चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनाको अवधिमा पौने ७ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकद्वारा जारी मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण अनुसार माघ मसान्तसम्म रेमिट्यान्स आप्रवाह २७.१ प्रतिशतले वृद्धि भई ६८९ अर्ब ८८ करोड रुपैयाँ पुगेको हो । अघिल्लो आर्थिक वर्षको उक्त अवधिमा आप्रवाह ४.४ प्रतिशतले घटेको थियो ।
वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उक्त अवधिमा ५७.३ प्रतिशतले वृद्धि भई ३,१४,७६७ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई १,६७,७०८ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २६५९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २५.२ प्रतिशतले वृद्धि भई रु. ७५९ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.७ प्रतिशतले घटेको थियो ।