सुनचाँदी धितोमा प्रवाह हुन कर्जामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले सुनचाँदी धितो राखेर झण्डै ५० अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सुनचाँदी धितो राखेर वाणिज्य बैंकहरुले ४७ अर्ब २० करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा सुनचाँदी धितो राखेर बैंकहरुले ४२ अर्ब ५७ करोड ७३ लाख रुपैयाँ कर्जा दिएका थिए । गत वर्षको तुलनामा ४ अर्ब ६२ करोड ३८ लाख अर्थात् १०.८५ प्रतिशत बढी कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।
सुनचाँदी धितो राखेर १७ वटा बैंकले मात्रै कर्जा प्रवाह गर्ने गरेका छन् । जसमध्ये ६ वटा बैंकले बढाएका छन् भने अन्य ११ बैंकले भने घटाएका छन् । समीक्षा अवधिमा एनआईसी एशिया बैंकले सुनचाँदी धितो राखेर कर्जा प्रवाह ३ सय प्रतिशतले बढाएको छ । एनआईसीले पुस मसान्तसम्म ११ करोड रुपैयाँ कर्जा प्रदान गरेको छ । त्यसैगरी नेपाल बैंकको २१.९५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको १५.९८ प्रतिशत, लक्ष्मी बैंकको १४.९२ प्रतिशत, इन्भेष्टमेन्ट बैंकको ११.१२ प्रतिशत र सिटिजन्स बैंकको ३.३८ प्रतिशतले सुन धितो कर्जा प्रवाह बढेकाे छ ।