आगामी फागुन २४ र २५ गते साकोस व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी आयोजना गर्नुभएको छ । गोष्ठी आयोजना गर्नुको उद्देश्य, औचित्य र सान्दर्भिकता माथि प्रकाश पारिदिनुस् न,
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कुन) बचतऋण सहकारीहरुको केन्द्रिय संघ हो । नेफ्स्कुनमा ४५ सयभन्दा बढी बचत तथा ऋण सहकारी संस्था आवद्ध छन् । त्यसैगरी ६२ जिल्ला बचत संघमा १० हजारमाथि बचत ऋण सहकारी आवद्ध भएका छन् । साकोसमा काम गर्ने व्यवस्थापन प्रमुखहरुको क्षमता अभिवृद्धि गर्नु हाम्रो दायित्व पनि हो । विशेषतः अहिले कोभिड १९ र रुस–युक्रेन युद्धपछि विश्व अर्थतन्त्रमा आएको मन्दीसँगै नेपालका सहकारीहरुमा पनि त्यसको प्रभाव परेको छ । खासगरी वित्तीय सहकारीहरुमा तरलता लगायत अन्य समस्या देखिएको छ । विश्वमा साकोस अभियानमा कस्ता खालका समस्या आयो र समाधान कसरी भयो भन्ने सन्दर्भमा पनि यो गोष्ठी गर्न गइराखेका छौं ।
यस वर्षको गोष्ठीको थिम ‘प्रविधियुक्त सेवा र सुशासनयुक्त सहकारी, दिगो साकोस निर्माणका लागि जिम्मेवारीयुक्त व्यवस्थापन’ भनेर दिएका छौं । हामीले सुशासन, प्रविधि र अहिलेको अवस्थामा साकोसहरुको छवि निर्माणको काम गर्नुपर्ने भएकाले यसलाई नै थिमको रुपमा अगाडि सारेका हौं । वित्तीय सहकारीहरुको दर्शन र मुल्यमा आधारित, व्यवसायिक जनशक्ति विकासको लागि पनि गोष्ठी आयोजना गरिएको हो । विश्वव्यापी नविनतम अभ्यास र सिकाइमार्फत व्यवस्थापकहरुको ज्ञानसिप र प्रविधिलाई अवलम्बन गरेर त्यसलाई हस्तान्तरण गर्ने गोष्ठीको उदेश्य छ । राष्ट्रिय स्तरमा भएका नविनतम र सफलताका कथाहरु आदानप्रदान गर्ने, वित्तीय सहकारीको लागि विकास भएका नविनतम औजारहरु र त्यसको आन्तरिकीकरणका लागि दिशानिर्देश गर्ने अर्को उद्देश्य रहेको छ । साकोसकहरुमा कार्यरत जनशक्तिहरुलाई उत्प्रेरणामार्फत तनावरहित वातावरणमा कार्य सम्पादनको लागि अभिप्रेरित गर्ने लक्ष्य छ ।
वित्तीय सहकारीहरुमा अहिले विकासको सम्भावना पनि पहिचान गर्नुपर्ने भएको छ । संविधानले अर्थतन्त्रको ३ मध्ये एक खम्बाको रुपमा सहकारीलाई लिएको अवस्थामा अर्थतन्त्रलाई बलियो बनाउने प्रक्रियामा कसरी समाहित हुन सकिन्छ भने विषयमा पनि गोष्ठीमा छलफल हुनेछ । वित्तीय सहकारीहरुलाई उत्पादनमा आधारित हुन र त्यसतर्फ लगानी प्रोत्साहन गर्ने उद्देश्य छ । बचतऋण सहकारी आफैं उत्पादनमा जाने भन्दा पनि सदस्यमार्फत उत्पादनमा जान प्रेरित गर्ने गोष्ठीको लक्ष्य हो । अहिले समग्र वित्तीय सहकारीको समस्या समाधानका लागि छुट्टै वित्तीय सहकारी ऐनको आवश्यकता र त्यसको विश्व अभ्यास एवं नेपालमा त्यसको आन्तरिकीकरण गर्दै, महत्वलाई उजागर गर्ने तथा सम्पूर्ण साकोसहरुको छवि निर्माणको लागि साझा घोषणापत्र लिएर जाने गोष्ठीका उद्देश्य रहेका छन् ।
४५ सयभन्दा बढी संस्था नेफ्स्कुनमा आवद्ध छन् । गोष्ठीमा कुन प्रकृतिका संस्थाबाट कस्ता व्यक्तिले सहभागी हुन पाउँछन् ?
गोष्ठीमा सहभागी हुन सबै साकोसका व्यवस्थापकहरुलाई खुल्ला आव्हान गरिएको छ । हामीसँगै आवद्ध भएका र नभएका सबै साकोसका व्यवस्थापकहरु गोष्ठीमा सहभागि हुन पाउनुहुन्छ । व्यवस्थापन प्रमुख भई कार्य गरिरहेका ४ सय ५० जना व्यक्तिलाई गोष्ठीमा सहभागी गराउने योजना छ । उहाँहरुले अनलाइबाट पनि आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ भने नेफ्स्कुनको विभिन्न जिल्लामा रहेका फिल्ड कार्यालयहरुबाट पनि नाम दर्ता हुने व्यवस्था हामीले मिलाएका छौं । अहिलेसम्म २५० जनाले रजिष्ट्रेशन गरिसक्नु भएको छ । कम्तीमा डिप्लोमा अध्ययन पूरा गरेका र संस्थामा व्यवस्थापन प्रमुख भई कार्य गरेका व्यक्तिहरु गोष्ठीमा सहभागी हुन सक्नुहुन्छ । सदस्य संस्थाबाट ४ सय जना, सदस्य नभएका संस्था, नेपाल राष्ट्र बैंक र विभिन्न निकाय तथा नेफ्स्कुनको व्यवस्थापन र श्रोत व्यक्तिसहित ५२५ जना गोष्ठीमा सहभागी हुने अपेक्षा हाम्रो छ । हामीले फागुन १३ सम्म रजिष्ट्रेशनको समय तय गरेका थियौं । अहिले समय थप गरेर फागुन १७ गतेसम्म रजिष्ट्रेशन गर्न सक्ने गरी व्यवस्था मिलाएका छौं । सहभागीको नाम दर्तापश्चात् हामीले विभिन्न तयारी गर्नुपर्ने हुन्छ । तयारी व्यवस्थापनको लागि केहि समय चाहिने भएकाले १७ गतेसम्मको लागि समय बढाएका हौं ।
वित्तीय संकटमा रहेको अवस्थामा गर्न लागिएको गोष्ठीमा व्यवस्थापकहरुलाई केकस्तो ज्ञान, सीप, र क्षमता प्रदान गर्नुहुन्छ ? गोष्ठी कुन रुपमा विगतको भन्दा फरक हुनेछ ?
विश्वमै आर्थिक मन्दी पछिको सिनारियो र नेपालमा त्यसले ल्याएको परिघटनाले गर्दा सहकारी व्यवस्थापनमा अहिले चुनौति थपिँदै गएको छ । सहकारीमा समस्या आउनुको कारण के हो ? समाधानका उपायहरु के के हुन् ? भन्ने सन्दर्भमा गोष्ठीमा छलफल हुन्छ । वल्र्ड क्रेडिट काउन्सिल पनि हाम्रो फेडरेशन भएको कारण उसको अनुभव पनि हामी साट्छौं । एशियाली ऋण महासंघबाट पनि प्रतिनिधिहरु आउनुहुन्छ । उहाँहरुले सहकारीको अहिलेको अवस्थामा कसरी छवि निर्माण गर्न सकिन्छ भनेर कार्यपत्र नै प्रस्तुत गर्नुहुनेछ । राष्ट्र बैंक, विभिन्न निकाय र विषयविज्ञहरुबाट कार्यपत्र प्रस्तुत हुने भएकाले यो गोष्ठी फलदायी हुनेछ । कार्यपत्रमाथि टिप्पणी र छलफल भएर एउटा मार्गप्रसस्त गर्ने हाम्रो ध्येय छ ।
साकोसहरुमा कार्यरत उत्कृष्ट व्यवस्थापकहरुबाट पनि आफ्नो अनुभव सेयरिङ हुनेछ । उहाँहरुको अनुभवका आधारमा सहकारीको अहिलेको समस्यालाई समाधानका लागि मार्ग प्रशस्त हुनेनै छ । विश्व अर्थतन्त्रमा अहिले परेको असर र त्यसले भित्राएका समस्याहरु एवं नेपालमा परेको प्रभाव र आगामी कार्यदिशाको बारेमा पनि गोष्ठीमा प्रस्तुतिकरण हुनेछ । साकोस अभियानका वर्तमान चुनौतिहरु के के छन् ? र साकोसको सम्भावना के छन् भन्ने सन्दर्भमा पनि प्रस्तुतिकरण रहनेछ । अर्कोतर्फ अन्तर्राष्ट्रिय स्तरमा भएका असल अभ्यासहरुलाई शेयरिङ गर्नुका साथै क्रेडिट युनियन एक्टको सन्दर्भमा विश्लेषण सहितको वेआउट दिने कार्यक्रम छ । स्परिच्युअल इन्टेलिजेन्ट म्यानेजमेन्ट अन्तर्गत अहिलेको अवस्थामा तनाव व्यवस्थापनको पाटोमा पनि केहि सिकाउने कार्यक्रम छ । अहिले सहकारीका सिइओ वा व्यवस्थापकले तनाव भोगिराख्नुभएको अवस्था छ । त्यसको निवारणका लागि गोष्ठीमा सिकाउने तयारी गरिएको छ । विगतको भन्दा यसपटकको गोष्ठी धेरै अर्थमा फरक रहनेछ । अहिलेको समसामयिक घटनाहरुलाई बढी समेटिएकाले गर्दा गोष्ठी अझ प्रभावकारी हुने अपेक्षा लिएका छौं ।
विद्यमान वित्तीय संकटको अवस्थामा हुनलागेको गोष्ठीबाट सहभागिहरुले पुनर्ताजगी पाउनुहुन्छ त ?
पक्कै । वर्तमान अवस्थाको बारेमा हामी उजागर गर्छौं । उहाँहरुको अनुभवलाई साट्ने फ्लाटफर्म वर्कसपमा उपलब्ध गराउँछौं । सरोकारवाला निकायहरुबाट कस्तो प्रकारको सहजीकरण आवश्यक छ भन्ने कुरा पनि गोष्ठीमा आउँछ । सहजकर्ताहरुले प्राक्टिकल कुराहरु राख्नुहुन्छ र प्राक्टिकल सोलुसनहरु छलफल गरिने भएकाले गोष्ठीपछि सहजताकासाथ काम गर्ने वातावरण सिर्जना हुने र काम गर्न सहज हुने हाम्रो विश्वास छ ।
विद्यमान संकटको अवस्थामा यस्तो गोष्ठी आवश्यक छैन भन्ने तर्क पनि बजारमा सुनिन्छ नि ? त्यस बारे तपाईं के भन्नुहुन्छ ?
जब पैसा भयो तब सबै समस्या समाधान हुन्छ भन्ने कतिपयलाई लागेको छ । तत्कालको लागि त त्यो ठिकै हो । तर पैसा लिन पनि त क्षमता चाहिन्छ । जसले पैसा आवश्यक छ भनिराख्नु भएको छ, सदस्यबाट बचत लिन सक्ने क्षमता छ कि छैन? त्यसलाई पनि विश्लेषण गर्नुपर्छ । अर्कोतर्फ नेफ्स्कुनसँग सदस्य संस्थालाई दिन पर्याप्त तरलता छ । हामीसँग दिन सक्ने क्षमता छ । तर संस्थाहरुको लिन सक्ने क्षमता पनि सँगसँगै चाहिन्छ । विगतको ट्रेण्ड, अहिले भइरहेको अभ्यास र उहाँहरुले गरिरहेको प्राक्टिसका साथै सबै रिक्वायरमेन्ट पूरा भएपछि कर्जा दिन सकिन्छ । कतिपय सहकारीकर्मीले तत्काललाई त्यसरी मात्र हेर्नुभएको छ । वास्तविक रुपमा संस्थालाई जीवन्त बनाइराख्न र समस्या उब्जनै नदिन जोखिम बहन क्षमता कसरी बढाउने र त्यसतो अवस्था नै आउन नदिनको लागि के गर्ने भन्ने उपायका लागि यस्ता गोष्ठीको आवश्यकता अझ छ भन्ने मलाई लाग्छ । उत्कृष्ट अनुभव र असल अभ्यासबाट ज्ञान लिन सकिने भएकाले तत्कालको आवश्यकता तरलता व्यवस्थापन भएपनि सिकाईले संस्थालाई जीवन्त राख्न सँगैसँगै सहयोग गर्ने भएकाले गोष्ठीले त्यतिकै महत्व राख्छ ।
हामीले संस्थागत आम्दानीको केहि प्रतिशत रकम क्षमता अभिवृद्धिमा पनि लगाउनुपर्छ । यो संस्थागत सञ्चालनको नियम पनि हो । हामीसँगै काम गर्ने जनशक्तिलाई पोख्त पार्न र अनुभवी बनाउन सकिएन वा नयाँ कुराहरुलाई अपडेट गर्न सकिएन भने संस्था सञ्चालनमा समस्या आउँछ । त्यसकारण नयाँ ज्ञान र सीप दिन सिइओ वर्कसप धेरै नै महत्वपूर्ण छ भन्ने मलाई लाग्छ ।
नियमितरूपमा गोष्ठी तथा तालिमबाट क्षमतायुक्त भएर व्यवस्थापकहरुले सञ्चालन गरेको सहकारी र तालिम वा गोष्ठीमा भाग नलिने संस्थामध्ये अहिले कुन संस्थामा बढी समस्या देख्नुहुन्छ ?
जुन संस्थाका सञ्चालक र व्यवस्थापकहरुले सम्बन्धित विषयवस्तुको ज्ञान र अनुभव सँगाल्नुभएको छ छन् उहाँहरुले राम्रोसँग संस्था सञ्चालन गर्नुभएको छ । तालिम, गोष्ठी र अन्तक्र्रियाबाट नयाँ कुरा सिक्ने संस्थाहरु पक्कै पनि राम्रोसँग सञ्चालन भइरहेका छन् । नेफ्स्कुनले ३५–३६ प्रकारका तालिम सञ्चालन गर्दै आएको छ । स्तरीकरणको कार्यक्रम नेफ्स्कुनले अघि सारेको छ । जुन संस्था स्तरीकरण कार्यक्रम र निरन्तर यस्ता क्षमता अभिवृद्धिको तालिममा सहभागी छन्, त्यस्ता संस्थामा समस्याहरु सामान्य प्रकृतिका रहेका छन् । तालिम गोष्ठीमार्फत दक्ष नभएका संस्थाहरुसँग नेफ्स्कुनको तालिम गोष्ठीमा सहभागि भएका संस्थाको तुलना हुनै सक्दैन । जुन संस्थाका व्यवस्थापन प्रमुखहरु स्किलफुल हुनुहुन्छ उहाँहरुको संस्थामा समस्या कम देखिएको छ । यस्ता वर्कसपहरुले उहाँहरुको संस्था सञ्चालनको लागि मदत गरी संस्थालाई जीवन्त बनाउनुका साथै अन्य संस्थाको भन्दा समुदायमा छुट्टै पहिचान राख्न पनि मदत मिल्छ ।
सहकारीमा सुशासन कायम गरी छवि निर्माणको काम व्यवस्थापकले मात्र गर्न सक्छन् र यसका लागि सञ्चालहरुको पनि उत्तिकै जिम्मेवारी होला नि ?
विशेषगरी सहकारी संस्थामा सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति, व्यवस्थापन प्रमुख र सस्यहरुको भूमिका महत्वपूर्ण हुन्छ । सहकारीमा सदस्यले पनि उत्तिकै भूमिका खेल्नुपर्छ । उहाँहरु पनि सुसूचित हुनुपर्छ । आफुले कारोबार गरिराखेको सहकारी संस्थामा कस्तो खालको क्रियाकलाप भइरहेको छ,सञ्चालकहरुले कसरी काम गरिराखेको छन् भन्ने जस्ता कुराको निगरानी सदस्यले राख्नुपर्छ । खबरदारीको लागि सम्बन्धित संस्थाको सदस्य पनि उत्तिकै महत्वपूर्ण हुन्छन् । नेतृत्व तहमा हुनेले नीति निर्माण गर्ने हो । आफ्नो संस्थालाई कुन दिशामा अगाडि बढाउने र कुन नीति बनायो भने संस्था राम्रो हुन्छ भन्ने सोच सञ्चालकहरुमा हुनुपर्छ । सञ्चालक समितिले बनाएको नीतिनियमलाई कार्यान्वयन गर्न र संस्थालार्य जीवन्त बनाउन तथा सदस्यसँगको सम्बन्ध राख्न पुलको काम व्यवस्थापनले गरिराखेको हुन्छ । त्यसो हुनाले सहकारीमा व्यवस्थापन सबैभन्दा महत्वपूर्ण छ । दैनिक कारोबारमा व्यवस्थापन नै प्रत्यक्ष रुपमा संलग्न हुन्छन् । नेतृत्व तथा सदस्यसँग व्यवस्थापन नै सम्पर्क तथा संलग्न रहने र आफ्ना वस्तु तथा सेवाहरु व्यवस्थापन मार्फत नै सदस्यमाझ पुग्ने भएकाले उहाँहरुमा बढी सीपक्षमता आवश्यक पर्छ । त्यसैगरी व्यवस्थापनको दैनिक व्यवहार पनि राम्रो हुनुपर्छ । प्रविधियुक्त सेवामार्फत दिगो रुपमा संस्था सञ्चालन ग¥यौं र जिम्मेवारीयुक्त व्यवस्थापक बनाउन सक्यौं भने पक्कै पनि संस्थाको छवि राम्रो हुन्छ । सहकारी सञ्चालनका लागि नेतृत्व, व्यवस्थापन र सदस्य महत्वपूर्ण पक्ष हुन् । त्यसमा पनि बढी भूमिका व्यवस्थापन कै हुन्छ ।
सहकारी क्षेत्रमा दक्ष मानव संसाधनको अभाव छ भनिन्छ नि ? यसलाई परिपूर्ति गर्न नेफ्स्कुनले के गर्दै आएको छ ?
कुनै पनि संस्थालाई सञ्चालन गर्नको लागि दक्ष जनशक्ति आवश्यक पर्छ । यसको लागि हामीले गोष्ठी तथा विभिन्न तालिमहरुको अलावा एकेडेमिक कोर्स नै शुरु गरेका छौं । सहकारी पढ्ने नेपालमा कुनै पनि युनिभर्सिटी छैन । सहकारीको पठनपाठन हुने र त्यहाँबाट डिप्लोमा लेभल पास गरेर सहकारी क्षेत्रलाई नै आफ्नो मुख्य करियर बनाउने खालको पठनपाठनको अभाव छ । हामीसँग सम्बन्धित विषयवस्तु पढ्नु भएका व्यवस्थापकहरु लिने त्यस्तो श्रोत नै छैन । नेफ्स्कुनले पोखरा विश्वविद्यालयसँग सम्झौता गरेको छ । सहकारी संस्था सञ्चालनको निम्ति कस्तो जनशक्ति आवश्यक पर्छ र साँच्चै सहकारी सञ्चालनको निम्ति सहकारी क्षेत्रको औपचारिक पढाइका लागि करिकुलम डेभलपमेण्टको काम पनि गर्नुपर्छ भनेर हामी लागिरहेका छौं । त्यसका लागि सम्बन्धित सहकारी संस्थामा नै गएर रिसर्च गरिराखेका छौं । ९ सय घण्टा, ६ सय घण्टा र २ वर्षे डिप्लोमा र मास्टर्स लेभलका कोर्षहरु तयार गर्ने चरणमा हामी छौं । हामीले एचआर बैंकको कन्सेप्टलाई अगाडि बढाएका छौं ।
दक्ष जनशक्ति निर्माण गरी सहकारीमा सप्लाई गर्ने नेफ्स्कुनले एचआर बैंकको कन्सेप्ट अगाडि बढाएको हो । अहिले हामी सिटीइभिटीसँग आवद्ध भएर व्यवस्थापक र बचत परिचालन सम्बन्धी कोर्सहरु चलाइरहेका छौं । त्यसमार्फत ४ ब्याचबाट १०० जना व्यवस्थापक उत्पादन गरिसकेका छौं । त्यसमा सहकारी क्षेत्रमा नै काम गर्ने जुनियर लेभलका अफिसरहरु हुनुहुन्छ । त्यो कोर्स लिएपश्चात ती संस्था सञ्चालनमा सहजता आएको उहाँहरुको अनुभव छ । तालिम र वर्कसपसँगै औपचारिक शिक्षाको लागि समेत नेफ्स्कुनले पहल गर्दै आइरहेको छ ।
नेफ्स्कुन गोष्ठीको आयोजक संस्था भएकाले साकोस व्यवस्थापकहरुलाई के अपील गर्नुहुन्छ ?
रजिष्ट्रेशनको लागि केहि दिन मात्र बाँकी छ । यसप्रकारको गोष्ठी कुनै एक संस्था वा व्यक्तिले चाहेर सानो फोरममा गर्न सकिँदैन । त्यसका लागि ठूलै व्यवस्थापन आवश्यक पर्छ । अन्तर्राष्ट्रिय रिसोर्स पर्सन र नेपालका विभिन्न निकायमा रहेका विज्ञ सहित अनुभवी मस्तिष्कलाई एउटै प्लाटफर्ममा उभ्याउँदैछौं । विशेषत वित्तीय सहकारीहरुको समस्या समाधानका लागि र आगामी समयमा एउटा व्यवस्थापकले निर्भिक भएर काम गर्ने वातावरण सिर्जना गर्नका लागि गोष्ठी अवश्य लाभदायी हुनेछ । सहकारीका व्यवस्थापकले थप ज्ञान, सीप र सूचना अपडेट गर्नका लागि पनि गोष्ठी फलदायी हुनेमा दुईमत छैन । नेफ्स्कुनले प्रत्येक ३ वर्षमा यसप्रकारको गोष्ठी गर्ने भएकाले यो अवसर नछुटाउन म अपील गर्छु । व्यवस्थापन प्रमुख र सम्बन्धि सहकारीका लागि पनि यो अवसर हो । अन्तर्राष्ट्रिय अभ्यासहरुलाई ट्रान्स्फर गर्ने थलो पनि भएकाले सरोकारवाला सबैलाई गोष्ठीमा सहभागी हुन म आव्हान गर्दछु ।