर्दै आएको छ । संस्थाले ती क्षेत्रबाट सञ्चालक समितिमा प्रतिनिधित्व गराएर सञ्चालकहरु चयन गरेको र यसले काम गर्न सजिलो भएको उनले जनाइन् । संस्थामा ३ हजार २० जना सदस्य पुगेका छन् । संस्थाका सदस्यले मासिक रुपमा एकसय रुपैयादेखि ५ हजारसम्म बचत गर्ने गरेका छन् । मासिक बचत मात्रै ३ करोड ६६ लाख पुगेको छ ।
त्यसबाहेक संस्थाले शैक्षिक, खुत्रुके, दैनिक गरी १० प्रकारको बचत खाता सञ्चालनमा ल्याएको छ । संस्थामा शेयर पुँजी १ करोड ४३ लाख, १० करोड २४ लाख बचत र विभिन्न कोषहरुमा १ करोड जम्मा भइसकेको छ । संस्थाले महिला सदस्यको आर्थिक उन्नतिका लागि न्युन व्याजमा ऋण लगानी गर्दै आएको छ । ससानो व्यापार व्यवसाय गर्न चाहने सदस्यलाई ५ प्रतिशत व्याजदरमा २५ हजारसम्म ऋण दिने गरेको छ । हालसम्म ३० जना जतिले हालसम्म उक्त ऋण सुविधा लिएका छन् । त्यसैगरी संस्थाले घर निर्माणको लागि ४ बर्षको लागि ८ प्रतिशत व्याजदरमा २ लाखसम्म ऋण दिने गरेको छ ।
आर्थिक अवस्था कम्जोर भएका तर उनीहरुलाई बस्नका लागि घर अत्यावश्यक छ भने सामुदायिक महिला मञ्चको सहकार्यमा उक्त ऋण दिन थालेको हो । संस्थाले ५४ प्रतिशत ऋण उत्पानदमुलक क्षेत्रमा लगानी गरेको छ भने ४६ प्रतिशत ऋण अन्य क्षेत्रमा लगानी गरेको जनाएको छ । संस्थामा आवद्ध सदस्यलाई विभिन्न संघसंस्थासँग मिलेर आयमुलक तालिम, क्षमता अभिवृद्धि, सिलाई, च्याउखेती लगायतका तालिममार्फत सबल बनाउन प्रयास गरिएको उनले जानकारी दिइन् । संस्थामा आवद्ध सदस्य विभिन्न पेशा व्यवसायमा जोडिन थालेका छन् । कतिपयले तालिम लिएर व्यवसायमा लागेका छन् भने कतिपयले भएको व्यवसायलाई निरन्तरता दिएको र अझ राम्रो बनाएको उनले सुनाइन । संस्थाले मोबाईल बैंकिङ सुरु गरेको र ११३ जनाले उक्त सेवा लिएका छन् भने क्युआर कोड वितरण पनि शुरु गरेको छ ।
संस्थाले समुह मार्फत कारोबार गर्ने गरेको छ । १० देखि ३० जनाको एउटा समुह बनाउने र समुहमा नै बचत संकलन देखि ऋण लगानी हुने गरेको छ । समुह गठन गर्नु भन्दा पहिला चिन्नको लागि नाम राख्ने गरेको र समुहको लिडर तोकेर काम गर्ने गर्दै आएको छ । संस्थाले ७२ वटा समुह गठन गरिसकेको छ । शुरुमा समुह गठन गर्दा नमस्ते भन्नुपर्छ र आफ्नो परिचय दिनुपर्छ भनेर मिटिङमै नआउने सदस्यहरु अहिले मिटिङमा आएर आफ्ना कुरा राख्ने र बोल्न सक्ने भएको उनले सुनाइन् । शुरुका दिनमा संस्थाबाट ऋण लिदा पैसा लिएर गन्न समेत डराउने दिदी बहिनी अहिले भाषण गर्न सक्ने भएका छन् ।
संस्था नेफस्कूनले सञ्चालन गरेको प्रोबेशन ब्राण्डमा सहभागी भएर यस बर्ष ब्राण्ड लिन सफल भएको छ । ५ बर्ष अगाडी प्रोबेशन कार्यक्रम आबद्ध भएको र त्यस कार्यक्रमले संस्थालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सिकाएको उनले सुनाइन् । त्यो कार्यक्रममा जानुपूर्व संस्थाको कार्यविभाजन नभएको र एउटै कोठामा बसेर काम गर्दा परिमाणमुखी हुन नसकेको उनको अनुभव छ । प्रोबेशनले कार्य विभाजनदेखि कार्यालय व्यवस्थापन र काम गर्ने शैलीमा परिमार्जन गर्नुका साथै नीति बनाएर काम गर्न सिकाएकाले संस्था व्यवस्थित बन्दै गएको उनको अनुभव छ ।
संस्थाले २० वटा नीति र १० वटा कार्यविधि र निर्देशिका बनाएर अहिले काम गर्दै आएको छ । संस्थाको कार्यशैली सुधारमा प्रोबेशनले धेरै सिकाएको उनले बताइन् । संस्था उक्त कार्यक्रममा जानु अगाडि सदस्यको क्षमताभन्दा बढी ऋण लगानी गर्ने गरेको तर अहिले सदस्यको व्यवसायिक योजनाका आधारमा मासिक किस्ता बन्दीमा ऋण लगानी गर्ने गरेकाले वितीय व्यवस्थापनमा पनि सजिलो भएको उनको बुझाई छ ।
सहकारी ऐननियम र नेफ्स्कुनले दिएको गाइडलाइनमा हिँड्न सके सफलता प्राप्त गर्न सकिने उनको बुझाइ छ । कोरोनाकाल र मन्दीका समयमा कसरी संस्था सञ्चालन गर्ने विषयमा नेफ्स्कुनले राम्रोसँग मार्गदर्शन गरेको उनले बताइन् ।
संस्थाले व्यवसायिक योजना बनाएर अगाडि बढेको भएपनि अहिलेको वित्तीय मन्दीले लक्ष्यप्राप्तिमा कठिन भएको उनले बताइन् । संस्थाको कुल वासलात १६ करोड पु¥याउने, सामाजिक गतिविधिलाई अझै बढाउने तथा बालबचतकर्ताका लागि विशेष कार्यक्रम ल्याउने तयारी संस्थाको छ । आर्थिक मन्दीका बीचमा पनि संस्थाले सदस्यहरुबाट बचत संकलन गर्न र ऋणको किस्ता उठाउन सकेको छ । सदस्यहरुले माग गरेअनुसार ससानो ऋणहरु प्रदान गर्दै आएको छ । संस्थामा २२ प्रतिशततरलता रहेको र क्रमशः वृद्धि हुँदै गएको छ ।
कुनैपनि निर्णय गर्नुपूर्व समुहमा छलफल गर्ने र समुहबाट हुन्छ भन्ने प्रस्ताव पारित भएपछि मात्रै त्यसलाई पारित गरेर अगाडि बढ्ने गरिएको उनले जनाइन् । महिलाहरुलाई सदस्य बनाएर वित्तीय लगायतका अन्य सेवा प्रदान गर्दै आएको संस्था त्यस भेगकै नमूना संस्थाको रुपमा स्थापित हुँदै गएको छ ।