मंगलबार, कार्तिक ११ गते २०८३

संयमित भएर कारोबार गर्न सदस्यहरूसँग महासंघको अपील, भन्यो निराधार हल्लाका पछि नलागौं

चैत्र २, २०७९ बिहीबार
संयमित भएर कारोबार गर्न सदस्यहरूसँग महासंघको अपील, भन्यो निराधार हल्लाका पछि नलागौं

 

सहकारी क्षेत्रमा देखिएको जटिल परिस्थितिका बारेमा राष्ट्रिय सहकारी महासंघले बुधबार एक अपील जारी गर्दै सहकारीका सदस्यलाई धैर्य रहन अपील गरेको छ । महासंघले सहकारी अभियानप्रति विश्वासको संकट उत्पन्न भएको विषयलाई स्वीकार्दै याे विषम परिस्थितिबाट सहकारी अभियानलाई निकाल्ने भूमिकामा सदस्यहरू नै रहेको जनाएको छ । 

सहकारी क्षेत्र प्रतिकूल परिस्थितिमा रहेको भएपनि सहकारी संस्था बचाउने र बचतको सुरक्षण समेत सदस्यबाटै हुने भएको हुनाले संयमित रहन महासंघले अनुरोध गरेको हो । 

सहकारीका सदस्यहरुले कुनैपनि निराधार हल्लाको पछि नलाग्न एवं संस्थाका संचालक तथा कर्मचारीमाथि अभद्र व्यवहार तथा हुलदंगा नगरी संस्था सहजरुपमा संचालन हुने बाताबरण बनाइदिन उसले अपिल गरेको हो ।

केही संस्थाहरुले गरेको कमजोरीलाई कारण सबै सहकारीलाई उस्तै ठानी सबै सदस्यले एकै पटक बचत फिर्ता लिन जाने गर्दा असहज परिस्थिति बनेको भन्दै सदस्यले संस्थामा एकैपटक बचत फिर्ता लिन जाने नगरी संस्थालाई तरलता ब्यवस्थापन गर्ने बातावरणका बनाउन दिन संयम अपनाउनुपर्ने भनेको छ ।

त्यसैगरी जिल्ला, प्रदेश, केन्द्रीय र सहकारी बैंकलेसमेत सदस्यहरुको समस्या समाधानकालागि संस्थाहरुसंग सहजीकरण र रचनात्मक भूमिका खेल्न भनेको छ ।

संघसंस्थाहरुलाई पनि  सम्पत्ति तथा दायित्व व्यवस्थापनका लागि नियमित वित्तीय विश्लेषण गरी अल्पकालिन योजना बनाएर जोखिम न्यूनिकरण गर्न महासंघले सुझाएको छ ।