पछिल्लो केहि समययता मुलुकका विभिन्न स्थानमा लघुवित्त संस्थाबाट ऋण लिएका मानिस समस्यामा परेको चर्चा जताततै छ । विभिन्न सञ्चारमाध्यममा यस्ता घटना दिनानुदिन बढेको समाचार आइरहेको छ । लघुवित्त संस्थाले लिने चर्को ब्याज र किस्ता तिर्न नसक्दा कतिपय बस्ती छाडेर पलायन भएको भनिएको छ ।
यसैबीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले कुनै पनि लघुवित्तले १५ प्रतिशत भन्दा बढी ब्याज लिएको भए राष्ट्र बैंकमा उजुरी दिन अनुरोध गरेका छन्। लघुवित्तले ऋणीहरुको घरबारै उठाइदिएको घटनाहरु सार्वजनिक भएपछि राष्ट्र बैंकका अधिकारीहरूले यस्तो बताएका हुन् ।
स्थानीय स्तरमा लघुवित्तका कर्मचारीले आफ्नो व्यवहार सुधार्नु आवश्यक रहेको भन्दै मिटरब्याजीका कारण पनि स्थानीयस्तरमा समस्या बढी बढ्दै गएको उनले बताएका हुन्।
नेपालले लघुवित्त संस्थाका कर्मचारी बिहान १० बजेभन्दा अगाडि र बेलुका ११ बजेसम्म ग्राहकको घरमा गएर यातना दिने र गाई वस्तु तान्ने, घरमा चुकुल लगाइदिने गतिविध गरेको सुन्नमा आएको भन्दै त्यस्तो काम तत्काल बन्द गर्न पनि आग्रह गरे ।
उनले पछिल्लो समय ५ देखि १० प्रतिशत लघुवित्त संस्थाहरुले खराब काम गरेको भन्दै करेक्शन हुनुपर्ने बताएका छन् । एउटा लघुवित्तबाट ऋण लिएर अर्को लघुवित्तबाट लिएको ऋण तिर्ने प्रक्रिया बढेपछि नेपाल राष्ट्र बैंकले एउटा ग्राहकलाई सकेसम्म एउटा वा बढीमा दुइ वटा लघुवित्तमा मात्र आबद्ध हुन पाउने व्यवस्था गर्न लागेको पनि बताए ।
लघुवित्त भनेका स्वनियममा चल्ने संस्था भएको हुनाले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई जसरी टाइट रेगुलेसनमा नराखिने उनले प्रष्ट पारे ।
लिएको ऋण तिर्न नपर्ने वा छुट पाइने भनेर कसैले नसोच्न समेत उलने आग्ह गरे । उनले ले भने –‘धेरै भड्किएर ऋणहरु मिनाहा नै हुन्छ भनेर तपाईहरु पछि लाग्नुभयो भने तपाईहरु गल्तीमा हुनुहुन्छ भ्रममा हुनुहुन्छ । त्यतातिर सोच्दै नसोच्नुहोला ।’