नेपाल राष्ट्र बैंकले ११.५० प्रतिशत वार्षिक ब्याजदर पाइने २ अर्ब ५० करोड बराबरको बचतपत्र बिक्री गर्ने भएकाे छ । ५ वर्ष अवधिको नागरिक बचतपत्र २०८४ ‘क’ काे बिक्री बुधबारदेखि खुला हुने छ ।
राष्ट्र बैंकका अनुसार उक्त बचतपत्रको आकार २ अर्ब ५० करोड बराबरको छ भने वार्षिक व्याजदर ११.५० प्रतिशत छ। ब्याज हरेक ६ महिनामा भुक्तानी हुने उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्।
बैंकका अनुसार उक्त बचतपत्रमा न्यूनतम १० हजार रुपैयाँ र अधिकतम कुल निश्कासन रकमको १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा जति पनि आवेदन दिन सक्नेछन् ।
यस बचतपत्र खरिदका लागि इच्छुक खरिदकर्ताले नेपाल राष्ट्र बैंकको वेबसाइट अन्तर्गत मनेटरी म्यानेजमेन्टभित्र रहेको अनलाइन प्रणालीमार्फत आवेदन पेस गर्न सक्नेछन्।
राष्ट्र बैंकका अनुसार नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो।