६६ औं राष्ट्रिय सहकारी दिवसको नारा तय भएको छ । राष्ट्रिय सहकारी महासंघले यस बर्षको सहकारी दिवसका लागि ‘सहकारीको दिगोपना, स्वनियमन र सुशासन’ नारा छनोट गरेको हो । महासंघ संचालक समितिले यस बर्षको नारा तय गरेको जनाएको छ ।
महासंघले हरेक वर्ष सहकारी दिवसको अवसरमा वर्षभरीका लागि नारा बनाउदै आएको छ । पछिल्लो समय सहकारी क्षेत्र शुसासन अभावका कारण समस्याग्रस्त बन्दै गएको छ । विश्वमा आएको आर्थिक मन्दीको प्रभाव नेपालको अर्थतन्त्रमा पर्दा सहकारी संस्थाहरु तरलता अभावबाट गुज्रीरहेका छन् । सहकारी संस्थाहरु तरलता लगायत विभिन्न समस्यामा रहेका बेला महासंघले दिगोपना, स्वनियमन र सुशासनलाई प्राथमिकता दिएर यस बर्षको सहकारी दिवसको नारा तय गरेको हो । वितिय अनुशासनको अभाव र स्वनियमनमा सहकारी संस्था नबस्दा धेरै सहकारी संस्था संकटग्रस्त बन्दै गएका छन् । सहकारीहरुलाई संस्थागत शुसासन र स्वनियमनमा बसाउने उदेश्यका साथ महासंघले यो नारा तय गरेको हुनसक्छ ।
२०१३ साल चैत्र २० गते चितवनमा बखानपुर सहकारी ऋण समिति स्थापना भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ । जसका लागि महासंघले हरेक वर्ष नारा तय गर्दै आएको छ । महासंघले ६५ औं राष्ट्रिय सहकारी दिवसको नारा मर्यादित व्यवसाय र प्रविधिमा सहकारी तय गरेको थियो ।