शनिबार, आश्विन १७ गते २०८३

साकाेस व्यवस्थापन प्रमुखहरूको गोष्ठीकाे तयारी पुरा,फागुन २४ र २५ गते काठमाडौंमा हुने

फाल्गुण २१, २०७९ आइतबार
साकाेस व्यवस्थापन प्रमुखहरूको गोष्ठीकाे तयारी पुरा,फागुन २४ र २५ गते काठमाडौंमा हुने

बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरूको गोष्ठी यही फागुन २४ र २५ गते काठमाडौंमा हुने भएको छ ।  नेफस्कूनले पत्रकार  सम्मेलनमार्फत उक्त जानकारी दिएको हो । 

गोष्ठीको उद्देश्यहरूमा वित्तीय सहकारीको दर्शन र मुल्यमा आधारित व्यावसायिक जनशक्ति विकास गर्नु, विश्वव्यापी नवीनतम अभ्यास, अनुभव र सिकाइहरू मार्फत ज्ञान, सीप र प्रविधिको अवलम्बन एवम् हस्तान्तरण गर्नु, राष्ट्रियस्तरमा भएका नवीनतम र सफल अभ्यासहरू आदानप्रदान गर्नु र वित्तीय सहकारीका लागि विकास गरेका नवीनतम औजार र समाधानहरूको आन्तरिकीकरणको लागि दिशानिर्देश गर्नु रहेको छ । 

त्यस्तै, कार्यरत जनशक्तिको उत्प्रेरणामार्फत तनाव रहित वातावरणमा कार्यसम्पादनका लागि प्रेरित गर्न, वित्तीय सहकारीको विकासका सम्भावना पहिचान गरी कार्यान्वयन गर्न अभिप्रेरित गर्ने  र वित्तीय सहकारीलाई उत्पादनमा आधारित लगानीमा प्रोत्साहित गर्ने गोष्ठीको उद्देश्य रहेको छ । यसका साथै  वित्तीय सहकारीलाई आकर्षक रोजगार प्रवर्द्धक क्षेत्रको रूपमा स्थापित गर्ने जनाइएको छ । 

नेफ्स्कुनले हरेक तिन तीन वर्षमा गोष्ठी गर्ने गरेको नेपाल बचत तथा ऋण सहकारी संस्था नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पाेखरेलले जानकारी दिए । गोष्ठीमा ४८ जिल्लाका ८३ जना महिलासहित ३९८ जना सहभागी हुने भएका छन् । सात वटा कार्यपत्र प्रस्तुत हुने उक्त गोष्ठीमार्फत नियामक निकायलाई पनि समेत पृष्ठपोषण पुग्ने विश्वास लिएको उनको भनाइ छ ।