नेपालको कुल ऋण करिब २१ अर्बकाे हाराहारीमा पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांक अनुसार नेपालको ऋण २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख रुपैयाँ पुगेको हो ।
बढ्दो ऋण भुक्तानीमा सरकारलाइ समेत सकस परेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले पछिल्लो समय बढिरहेको ब्याजदर र डलरको मूल्यमा आएको उतारचढावले ऋण भुक्तानीमा सकस परेको बताएको हो ।
कार्यालयले विनियोजित रकमले ऋण भुक्तानी गर्न नपुग्ने देखिएको जनाएका छन् । बजेट निर्माण गर्दा आन्तरिक ऋणको ब्याजदर ८ प्रतिशतको हाराहारीमा रहेकोमा हाल बढेर १२ प्रतिशत भएको र डलरको मूल्य बढ्दा समस्या देखिएको हो ।
चालू आर्थिक वर्ष विनियोजन भएको रकमले आन्तरिक तथा वैदेशिक ऋण भुक्तानी गर्न नपुग्ने देखिएपछि अपुग रकमका बारेमा कार्यालयले अर्थ मन्त्रालयलाइ जानकारी गराइसकेको छ ।
तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा ९पुस मसान्तसम्म० सार्वजनिक ऋण बढेको देखिएको हो । पुस मसान्तसम्म नेपालको बाह्य ऋण ११ खर्ब दुई अर्ब ५१ करोड रुपैयाँ र आन्तरिक ऋण ९ खर्ब ६८ अर्ब एक करोड रुपैयाँ पुगेको हो ।
सार्वजनिक ऋण प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको ६ महीनाको अवधिमा ५७ अर्ब २४ करोड ऋण थपिएको छ । गत असार मसान्तसम्म कूल सार्वजनिक ऋण २० खर्ब १३ अर्ब रुपैयाँ थियो । जसमध्ये बाह्य ऋण १० खर्ब ५० अर्ब २३ करोड रुपैयाँ र आन्तरिक ऋण ९ खर्ब ५७ अर्ब ६१ करोड रुपैयाँ बराबर थियो ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्ममा ७६ अर्ब ६६ करोड ९९ लाख बाह्य ऋण थपिएको छ । आन्तरिक ऋण भने गत असारको तुलनामा पुसमा १९ अर्ब ४३ करोड रुपैयाँले घटेको छ । नेपालको कूल गार्हस्थ्य उत्पादनको तुलनामा सार्वजनिक ऋणको अनुपात ४२.६७ प्रतिशत बराबर पुगेको छ ।