शनिबार, आश्विन १७ गते २०८३

एकभन्दा बढी लघुवित्त संस्थाबाट ऋण लिन नपाइने, कर्जा सीमा नाघे शतप्रतिशत नाेक्सानी व्यवस्था

फाल्गुण ११, २०७९ बिहीबार
एकभन्दा बढी लघुवित्त संस्थाबाट ऋण लिन नपाइने, कर्जा सीमा नाघे शतप्रतिशत नाेक्सानी व्यवस्था

 

नेपाल राष्ट्र बैंकले एकजना व्यक्तिलाइ एउटा लघुवित्त संस्थाले मात्रै कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकद्वारा ‘घ’ वर्गका वित्तीय संस्थाहरूका लागि बुधबार जारी एकिकृत निर्देशन अनुसार क, ख र ग वर्गका वित्तीय संस्थाबाट ऋण लिएका व्यक्तिले समेत कुनै पनि लघुवित्त संस्थाबाट ऋण लिन पाउने छैनन् । त्यसैगरी एक व्यक्तिले सामुहिक जमानी वा धितो जमानी मध्ये एकैपटक एउटा मात्रै ऋण मात्र पाउने व्यवस्था गरिएको छ । लघुवित्तबाट पाइने ऋणको अधिकतम सीमा १५ लाख रहेकोमा घटाएर ७ लाखमा ल्याइएको छ । 

एकिकृत निर्देशनमा भनिएको छ, ‘‘ विपन्न तथा न्यून आय भएका समूहमा आवद्ध भएका वा नभएका व्यक्तिहरुलाई स्वीकारयोग्य धितो लिई कृषि, लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रति व्यक्ति बढीमा रु. ७ लाख रुपैयाँसम्म लघुकर्जा उपलब्ध गराउन सकिनेछ । समूहमा आवद्ध भएको सदस्यलाई एकै अवधिमा समूह कर्जा वा धितो कर्जामध्ये कुनै एक कर्जा मात्र प्रवाह गर्न
सकिनेछ । ’’

तर पहिले नै ऋण लिइसकेका ऋणीलाई नियमित तालिका अनुसार ऋण तिर्न उक्त व्यवस्थाले बाधा नपर्ने व्यवस्था गरिएकाे छ । 

त्यसैगरी राष्ट्र बैंकले तोकेको एकल ग्राहक सीमा नाघ्नेगरी कर्जा लगानी गरेको लघुवित्तले शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । लाभांश वितरण गर्दा १५ प्रतिशत माथि प्रस्ताव गरिएमा जति बढी प्रस्ताव गरिएकाे हाे त्यतिनै प्रतिशत जगेडा काेषमा समेत राख्नुपर्ने व्यवस्थामा भनिएकाे छ । 

नयाँ व्यवस्थाका अनुसार कुनै संस्थाबाट यसअघि ऋण लिएनलिएको सम्बन्धमा ऋणीको स्वघोषणा गराउनुका साथै कर्जा सूचना केन्द्रकाे रेकर्ड समेतका आधारमा यकिन गर्नुपर्ने उल्लेख छ । 

 

एकिकृत निर्देशिकाकाे पूर्ण पाठका लागि क्लिक गर्नुहाेस् ।