सहकारी संस्थाका सञ्चालकहरुले सम्पत्ति बेचेर भए पनि सदस्यहरुको बचत फिर्ता गर्ने बताएका छन् । सहकारीमा संकट, कारण र समाधान विषय अन्तक्रियामा बोल्दै उनीहरुले गैरबैंकिङ सम्पत्ति बेचेर भएपनि सदस्यको बचत फिर्ता गर्न आफुहरु तयार रहेको बताएका हुन् । उनीहरुले संस्थाको नाममा गैर बैंकिङ सम्पत्ति रहेको भए पनि किन्ने व्यक्ति कोही नभएको बताए ।
राष्ट्रिय सहकारी महासंघले पत्रकार सम्मेलनको आयोजना गरी सञ्चालकको सम्पत्ति बेचेर भए पनि सदस्यको बचत फिर्ता गर्न भनेकाले अहिले सबै बचत कर्ताहरु तिमीहरुको त सम्पत्ति रहेछ, सम्पति बेचेर बचत फिर्ता गर्नु भन्दै कार्यालय आउने गरेको संकटा बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक सञ्चालक बिन्देश्वर श्रेष्ठले बताए । हामी सबै सहकारीका सञ्चालकले ऋण लिएका छैनौ,उनले भने,‘ऋण लिएकाहरु सम्पत्ति बेच्न तयार छौ । हाम्रो संस्थाको सम्पत्ति बेच्ने भनेको हो, तर किन्ने कसले । ’ सहकारी बैंक र नेफस्कून ऋण दिने अवस्थामा छैनन् । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक कसले हाम्रो सम्पत्ति लिइदिन्छ ? हामी विक्री गरेर सदस्यको बचत फिर्ता गर्न तयार छौ । उनले थपे’ सदस्यको बचत सुरक्षित गर्नु हाम्रो पनि दायित्व हो ।’
त्यसैगरी जेष्ठ बचत तथा ऋण सहकारी संस्थाका प्रबन्ध सञ्चालक मधुसुदन पाठक सदस्यको बचत सुरक्षित छ, सञ्चालकहरुले ऋण असुली र गैर–सम्पत्ति बेचबिखन गरेर भएपनि बचत फिर्ता गर्छन् भन्ने प्रत्याभूति सरकारले दिनुपर्ने बताउँछन् । ‘सञ्चालकले ऋण लिएको भए त सम्पत्ति बेचेर भए पनि तिर्छन्, ऋण लिएको रहेनछ भने त सदस्यबाट असुली गरेरै बचत फिर्ता गर्ने होला नि ?’ उनले प्रश्न गरे। सहकारी क्षेत्रको समस्या, विकुति र समाधानका लागि राज्य जिम्मेवार बन्नुपर्ने उनले जनाए । अहिले बैंक तथा वित्तीय संस्था र सहकारी तरलता संकटबाट गुज्रिरहेको भन्दै उनले यसमा सम्बन्धित निकायले मलम लगाउने भन्दा पनि समस्यालाई बढाईचढाई मात्रै गर्ने गरेको आरोप लगाए । सहकारीलाई सिध्याउने खेलमा सरकार लागेको भन्दै पाठकले त्यसका विरुद्धमा सम्पूर्ण सहकारीकर्मी एक हुनुपर्नेे औंल्याए ।
त्यसैगरी काठमाडौं जिल्ला बहुउदेश्यीय सहकारी संघका अध्यक्ष मनोज थापा मगरले सदस्यको बचत फिर्ता गर्न सबै सहकारीकर्मी तयार रहेको बताउदै सम्पत्ति बेच विखन गरेर भएपनि फिर्ता गर्छौ तर हामीले लगानी गरेको ऋण उठाउन सहयोग गर्नु पर्दैन भन्दै प्रतिप्रश्न गरे । ऋण असुलीको जिम्मा कसले लिने ? पिलर उठाएर मात्रै घर बन्छ ? सहकारी ऐन २०७४आएको ६ बर्ष भईसक्यो, खै कर्जा सुचना केन्द्र आएको ? भन्ने जस्ता प्रश्न उनले राखे । ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भनेझैं अहिले बचत फिर्ताको लागि सदस्यहरुको लाइन लागेको भन्दै उनले सबै ग्राहक एकै पटक निक्षेप झिक्न गए भने बाणिज्य बैंकले पनि फिर्ता दिन नसक्ने तर्क उनको छ । विश्वासको वातावरण सृजना गरी पहिले संस्था बचाउनु पर्ने र त्यसका लागि राज्यले भूमिका खेल्नुपर्ने उनको भनाई छ । सहकारी धेरै भएकाले समस्या आएको भन्दै उनले छुट र विशेष सुविधाको व्यवस्था गरेर भएपनि एकिकरणका लागि राष्ट्रिय अभियान चलाउन आवश्यक रहेको जनाए ।
यहि अवस्था कायम रहिरहे सहकारी अभियान थप विकराल बन्ने र त्यसपछि राज्यले पनि थेग्ने नसक्ने उनको दावी छ । मुलुकको अर्थतन्त्रमा नै संकट आएकाले राष्ट्रिय संकट घोषणा गरी सहकारी अभियानलाई बचाउनु राज्यको पहिलो दायित्व भएको उनले बताए ।
अधिकांश सहकारीकर्मीले अहिले संस्थामा तरलता शुन्य अवस्थामा पुगेको र सम्पति बेचबिखन गरेर बचत फिर्ता गर्न तयार रहेको भए पनि किन्ने कोही नभएको उल्लेख गरे । कतिपय संस्थाहरुले धितो लिलामको सूचना समेत प्रकाशित गर्दै आएका छन् । तर वित्तीय संकटका कारण बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाबाट ऋण नपाउँदा सम्पत्ति बिक्री हुन नसकेको उनीहरुले बताएका छन् ।