शनिबार, आश्विन १७ गते २०८३

प्रधानमन्त्रीको आश्वासन पछि व्यवसायीको आन्दोलन स्थगित

चैत्र १, २०७९ बुधबार
प्रधानमन्त्रीको आश्वासन पछि व्यवसायीको आन्दोलन स्थगित

 

प्रधानमन्त्री पुष्पकमल दाहालले ब्याज घटाउने आश्वासन दिएपछि व्यवसायीको आन्दोलन स्थगित गरेका छन् । प्रधानमन्त्री दाहालले संस्थागत निक्षेपकर्ताको ब्याज दर कम गरेर भएपनि ऋणको ब्याज घटाउने आश्वासन दिएका हुन्। 

बैंक तथा वित्तीय संस्थामा चर्को ब्याजदरका कारण व्यवसाय गर्न कठिन भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल व्यापार संघ, नाडा अटोमोबाइल्स एसोसिएसनलगायत निजी क्षेत्रका छाता संगठनमा आबद्ध व्यवसायी आन्दोलित थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले अहिलेको समस्यालाई सरकारले गम्भीरताका साथ लिएको र समाधानका लागि पहल गर्ने आश्वासन प्रधानमन्त्रीबाट आएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको बताए ।

बैंकहरुले पनि निक्षेपको ब्याज दर घटाउन थालिसकेका छन्। चैतबाटै बैंकहरुको निक्षेपको ब्याज दर घट्दैछ। निक्षेपको ब्याज दर कम भएपछि आधार दर घटेर ऋण पनि सस्तो हुन्छ।

प्रधानमन्त्री दाहालले संस्थागत निक्षेपकर्तालाई दिने ब्याज दर अझ घटाउने बताएका हुन्। संस्थागत निक्षेपकर्ताका रुपमा सरकारी निकाय कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सार्वजनिक संस्थानहरु, नेपाली प्रहरी, नेपाली सेना, विभिन्न कल्याणकारी कोष, नेपाल टेलिकमलगायतले बैंकमा पैसा राखेका हुन्छन्।