बुधबार, भाद्र ३ गते २०८३

निर्भिक भएर संस्था सञ्चालन गर्ने वातावरण बनाउन ‘सीइओ वर्कसप’ ले सघाउँछ

फाल्गुण १५, २०७९ सोमबार
निर्भिक भएर संस्था सञ्चालन गर्ने वातावरण बनाउन ‘सीइओ वर्कसप’ ले सघाउँछ


आगामी फागुन २४ र २५ गते साकोस व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी आयोजना गर्नुभएको छ । गोष्ठी आयोजना गर्नुको उद्देश्य, औचित्य र सान्दर्भिकता माथि प्रकाश पारिदिनुस् न,

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कुन) बचतऋण सहकारीहरुको केन्द्रिय संघ हो । नेफ्स्कुनमा ४५ सयभन्दा बढी बचत तथा ऋण सहकारी संस्था आवद्ध छन् । त्यसैगरी ६२ जिल्ला बचत संघमा १० हजारमाथि बचत ऋण सहकारी आवद्ध भएका छन् । साकोसमा काम गर्ने व्यवस्थापन प्रमुखहरुको क्षमता अभिवृद्धि गर्नु हाम्रो दायित्व पनि हो । विशेषतः अहिले कोभिड १९ र रुस–युक्रेन युद्धपछि विश्व अर्थतन्त्रमा आएको मन्दीसँगै नेपालका सहकारीहरुमा पनि त्यसको प्रभाव परेको छ । खासगरी वित्तीय सहकारीहरुमा तरलता लगायत अन्य समस्या देखिएको छ । विश्वमा साकोस अभियानमा कस्ता खालका समस्या आयो र समाधान कसरी भयो भन्ने सन्दर्भमा पनि यो गोष्ठी गर्न गइराखेका छौं ।

यस वर्षको गोष्ठीको थिम ‘प्रविधियुक्त सेवा र सुशासनयुक्त सहकारी, दिगो साकोस निर्माणका लागि जिम्मेवारीयुक्त व्यवस्थापन’ भनेर दिएका छौं । हामीले सुशासन, प्रविधि र अहिलेको अवस्थामा साकोसहरुको छवि निर्माणको काम गर्नुपर्ने भएकाले यसलाई नै थिमको रुपमा अगाडि सारेका हौं । वित्तीय सहकारीहरुको दर्शन र मुल्यमा आधारित, व्यवसायिक जनशक्ति विकासको लागि पनि गोष्ठी आयोजना गरिएको हो । विश्वव्यापी नविनतम अभ्यास र सिकाइमार्फत व्यवस्थापकहरुको ज्ञानसिप र प्रविधिलाई अवलम्बन गरेर त्यसलाई हस्तान्तरण गर्ने गोष्ठीको उदेश्य छ । राष्ट्रिय स्तरमा भएका नविनतम र सफलताका कथाहरु आदानप्रदान गर्ने, वित्तीय सहकारीको लागि विकास भएका नविनतम औजारहरु र त्यसको आन्तरिकीकरणका लागि दिशानिर्देश गर्ने अर्को उद्देश्य रहेको छ । साकोसकहरुमा कार्यरत जनशक्तिहरुलाई उत्प्रेरणामार्फत तनावरहित वातावरणमा कार्य सम्पादनको लागि अभिप्रेरित गर्ने लक्ष्य छ ।

वित्तीय सहकारीहरुमा अहिले विकासको सम्भावना पनि पहिचान गर्नुपर्ने भएको छ । संविधानले अर्थतन्त्रको ३ मध्ये एक खम्बाको रुपमा सहकारीलाई लिएको अवस्थामा अर्थतन्त्रलाई बलियो बनाउने प्रक्रियामा कसरी समाहित हुन सकिन्छ भने विषयमा पनि गोष्ठीमा छलफल हुनेछ । वित्तीय सहकारीहरुलाई उत्पादनमा आधारित हुन र त्यसतर्फ लगानी प्रोत्साहन गर्ने उद्देश्य छ । बचतऋण सहकारी आफैं उत्पादनमा जाने भन्दा पनि सदस्यमार्फत उत्पादनमा जान प्रेरित गर्ने गोष्ठीको लक्ष्य हो । अहिले समग्र वित्तीय सहकारीको समस्या समाधानका लागि छुट्टै वित्तीय सहकारी ऐनको आवश्यकता र त्यसको विश्व अभ्यास एवं नेपालमा त्यसको आन्तरिकीकरण गर्दै, महत्वलाई उजागर गर्ने तथा सम्पूर्ण साकोसहरुको छवि निर्माणको लागि साझा घोषणापत्र लिएर जाने गोष्ठीका उद्देश्य रहेका छन् ।

४५ सयभन्दा बढी संस्था नेफ्स्कुनमा आवद्ध छन् । गोष्ठीमा कुन प्रकृतिका संस्थाबाट कस्ता व्यक्तिले सहभागी हुन पाउँछन् ?

गोष्ठीमा सहभागी हुन सबै साकोसका व्यवस्थापकहरुलाई खुल्ला आव्हान गरिएको छ । हामीसँगै आवद्ध भएका र नभएका सबै साकोसका व्यवस्थापकहरु गोष्ठीमा सहभागि हुन पाउनुहुन्छ । व्यवस्थापन प्रमुख भई कार्य गरिरहेका ४ सय ५० जना व्यक्तिलाई गोष्ठीमा सहभागी गराउने योजना छ । उहाँहरुले अनलाइबाट पनि आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ भने नेफ्स्कुनको विभिन्न जिल्लामा रहेका फिल्ड कार्यालयहरुबाट पनि नाम दर्ता हुने व्यवस्था हामीले मिलाएका छौं । अहिलेसम्म २५० जनाले रजिष्ट्रेशन गरिसक्नु भएको छ । कम्तीमा डिप्लोमा अध्ययन पूरा गरेका र संस्थामा व्यवस्थापन प्रमुख भई कार्य गरेका व्यक्तिहरु गोष्ठीमा सहभागी हुन सक्नुहुन्छ । सदस्य संस्थाबाट ४ सय जना, सदस्य नभएका संस्था, नेपाल राष्ट्र बैंक र विभिन्न निकाय तथा नेफ्स्कुनको व्यवस्थापन र श्रोत व्यक्तिसहित ५२५ जना गोष्ठीमा सहभागी हुने अपेक्षा हाम्रो छ । हामीले फागुन १३ सम्म रजिष्ट्रेशनको समय तय गरेका थियौं । अहिले समय थप गरेर फागुन १७ गतेसम्म रजिष्ट्रेशन गर्न सक्ने गरी व्यवस्था मिलाएका छौं । सहभागीको नाम दर्तापश्चात् हामीले विभिन्न तयारी गर्नुपर्ने हुन्छ । तयारी व्यवस्थापनको लागि केहि समय चाहिने भएकाले १७ गतेसम्मको लागि समय बढाएका हौं ।

वित्तीय संकटमा रहेको अवस्थामा गर्न लागिएको गोष्ठीमा व्यवस्थापकहरुलाई केकस्तो ज्ञान, सीप, र क्षमता प्रदान गर्नुहुन्छ ? गोष्ठी कुन रुपमा विगतको भन्दा फरक हुनेछ ?

विश्वमै आर्थिक मन्दी पछिको सिनारियो र नेपालमा त्यसले ल्याएको परिघटनाले गर्दा सहकारी व्यवस्थापनमा अहिले चुनौति थपिँदै गएको छ । सहकारीमा समस्या आउनुको कारण के हो ? समाधानका उपायहरु के के हुन् ? भन्ने सन्दर्भमा गोष्ठीमा छलफल हुन्छ । वल्र्ड क्रेडिट काउन्सिल पनि हाम्रो फेडरेशन भएको कारण उसको अनुभव पनि हामी साट्छौं । एशियाली ऋण महासंघबाट पनि प्रतिनिधिहरु आउनुहुन्छ । उहाँहरुले सहकारीको अहिलेको अवस्थामा कसरी छवि निर्माण गर्न सकिन्छ भनेर कार्यपत्र नै प्रस्तुत गर्नुहुनेछ । राष्ट्र बैंक, विभिन्न निकाय र विषयविज्ञहरुबाट कार्यपत्र प्रस्तुत हुने भएकाले यो गोष्ठी फलदायी हुनेछ । कार्यपत्रमाथि टिप्पणी र छलफल भएर एउटा मार्गप्रसस्त गर्ने हाम्रो ध्येय छ ।

साकोसहरुमा कार्यरत उत्कृष्ट व्यवस्थापकहरुबाट पनि आफ्नो अनुभव सेयरिङ हुनेछ । उहाँहरुको अनुभवका आधारमा सहकारीको अहिलेको समस्यालाई समाधानका लागि मार्ग प्रशस्त हुनेनै छ । विश्व अर्थतन्त्रमा अहिले परेको असर र त्यसले भित्राएका समस्याहरु एवं नेपालमा परेको प्रभाव र आगामी कार्यदिशाको बारेमा पनि गोष्ठीमा प्रस्तुतिकरण हुनेछ । साकोस अभियानका वर्तमान चुनौतिहरु के के छन् ? र साकोसको सम्भावना के छन् भन्ने सन्दर्भमा पनि प्रस्तुतिकरण रहनेछ । अर्कोतर्फ अन्तर्राष्ट्रिय स्तरमा भएका असल अभ्यासहरुलाई शेयरिङ गर्नुका साथै क्रेडिट युनियन एक्टको सन्दर्भमा विश्लेषण सहितको वेआउट दिने कार्यक्रम छ । स्परिच्युअल इन्टेलिजेन्ट म्यानेजमेन्ट अन्तर्गत अहिलेको अवस्थामा तनाव व्यवस्थापनको पाटोमा पनि केहि सिकाउने कार्यक्रम छ । अहिले सहकारीका सिइओ वा व्यवस्थापकले तनाव भोगिराख्नुभएको अवस्था छ । त्यसको निवारणका लागि गोष्ठीमा सिकाउने तयारी गरिएको छ । विगतको भन्दा यसपटकको गोष्ठी धेरै अर्थमा फरक रहनेछ । अहिलेको समसामयिक घटनाहरुलाई बढी समेटिएकाले गर्दा गोष्ठी अझ प्रभावकारी हुने अपेक्षा लिएका छौं । 

विद्यमान वित्तीय संकटको अवस्थामा हुनलागेको गोष्ठीबाट सहभागिहरुले पुनर्ताजगी पाउनुहुन्छ त ?

पक्कै । वर्तमान अवस्थाको बारेमा हामी उजागर गर्छौं । उहाँहरुको अनुभवलाई साट्ने फ्लाटफर्म वर्कसपमा उपलब्ध गराउँछौं । सरोकारवाला निकायहरुबाट कस्तो प्रकारको सहजीकरण आवश्यक छ भन्ने कुरा पनि गोष्ठीमा आउँछ । सहजकर्ताहरुले प्राक्टिकल कुराहरु राख्नुहुन्छ र प्राक्टिकल सोलुसनहरु छलफल गरिने भएकाले गोष्ठीपछि सहजताकासाथ काम गर्ने वातावरण सिर्जना हुने र काम गर्न सहज हुने हाम्रो विश्वास छ ।

विद्यमान संकटको अवस्थामा यस्तो गोष्ठी आवश्यक छैन भन्ने तर्क पनि बजारमा सुनिन्छ नि ? त्यस बारे तपाईं के भन्नुहुन्छ ?

जब पैसा भयो तब सबै समस्या समाधान हुन्छ भन्ने कतिपयलाई लागेको छ । तत्कालको लागि त त्यो ठिकै हो । तर पैसा लिन पनि त क्षमता चाहिन्छ । जसले पैसा आवश्यक छ भनिराख्नु भएको छ, सदस्यबाट बचत लिन सक्ने क्षमता छ कि छैन? त्यसलाई पनि विश्लेषण गर्नुपर्छ । अर्कोतर्फ नेफ्स्कुनसँग सदस्य संस्थालाई दिन पर्याप्त तरलता छ । हामीसँग दिन सक्ने क्षमता छ । तर संस्थाहरुको लिन सक्ने क्षमता पनि सँगसँगै चाहिन्छ । विगतको ट्रेण्ड, अहिले भइरहेको अभ्यास र उहाँहरुले गरिरहेको प्राक्टिसका साथै सबै रिक्वायरमेन्ट पूरा भएपछि कर्जा दिन सकिन्छ । कतिपय सहकारीकर्मीले तत्काललाई त्यसरी मात्र हेर्नुभएको छ । वास्तविक रुपमा संस्थालाई जीवन्त बनाइराख्न र समस्या उब्जनै नदिन जोखिम बहन क्षमता कसरी बढाउने र त्यसतो अवस्था नै आउन नदिनको लागि के गर्ने भन्ने उपायका लागि यस्ता गोष्ठीको आवश्यकता अझ छ भन्ने मलाई लाग्छ । उत्कृष्ट अनुभव र असल अभ्यासबाट ज्ञान लिन सकिने भएकाले तत्कालको आवश्यकता तरलता व्यवस्थापन भएपनि सिकाईले संस्थालाई जीवन्त राख्न सँगैसँगै सहयोग गर्ने भएकाले गोष्ठीले त्यतिकै महत्व राख्छ । 

हामीले संस्थागत आम्दानीको केहि प्रतिशत रकम क्षमता अभिवृद्धिमा पनि लगाउनुपर्छ । यो संस्थागत सञ्चालनको नियम पनि हो । हामीसँगै काम गर्ने जनशक्तिलाई पोख्त पार्न र अनुभवी बनाउन सकिएन वा नयाँ कुराहरुलाई अपडेट गर्न सकिएन भने संस्था सञ्चालनमा समस्या आउँछ । त्यसकारण नयाँ ज्ञान र सीप दिन सिइओ वर्कसप धेरै नै महत्वपूर्ण छ भन्ने मलाई लाग्छ ।

नियमितरूपमा गोष्ठी तथा तालिमबाट क्षमतायुक्त भएर व्यवस्थापकहरुले सञ्चालन गरेको सहकारी र तालिम वा गोष्ठीमा भाग नलिने संस्थामध्ये अहिले कुन संस्थामा बढी समस्या देख्नुहुन्छ ?

जुन संस्थाका सञ्चालक र व्यवस्थापकहरुले सम्बन्धित विषयवस्तुको ज्ञान र अनुभव सँगाल्नुभएको छ छन् उहाँहरुले राम्रोसँग संस्था सञ्चालन गर्नुभएको छ । तालिम, गोष्ठी र अन्तक्र्रियाबाट नयाँ कुरा सिक्ने संस्थाहरु पक्कै पनि राम्रोसँग सञ्चालन भइरहेका छन् । नेफ्स्कुनले ३५–३६ प्रकारका तालिम सञ्चालन गर्दै आएको छ । स्तरीकरणको कार्यक्रम नेफ्स्कुनले अघि सारेको छ । जुन संस्था स्तरीकरण कार्यक्रम र निरन्तर यस्ता क्षमता अभिवृद्धिको तालिममा सहभागी छन्, त्यस्ता संस्थामा समस्याहरु सामान्य प्रकृतिका रहेका छन् । तालिम गोष्ठीमार्फत दक्ष नभएका संस्थाहरुसँग नेफ्स्कुनको तालिम गोष्ठीमा सहभागि भएका संस्थाको तुलना हुनै सक्दैन । जुन संस्थाका व्यवस्थापन प्रमुखहरु स्किलफुल हुनुहुन्छ उहाँहरुको संस्थामा समस्या कम देखिएको छ । यस्ता वर्कसपहरुले उहाँहरुको संस्था सञ्चालनको लागि मदत गरी संस्थालाई जीवन्त बनाउनुका साथै अन्य संस्थाको भन्दा समुदायमा छुट्टै पहिचान राख्न पनि मदत मिल्छ । 

सहकारीमा सुशासन कायम गरी छवि निर्माणको काम व्यवस्थापकले मात्र गर्न सक्छन् र यसका लागि सञ्चालहरुको पनि उत्तिकै जिम्मेवारी होला नि ?

विशेषगरी सहकारी संस्थामा सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति, व्यवस्थापन प्रमुख र सस्यहरुको भूमिका महत्वपूर्ण हुन्छ । सहकारीमा सदस्यले पनि उत्तिकै भूमिका खेल्नुपर्छ । उहाँहरु पनि सुसूचित हुनुपर्छ । आफुले कारोबार गरिराखेको सहकारी संस्थामा कस्तो खालको क्रियाकलाप भइरहेको छ,सञ्चालकहरुले कसरी काम गरिराखेको छन् भन्ने जस्ता कुराको निगरानी सदस्यले राख्नुपर्छ । खबरदारीको लागि सम्बन्धित संस्थाको सदस्य पनि उत्तिकै महत्वपूर्ण हुन्छन् । नेतृत्व तहमा हुनेले नीति निर्माण गर्ने हो । आफ्नो संस्थालाई कुन दिशामा अगाडि बढाउने र कुन नीति बनायो भने संस्था राम्रो हुन्छ भन्ने सोच सञ्चालकहरुमा हुनुपर्छ । सञ्चालक समितिले बनाएको नीतिनियमलाई कार्यान्वयन गर्न र संस्थालार्य जीवन्त बनाउन तथा सदस्यसँगको सम्बन्ध राख्न पुलको काम व्यवस्थापनले गरिराखेको हुन्छ । त्यसो हुनाले सहकारीमा व्यवस्थापन सबैभन्दा महत्वपूर्ण छ । दैनिक कारोबारमा व्यवस्थापन नै प्रत्यक्ष रुपमा संलग्न हुन्छन् । नेतृत्व तथा सदस्यसँग व्यवस्थापन नै सम्पर्क तथा संलग्न रहने र आफ्ना वस्तु तथा सेवाहरु व्यवस्थापन मार्फत नै सदस्यमाझ पुग्ने भएकाले उहाँहरुमा बढी सीपक्षमता आवश्यक पर्छ । त्यसैगरी व्यवस्थापनको दैनिक व्यवहार पनि राम्रो हुनुपर्छ । प्रविधियुक्त सेवामार्फत दिगो रुपमा संस्था सञ्चालन ग¥यौं र जिम्मेवारीयुक्त व्यवस्थापक बनाउन सक्यौं भने पक्कै पनि संस्थाको छवि राम्रो हुन्छ । सहकारी सञ्चालनका लागि नेतृत्व, व्यवस्थापन र सदस्य महत्वपूर्ण पक्ष हुन् । त्यसमा पनि बढी भूमिका व्यवस्थापन कै हुन्छ । 

सहकारी क्षेत्रमा दक्ष मानव संसाधनको अभाव छ भनिन्छ नि ? यसलाई परिपूर्ति गर्न नेफ्स्कुनले के गर्दै आएको छ ?

कुनै पनि संस्थालाई सञ्चालन गर्नको लागि दक्ष जनशक्ति आवश्यक पर्छ । यसको लागि हामीले गोष्ठी तथा विभिन्न तालिमहरुको अलावा एकेडेमिक कोर्स नै शुरु गरेका छौं । सहकारी पढ्ने नेपालमा कुनै पनि युनिभर्सिटी छैन । सहकारीको पठनपाठन हुने र त्यहाँबाट डिप्लोमा लेभल पास गरेर सहकारी क्षेत्रलाई नै आफ्नो मुख्य करियर बनाउने खालको पठनपाठनको अभाव छ । हामीसँग सम्बन्धित विषयवस्तु पढ्नु भएका व्यवस्थापकहरु लिने त्यस्तो श्रोत नै छैन । नेफ्स्कुनले पोखरा विश्वविद्यालयसँग सम्झौता गरेको छ । सहकारी संस्था सञ्चालनको निम्ति कस्तो जनशक्ति आवश्यक पर्छ र साँच्चै सहकारी सञ्चालनको निम्ति सहकारी क्षेत्रको औपचारिक पढाइका लागि  करिकुलम डेभलपमेण्टको काम पनि गर्नुपर्छ भनेर हामी लागिरहेका छौं । त्यसका लागि सम्बन्धित सहकारी संस्थामा नै गएर रिसर्च गरिराखेका छौं । ९ सय घण्टा, ६ सय घण्टा र २ वर्षे डिप्लोमा र मास्टर्स लेभलका कोर्षहरु तयार गर्ने चरणमा हामी छौं । हामीले एचआर बैंकको कन्सेप्टलाई अगाडि बढाएका छौं ।

दक्ष जनशक्ति निर्माण गरी सहकारीमा सप्लाई गर्ने नेफ्स्कुनले एचआर बैंकको कन्सेप्ट अगाडि बढाएको हो । अहिले हामी सिटीइभिटीसँग आवद्ध भएर व्यवस्थापक र बचत परिचालन सम्बन्धी कोर्सहरु चलाइरहेका छौं । त्यसमार्फत ४ ब्याचबाट १०० जना व्यवस्थापक उत्पादन गरिसकेका छौं । त्यसमा सहकारी क्षेत्रमा नै काम गर्ने जुनियर लेभलका अफिसरहरु हुनुहुन्छ । त्यो कोर्स लिएपश्चात ती संस्था सञ्चालनमा सहजता आएको उहाँहरुको अनुभव छ । तालिम र वर्कसपसँगै औपचारिक शिक्षाको लागि समेत नेफ्स्कुनले पहल गर्दै आइरहेको छ । 

नेफ्स्कुन गोष्ठीको आयोजक संस्था भएकाले साकोस व्यवस्थापकहरुलाई के अपील गर्नुहुन्छ ?

रजिष्ट्रेशनको लागि केहि दिन मात्र बाँकी छ । यसप्रकारको गोष्ठी कुनै एक संस्था वा व्यक्तिले चाहेर सानो फोरममा गर्न सकिँदैन । त्यसका लागि ठूलै व्यवस्थापन आवश्यक पर्छ । अन्तर्राष्ट्रिय रिसोर्स पर्सन र नेपालका विभिन्न निकायमा रहेका विज्ञ सहित अनुभवी मस्तिष्कलाई एउटै प्लाटफर्ममा उभ्याउँदैछौं । विशेषत वित्तीय सहकारीहरुको समस्या समाधानका लागि र आगामी समयमा एउटा व्यवस्थापकले निर्भिक भएर काम गर्ने वातावरण सिर्जना गर्नका लागि गोष्ठी अवश्य लाभदायी हुनेछ । सहकारीका व्यवस्थापकले थप ज्ञान, सीप र सूचना अपडेट गर्नका लागि पनि गोष्ठी फलदायी हुनेमा दुईमत छैन । नेफ्स्कुनले प्रत्येक ३ वर्षमा यसप्रकारको गोष्ठी गर्ने भएकाले यो अवसर नछुटाउन म अपील गर्छु । व्यवस्थापन प्रमुख र सम्बन्धि सहकारीका लागि पनि यो अवसर हो । अन्तर्राष्ट्रिय अभ्यासहरुलाई ट्रान्स्फर गर्ने थलो पनि भएकाले सरोकारवाला सबैलाई गोष्ठीमा सहभागी हुन म आव्हान गर्दछु ।