गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्थाको सुरक्षामा विशेष सतर्कता अपनाउन भन्दै सर्कुलर जारी गरेको छ । बैंक, फाइनान्स, लघुवित्त एवं सहकारी संस्थाका विषयमा विवादास्पद अभिव्यक्तिहरू मन्त्रालयले विशेष सुरक्षा रणनीति अपनाउने भएको हो ।
गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र जारी गर्दै हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको हो।
देशभरका ७७ वटा जिल्लामा नै परिपत्र जारी गरिएको गृहमन्त्रालयलका प्रवक्ता सहसचिव जितेन्द्र बस्नेतले बताए। ‘बैंक वित्तीय संस्था लघुवित्त लगायतमा हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका छौँ। त्यही अनुसार उहाँहरूले सुरक्षा मिलाउनु भएको छ,’ सहसचिव बस्नेतले भने।
केहि स्थानमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि कालो मोसो दल्ने र पैसा समेत लुटिएको घटना बाहिरिएपछि वित्तीय संस्थाहरूले सुरक्षााको माग गरेका थिए । केहि समययता झापाका व्यवसायी दुर्गा प्रसाईंले वित्तीयसंस्थाविरूद्ध अराजक प्रतिक्रिया दिने गरेको र उनको नेतृत्वमा उग्र प्रदर्शन हुनसक्ने सम्भावना देखिएपछि सबै जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई पत्राचार गरेर सुरक्षा निकायलाई अलर्ट राख्न निर्देशन दिइएको हो ।
काठमाडौं उपत्यकाभित्र अन्य जिल्लाको तुलनामा सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्थाहरु छन्। गृह मन्त्रालयको पत्राचारपछि यस्ता क्षेत्रमा साबिक भन्दा बढी निगरानी बढाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी धनश्याम उपाध्यायले जनाएका छन् ।