नवयुवा बचत तथा ऋण सहकारी संस्थाले सदस्यसँग विस्तारित मञ्चको आयोजना गरेको छ । सहकारी संस्थाको वर्तमान अवस्थाका बारेमा जानकारी दिने र सदस्यहरुसँग अन्तक्र्रिया गर्ने उद्देश्यले संस्थाले सो कार्यक्रम आयोजना गरेको हो ।
संस्थाले नवयुवा साकोसको वित्तीय सूचक, शेयर तथा जगेडा कोष, संस्था र अन्य कतिपय सहकारीबीचको भिन्नता, सहकारी र बैंकवित्तको भिन्नताका बारेमा सदस्यहरुलाई जानकारी गराएको हो ।
सहकारीको सदस्य हुँदा पाइने लाभ बैंकको ग्राहक बन्दा नपाइने, लाभांश बाहेक संरक्षित पूँजीकोष फिर्ताको सुविधा लगायतका विषयमा जानकारी गराउँदै बचतको ब्याजमा थोरै घटबढ हुँदा संस्था छाड्ने वा बचत फिर्ता लैजाने नगर्न सुझाइएको थियो । संयमित भएर संस्थासँग प्रत्यक्ष सम्पर्क गर्न र अन्तरक्रियामा रहिरहन सबै सदस्यलाई आव्हान गरिएको थियो ।
सहकारी संस्था भनेको नै सदस्यहरुको संस्था हो । सदस्यहरुमा सहकारी प्रति विश्वास भएन वा बचतमा दिइने ब्याजदर केहि कम भयो भन्दैमा आफ्नो सहकारीमा कारोबार नगरी अन्यत्र कारोबार गर्न गयो भने, सम्पूर्ण बचतकर्ताहरुले एकैचोटी सबै रकम झिक्न आए भने सहकारी मात्र नभई जुनसुकै बैंक तथा वित्तीय संस्थाहरु पनि धराशायी बन्न पुग्ने भन्दै सदस्यहरुलाई संस्थाप्रति सशंकित नभइ विश्वासपूर्वक कारोबार गर्न आग्रह गरिएको थियो ।
