आइतबार, कार्तिक ९ गते २०८३

सहकारीमा बढ्न थाल्यो बचत, तरलतामा देखियाे सुधार

फाल्गुण १०, २०७९ बुधबार
सहकारीमा बढ्न थाल्यो बचत, तरलतामा देखियाे सुधार

 
विगत लामो समयदेखि तरलता अभावबाट गुज्रिरहेका सहकारी संस्थाहरुमा क्रमशः तरलता वृद्धि हुन  थालेको छ । समुदाय र सदस्य केन्द्रीत रहेर वितीय कारोवार गर्दै आएका सहकारी संस्थामा तरलता प्रतिशतमा वृद्धि हुँदै गएको हो ।

सहकारी विभागले मासिक रुपमा प्रत्येक संस्थाले गत महिनाको वितीय विवरण एक साता भित्र सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसैको  आधारमा ठूला संस्थाहरुले सार्वजनिक गरेको वितीय विवरण विश्लेषण गर्दा संस्थाहरुमा तरलता रकम वृद्धि हुँदै गएको पाइएको छ । कतिपय सहकारी संस्थाले समयमा सदस्यको बचत फिर्ता गर्न नसकेपछि सहकारीप्रति सदस्यको विश्वास कम हुँदा सहकारीबाट विभिन्न बहानामा बचत फिर्ताको क्रम बढेको थियो । जसका कारण ठुला र समुदाय केन्द्रीत सहकारीहरुलाई पनि तरलता व्यवस्थापनमा समस्या परेको थियो ।

पछिल्लो समय वितीय अवस्थामा केहि सुधार आएको र सदस्यहरुको विश्वास बढ्न थालेकाले सहकारीमा तरलता बढेको हो । मासिक विवरण प्रकाशित गरेका धेरैजसो सहकारीको तरलता १५ प्रतिशत माथि रहेको छ । संस्थाप्रति सदस्यको विश्वास जागेको र वित्तीय कारोवारमा वृद्धि भएकाले तरलता रकम बढेको सहकारीकर्मीले बताएका छन् ।

बालकुमारी सहकारीमा २४.५२ प्रतिशत तरलता

भक्तपुरको शंखधर चोकमा रहेको बालकुमारी बचत तथा ऋण सहकारी संस्थामा २४.५२ प्रतिशत तरलता पुगेको छ । सहकारी विभागको निर्देशन अनुसार संस्थाले प्रकाशित गरेको माघ महिनाको वित्तीय विवरण अनुसार संस्थामा उक्त मात्रामा तरलता पुगेको हो । संस्थामा तरलता वापत ३९ करोड,१० लाख रकम रहेको छ । त्यसैगरी संस्थाको शेयर पुँजी १३ करोेड ५३ लाख ९८ हजार, जगेडा कोष ४ करोड ८२ लाख तथा कुल सम्पत्ति १ अर्ब ९१ करोड ,३१ लाख रहेको छ । संस्थाको बचत १ अर्ब ५९ करोड ४१ लाख,ऋण लगानी १ अर्ब ३७ करोड ९४ लाख र ५४८१ सदस्य रहेका छन् । संस्थाले ६५० जना सदस्यमाझ ऋण परिचालन गर्दै आएको छ ।

शंखधर साकोसमा  ३४.४१  प्रतिशत

त्यसैगरी भक्तपुरकै शंखधर चोकमा रहेको शंखधर बचत तथा ऋण सहकारी संस्थामा ३४.४१ प्रतिशत तरलता रहेको छ । संस्थाले प्रकाशित गरेको गत महिनाको वित्तीय विवरण अनुसार १४ करोड ७३ लाख तरलता रकम रहेको छ । संस्थाको शेयर पुँजी ४ करोड ५४ लाख, जगेडा कोष २ करोड ५९ लाख र कुल सम्पति ५३ करोड ८७ लाख  रहेको छ । त्यसैगरी संस्थामा ४२ करोड ८१ लाख बचत र ३३ करोड २९ लाख ऋण लगानी रहेको संस्थाले प्रकाशित गरेको वित्तीय विवरणमा उल्ल्लेख छ । संंस्थागत पुँजीतर्फ २ करोड ६४ लाख र विभिन्न कोषमा १४ लाख २४ रहेको संस्थाका ३१३७ सदस्यमध्ये ४७७ जनाले ऋण लिएका छन् । 

पोखरा रोयलमा २४.८० प्रतिशत

कास्कीस्थित पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थामा माघ मसान्तमा तरलता रकम ४१ करोड ६१ लाख ९४ हजार रुपैयाँ अर्थात २४.८० प्रतिशत तरलता रहेको छ । संस्थाको सेयर पुँजी २१ करोड ६ लाख, जगेडा कोषमा १५ करोड ७३ लाख, विभिन्न कोषहरुमा ११ करोड ९८ लाख रुपैयाँ, कुल संस्थागत पुँजी १५ करोड ८८ लाख रुपैयाँ, बचत संकलन १ अर्ब ६७ करोड ७७ लाख, ऋण लगानी १ अर्ब ७८ करोड रुपैयाँ र कुल सम्पत्ती २ अर्ब २८ करोड ३२ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ । संस्थामा ८ हजार ७ सय ७७ जना संस्थाको सदस्य रहेको छ।

जनउत्थान साकाेसमा २३.४१ प्रतिशत 

रुपन्देहीस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थामा माघ मसान्तमा २३.४१ प्रतिशत अर्थात ५७ करोड ७२ लाख रपैयाँ तरलता छ । संस्थाले प्रकाशित गरेको अपरिष्कृत मासिक वित्तीय विवरण अनुसार २ अर्ब ४६ करोड ५२ लाख बचत संकलन र २ अर्ब ४८ करोड ५९ लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । ३० करोड ३४ लाख शेयर पुँजी रहेको संस्थाको २४ करोड ९ लाख जगेडा कोषमा छ । यस्तै ४ करोड ९३ लाख कर्जा जोखिम कोषमा छ । ३८ हजार ९७० जना सदस्य रहेको संस्थाले १० हजार ८८ जनालाई ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ।

बिन्धवासिनी साकाेसमा २०.८५ प्रतिशत

काभ्रेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले माघ मसान्तमा २०.८५ प्रतिशत तरलता कायम गरेको छ । संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार शेयरपुँजी ४६ करोड ७२ लाख, जगेडा कोष ३० करोड ९१ लाख, विभिन्न कोष १३ करोड ९९ लाख रहेको छ । त्यस्तै कुल बचत ३ अर्ब ४ करोड २९ लाख र लगानी ३ अर्ब ४९ करोड ९३ लाख रहेको छ । ४ अर्ब ४२ करोड ९ लाख कुल सम्पत्ती रहेको संस्थाको संस्थागत पुँजी ३१ करोड ५७ लाख रहेको छ । ४८ हजार २ सय ६० जना सदस्य रहेको संस्थाले ११ हजार ८ सय ७७ जनालाई ऋण लगानी गरेको छ।