पोखरा–११ काहूँमा रहेको काँहुकोट बहुउद्देश्यीय सहकारी संस्थाले व्यवसायिक परियोजना सञ्चालन गरेको छ । संस्था बहुउेश्यीय भएकाले बचत ऋणका अलावा व्यवसायिक परियोजना समेत सञ्चालन गरेको हो । विगतमा संस्था बचत तथा ऋण सहकारीको रुपमा शुरु भएको भएपनि विभिन्न संस्थासँग एकिकरण भएर काहूँकोट बहुउद्देश्यीय बनेको हो ।
सहारा साकोससँग २०७१ मा एकिकरण गरेपछि बचतऋणबाट संस्था बहुउद्देश्यीयमा रुपान्तरण भएको हो । उद्देश्य धेरै भएकाले बचतऋणसँगै उत्पादनमा समेत जोडिने मान्यताकासाथ २०७२ बाट संस्था पशुपालनमा लागेको सचिव दिपकप्रसाद आचार्यले बताए । २०७७ सालमा फुलबारी साकोस र कल्याणकारी साकोससँग समेत एकिकरण गरी संस्थालाई व्यापक बनाइएको उनले बताए ।
संस्थाले सञ्चालन गरेको कृषिफर्ममा ८० वटा भैंसी रहेका छन् । भैंसीपालनमार्फत संस्थाले दैनिक रुपमा दुध उत्पादन गरी आफ्ना सदस्य र स्थानीय बजारमा विक्री वितरण गर्दै आएको छ । वार्षिक रुपमा १ करोड ५० लाख रुपैया बराबरको दुध विक्री गर्दै आएको उनले जनाए । दुध प्रशोधन गरी विविध परिकार बनाउने योजना भएपनि त्यसमा सफल हुन नसकेको उनले सुनाए । संस्थाले कच्चा दुध नै विक्री गर्दै आएको छ ।
कृषि फर्म सञ्चालनले रोजगारी सृजना भएपनि, मजदुरको अभाव रहेको छ । उत्पादनको लागि प्रयोग हुने कच्चा पदार्थको मुल्य दिनप्रतिदिन बढ्दो छ । दुधको मुल्य निर्धारण गर्दा चोकरको मुल्य १ हजार थियो भने अहिले २२ सय पुगेको छ । स्थानिय स्तरमा कच्चापदार्थ उपलब्ध नभए पशुफर्महरु सञ्चालन गर्न चुनौति रहेको उनको जिकिर छ ।

निरन्तर घाटामा गयो भने पशुफर्मको विकल्प सोच्नुपर्ने उनले सुनाए । फर्मबाट दैनिक २५० देखि ३०० लिटर दुध उत्पादन हुने गरेको छ । दुधको बजार आधाभन्दा बढी सदस्य र स्थानीय बजार नै रहेको उनले सुनाए । सदस्यलाई उत्पादनमा जोड्ने योजना बनाए पनि त्यो सफल हुन नसकेको उनले जानकारी दिए । २०७२ मा संस्थाले पशुफर्म सञ्चालनको योजना बनाउँदा हरेकको घरमा २ वटा भैंसी रहेकोमा, सहकारी आफैंले भैंसी पाल्न थालेपछि कतिपय सदस्यले भैंसी बेचेको र कतिपयले एउटा मात्र पाल्न थालेको उनले बताए ।
पोखरा आफैंमा पर्यटकीय र बजार क्षेत्र भएकोले सदस्यलाई उत्पादनमा जोड्न नसकेको उनको भनाई छ । प्रविधिको प्रयोगमार्फत कृषिमा आधुनिकीकरण गरी सदस्य माझ हस्तान्तरण गर्ने योजना बनाएको भएपनि सफल हुन नसकेको उनले सुनाए । अहिले सदस्यले फर्मलाई प्रतिकिलो ५ रुपैयामा घाँस दिन्छन् भने फर्मबाट दुध खाने गर्दछन् । संस्थाले दैनिक १४४ लिटर दुध नै बेच्ने गरेको छ ।
कच्चा पदार्थ सर्वसुलभ हुने ठाउँमा पशुफर्म सञ्चालन गर्दा सफल हुन सकिने उनको बुझाइ छ । तराईमा दुईचार रुपैयामा पाउने पराल पोखरा आइपुग्दा २० रुपैया प्रतिकिलो पर्छ । यहाँ बजार भएपनि उत्पादनको लागत बढी हुँदा नाफा नहुने रहेछ । संस्थाले ४० रोपनीमा घाँस खेती गरेको छ । ८० वटा भैंसी पाल्न १०० रोपनी जग्गाको घाँसले पनि नपुग्ने रहेछ । व्यक्तिको जग्गा खण्डिकरण भएको र राज्यको पोलिसी नहुँदा कृषि गर्न समस्या छ । उनले थपे । उत्पादन कार्यसहित संस्थाले २१ जनालाई प्रत्यक्ष रोजगारी समेत दिएको छ ।
बचत ऋणको काम नै सजिलो भएको र अन्य व्यवसाय गर्ने कुरा आदर्शको गफ मात्र भएको उनको बुझाइ छ । दुधका अलावा संस्थाले मासुको लागि कुखुरा र पशुपालन गर्ने तयारी गरिरहेको उनले जनाए ।
३१ जना शेयर सदस्यबाट शुरु भएको संस्था अहिले १५ सय सदस्य आवद्ध छन् । शेयरपुँजी ७ करोड २५ लाख र बचत ३३ करोड माथि रहेको छ । संस्थाको जगेडा र अन्य कोषमा गरी २ करोड २८ लाख सञ्चित रहेको छ ।
वित्तीय संकटको अवस्थामा पनि संस्थाले तरलतालाई व्यवस्थापन गर्न सकेको छ । करिब १५ प्रतिशत तरलता संस्थाले कायम गरेको छ । संस्थाले वर्तमान अवस्थामा समेत ५ लाख सम्मको ऋण लगानी गर्दै आएको छ । सदस्यले पेश गरेको योजना र आवश्यकता अनुसार संस्थाले त्यो भन्दा ठूलो लगानीको लागि प्रक्रिया अगाडि बढाएको उनले जानकारी दिए ।
ग्रामीण क्षेत्रमा समुदाय केन्द्रित भइ एक घर एक सदस्यको अभियान लिएर संस्था अघि बढेको छ । पोखरा महानगरपालिका ११ लाई केन्द्रविन्दु बनाएर संस्थाले कारोबार गर्दै आएको छ । संस्थाले एउटा सेवाकेन्द्र सञ्चालनमा ल्याइसकेको छ भने अर्को सञ्चालनको तयारीमा रहेको जनाएको छ । संस्था सहकारी बैंक, जिल्ला संघ लगायत अन्य विभिन्न संघमा आवद्ध छ । उत्पादन र बजारीकरणमा सहयोग पुग्ने गरी संस्थाले सहकारी बैंकबाट २ पटक सहुलियत कर्जा लिएको छ ।
सदस्य र समुदायमाझ उत्कृष्ट सेवा प्रदान गरेवापत २०७२ सालमा कास्की जिल्लाको सर्वोत्कृष्ट संस्थाको रुपमा सम्मानित भएको छ भने गत वर्ष बैंकले गण्डकी प्रदेशका बहुउद्देश्यीय सहकारीहरुमध्येमा उत्कृष्ट संस्थाको रुपमा सम्मानित भएको छ ।
संस्थाले सुशासन कायम गर्न नीति नियमलाई कार्यान्वयन गर्दै अगाडि बढेको छ । पारदर्शी ढंगले वित्तीय कारोबार गर्दै आएकाले संस्थाप्रति सदस्यको विश्वास रहेको उनले जनाए । असल अभ्यासमार्फत संस्थाले कास्की जिल्लाको सहकारी अभियानलाई टेवा पु¥याएको छ । संस्थाले प्राप्त गरेका सफल गतविधिलाई विभिन्न संस्थाहरुबीच आदानप्रदान गर्दै आएको उनले सुनाए ।
बचतमा १३ प्रतिशत र ऋणमा १६ प्रतिशत ब्याजदर रहेको संस्थाको स्प्रेड रेट ४.४ प्रतिशतको हारहारीमा छ । संस्थागत नीति बाहिर नगइ संस्था सञ्चालन भएको उनले बताए ।

संस्थाले घरजग्गा खरिदका लागि बढीमा ८ वर्षको लागि ऋण लगानी गर्दै आएको छ । सदस्यले ऋण लिएको कूल वर्षको आधा समयभन्दा अघिनै ऋण चुक्ता गरेमा ०.२५ अतिरिक्त शुल्क तिर्नुपर्छ । संस्थाले अधिक मात्रामा सदस्यमार्फत व्यापारव्यवसायमा लगानी गर्दै आएको छ ।
संस्थामा १०० देखि १००० सम्म मासिक बचत गर्न सकिन्छ । बचत सदस्यको भएको र शेयर मात्रै संस्थाको भएकाले ७०ः३० को प्रावधान अव्यहारिक हुने उनले बताए । ऐनले व्यवस्था गरे अनुसार संस्थागत पुँजी को १० प्रतिशत भन्दा बढी एकै व्यक्तिालाई लगानी नगरे संस्था समस्या नपर्ने उनले सुनाए ।
अहिले सहकारीमा बचतको ब्याजदरको होडबाजी नै चलेको छ । एउटा संस्थाले १०–१२ प्रतिशत दिँदा अर्कोले १३ प्रतिशत र १३ प्रतिशतको रकम फिर्ता दिन १४ प्रतिशत दिन थालेका छन् । सहकारीहरु पनि मिटरब्याजी जस्तै भएको र ब्याजमा अनावश्यक प्रतिस्पर्धा भएको उनको बुझाई छ । सहकारीको नियमन तीन तहमा गएपनि प्रभावकारी नियमनको अभाव भएको उनको धारणा छ । सहकारी क्षेत्र स्वनियमन चल्नुपर्ने भनिन्त त्यसो भए सन्दर्भ ब्याजदर किन तोक्ने ? उनले प्रश्न गरे । संस्था बिग्रन लागे राज्यले हेर्नुपर्ने उनको धारणा छ ।
संस्थाले सामाजिक राहत अन्तर्गत सदस्यको मृत्यु हुँदा आश्रित परिवारलाई २५ हजार प्रदान गर्ने गरेको छ । त्यसैगरी सदस्य सुत्केरी हुँदा दुइपटकसम्म २५०० शिशुपोषण खर्च प्रदान गर्दै आएको छ भने ७० वर्ष माथिका सदस्यलाई वार्षिक रुपमा २४०० ज्येष्ठ नागरिक भत्ता प्रदान गर्दै आएको छ ।