मंगलबार, कार्तिक ११ गते २०८३

करोडौं रकम अपचलन गरेको आरोपमा नेशनल डेभलपमेन्ट कोअपरेटिभका ३ जना प्रहरी हिरासतमा

चैत्र ३, २०७९ शुक्रबार
करोडौं रकम अपचलन गरेको आरोपमा नेशनल डेभलपमेन्ट कोअपरेटिभका ३ जना प्रहरी हिरासतमा

ललितपुरको गाःबहालमा रहेको नेशनल डेभलपमेन्ट कोअपरेटिभका ३ जनालाई प्रहरीले नियन्त्रण लिएको छ । संस्थाका प्रबन्धक दिनेशप्रसाद पन्त, लेखा समिति संयोजक रविन्द्र प्रसाद नेमकुल र ऋणी कृष्ण खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । संस्थामा समस्या देखिएपछि विगत ७ महिनादेखि सदस्यहरुको तर्फबाट जोखिम न्यूनिकरण कार्यदल बनाएर समस्या समाधानका लागि पहल गरिँदै आएको भएपनि समस्या समाधानतर्फ उन्मुख हुनुको साटो थप हिनामिना गर्न अग्रसर रहेको देखिएपछि उनीहरुमाथि छानबिनका लागि सदस्यहरूले प्रहरी प्रभाग जावलखेलमा बुझाएका हुन्।

समस्या समाधानका लागि सदस्यहरुको अगुवाइमा ५ सदस्यीय जोखिम न्यूनिकरण समिति बनाइएको थियो। उक्त समितिको संयोजक तथा सल्लालहकार रहेका आनन्दबीर बज्राचार्यले ७ महिनादेखि आफुहरुले संस्थाभित्र उचित समाधान दिन प्रयास गरेपनि संस्थामा गम्भीर प्रकृतिको अपचलन देखिएपछि उक्त कदम चाल्न बाध्य भएको जनाए । जोखिम न्यूनीकरण कार्यदलमा बज्राचार्यको संयोजकत्वमा  युबराज बज्राचार्य, उतम राज बज्राचार्य,  निराकार अमात्य र बिन्सन शाक्य रहेका छन् ।बागमती प्रदेशले  एक महिना अगाडि अनुगमन गरी  रिपोर्ट दर्ता भइसकेको तर निर्णय आउन बाँकी रहेको छ । बागमती प्रदेश सहकारी मन्त्रालयले  अनुगम पश्चात समस्या समाधानका लागि  पत्र पठाउदा पठाउदै कानुन विपरित पन्त र नेमकुल मिलेर धितो फुकुवा गरेको पाईएको छ ।

संस्थाबाट ऋण  नलिएका  सचालकहरुले सदस्यहरुको दवावमा  प्रहरीलाई बुझाएर कानुनी दायरामा ल्याउन सफल  भएको  उनले बताए ।हालको परिवेषमा सहि र गलत छुट्याउने समय आएको र सहकारी भित्र बदमासी गर्नेहरुको छानी छानी  कानुनी दायरामा ल्याउने उचित समय आएको  उनले जनाए । 

लेखा समितिका संयोजक नेमकुल र प्रबन्धक पन्त मिलेर साढे ९ करोडको धितोलाई फुक्का गरी ३ करोडमा मिलाउने प्रयास गरेको भेटिएको उनले बताए ।  संस्थाको समस्या समाधानमा लाग्नुको सट्टा आफ्नो निहित स्वार्थका लागि मात्र काम गर्ने प्रवृत्ति उनीहरुमा देखिएको उनले जनाए। संस्थाको सञ्चालक समिति भने हाल २ खेमामा विभाजित भएको बुझिएको छ । प्रबन्धक पन्तले मात्रै विना धितो १६ करोड मन्दा बढी रकम चलाएको उनको भनाई छ ।संस्था बन्द गर्ने नियत नभएको तर ७ महिनादेखि संस्था खुल्ला राखेरै समाधानका लागि प्रयत्न गर्दा पनि उनीहरुले गैरजिम्मेवारीपूर्ण कार्यले यस्तो स्थिति आएको बज्राचार्य बताउँछन् । 

यता संस्थाका सिइओ सुनिल धिताल संस्थासँग सम्बद्ध ३ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको स्वीकार्छन् । संस्थाको समस्या समाधानका छुट्टै स्टेरिङ कमिटि गठन गरिएको र सञ्चालक, कर्मचारी र सदस्यहरुको आपसी सहकार्यमा समस्यालाई समाधान गर्ने कोशिस जारी रहेको उनको भनाई छ । आफु हालसालै मात्र पदमा बहाली भएकोले समस्याको विषयमा अध्ययन गरिरहेको उनले जनाए । 

संस्थाका तत्कालिन अध्यक्ष स्वर्गीय राजेशहरि जोशी हुँदादेखि नै संस्थाको ठूलो बचत रकम अपचलन भएको श्रोतले जानकारी दिएको छ। जोशीका परिवारको नाममा घरजग्गा शेयर र हेटौंडामा एक सहकारी संस्थामा नेशनल डेभलपमेन्टको रकम गएको जनाइएको छ । २ अर्ब १५ करोडको पोर्टफोलियो रहेको संस्थाको निक्षेप दायित्व १ अर्ब ४२ करोड रहेको छ। संस्थाले निक्षेपको ब्याज मात्र करिब ६० करोड तिर्न बाँकी रहेको छ ।