आइतबार, कार्तिक ९ गते २०८३

सहकारी अभियानमा अब्बल संस्थाको रुपमा स्थापित बिन्धबासिनी साकोस

फाल्गुण ६, २०७९ शनिबार
सहकारी अभियानमा अब्बल संस्थाको रुपमा स्थापित बिन्धबासिनी साकोस

 

विन्धबासिनी बचत तथा ऋण सहकारी संस्था २०५० साल फागुन ६ गते विधिवत रुपमा दर्ता भएको हो । त्यस बेला काभ्रेपलाञ्चोकमा ३ वटा बैंकहरु कृषि विकास, नेपाल बैंक र वाणिज्य बैंक बाहेक अरु वित्तीय संस्था थिएन । ती बैंकको शाखा पनि बनेपा र धुलिखेलमा मात्रै थियो । तत्कालीन सञ्चालक समितिका संस्थापक अध्यक्ष भरत प्रसाद शर्मा लगायत ५ जना परिकल्पनाकारहरुबाट ग्रामीण क्षेत्रमा बचत गर्ने र सदस्यहरुमा बचतको बानी विकास गर्ने उद्देश्यले खोपासीमा २०५० साल कार्तिक २९ गते गुरागाईंहरुको कुलदेवताको पुजाको क्रममा एउटा वित्तीय संस्था खोलौं भनेर निर्णय गर्नुभयो । त्यही क्रममा सोही वर्षको पौष १२ गते संस्थाको नाम र विनियमलाई अन्तिम रुप दिइयो र फागुन ६ गते तत्कालीन जिल्ला सहकारी कार्यालय धुलिखेलमा बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्था दर्ता गरियो । शुरुका दिनमा कच्ची घरमा सानो कोठाबाट एउट सुकुल र ट्याङ्काबाट संस्थाको वित्तीय कारोबार शुरुवात भएको थियो ।

तत्कालीन सञ्चालक समितिका सचिव स्व. दिवाकर गुरागाईले दैनिक रुपमा बिहान बेलुका संस्थामा बसेर बचत संकलन गर्ने, ऋण दिने र लेखा व्यवस्थापन गर्ने कार्य गर्नुहुन्थ्यो । साहुमहाजनबाट ऋण लिनुभन्दा सहकारीबाट ऋण लिँदा केहि सहुलियत देखिएपछि स्थानीय बासिन्दा शेयर सदस्यहरुले बैंकिङ्ग सेवाको पनि माग गर्नुभयो । बैंकमा खाता खोलेर चेक पठाएपछि अरुहरुले पनि चेक साटेर पैसा ल्याइदिन मिल्छ । तर त्यो बेला सहकारीमा भने बचत गर्न र ऋण लिन सदस्य स्वयं नै संस्थामा जानुपथ्र्यो । सदस्यको मागलाई ध्यानमा राखेर संस्थाले सीमित बैंकिङ कारोबार गर्ने निर्णय ग¥यो र सो को लागि नेपाल राष्ट्र बैंकबाट २०५२ साल असार ७ गते स्वीकृती प्राप्त गरी तत्कालीन गभर्नर सत्येन्द्र प्यारा श्रेष्ठबाट २०५२ साल कार्तिक ६ गते  सीमित बैंकिङ्ग कारोबारको समुद्घाटन गरी सीमित कारोबारको स्वीकृति लिने बिन्धबासिनी चौंथो संस्था थियो ।

खोपासीमा खानेपानीको असाध्यै समस्या रहेकाले विन्धबासिनीले समुदायमा खानेपानीको व्यवस्थापना गर्न बिन्धवासिनी खानेपानी कार्यक्रम संचालन गर्न विभिन्न निकाय र समुदायसँग सहकार्य एवं समन्वय गरेर संस्थाले खानेपानीको व्यवस्थापन गर्ने र विभिन्न ठाउँमा धारा बनाउने काम गरियो जसको समुद्घाटन तत्कालीन सभामुख दमननाथ ढुंगानाज्यूले गर्नु भएको थियो । संस्थाले त्यसबेला ७३ वटा धारा बनाएको र अहिले पनि खोपासीमा बिन्धबासिनी धारा भनेर अझै पनि देख्न सकिन्छ ।

बिन्धबासिनीले सामाजिक कार्य र वित्तीय कारोबार दुवै गर्ने भएपछि संस्थाप्रति समुदायको चासो बढ्दै गयो । त्यो समयमा संस्थाको कार्यक्षेत्र खोपासी र चलाल गणेशस्थान गाविस मात्र थियो । नजिकको गाउँ र नगरपालिकाबाट पनि सदस्य बन्न माग आएपछि २०५३ सालमा संस्थाको कार्यक्षेत्र काभ्रेपलाञ्चोक जिल्लाभर बनाइयो । शुरुमा संस्थाको नाम बिन्धबासिनी बचत कोष सहकारी संस्था थियो । नेपाल राष्ट्र बैंकबाट निरीक्षणमा आउँदा कोष भन्दा फरक अर्थ राख्छ भन्ने कुरा उठेपछि संस्थाको नाम संशोधन गरेर बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्था लि. बनाइएको हो । २०५३ सालमा संस्थाको कार्यक्षेत्र वृद्धि भएपछि सदस्यता पनि वृद्धि भएर ५०० को हाराहारीमा पुग्यो । धेरै संख्यालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर ०५३ सालमा नै समुहको अवधारणामा अघि बढ्यौं । प्रत्येक सदस्यालई एउटा समुहमा राख्ने र १०–२५ जनाको समुह बनाउने प्रक्रिया अगाडि बढाइयो । समुहबाट संयोजक सचिव र कोषाध्यक्ष चयन गर्ने र ३ महिनामा भेला गराउने, त्यहीँ संस्थाको गतिविधि र नीति कार्यक्रमको बारेमा जानकारी दिने तथा सदस्यहरुको समस्या पनि त्यहीँ सुन्ने गरी समुह व्यवस्थापन गरियो । त्यो प्रक्रिया अहिलेपनि चलिराखेको छ । संस्थाले दिने सेवामा अहिले पनि समुहको सिफारिसमा प्रदान गर्ने व्यवस्था गरिएकोछ । संस्थाले दिने राहत होस् या ऋण लिन अनिवार्य रुपमा समुहको सिफारिस ल्याउनुपर्छ । त्यसैगरी सदस्यता छाड्नुपर्‍यो भने पनि समुहले सिफारिस गरेर पठाउनुपर्छ । सहकारी अभियानमा बिन्धबासिनीको फरकपन भनेको यहि हो ।

संस्थागत विकास

एशियाली ऋण महासंघ (अक्क)ले संस्थागत विकास कार्यक्रम (इण्डीकुवा) ल्याएको थियो । त्यो कार्यक्रममा नेपालका १५ वटा संस्थाहरु आवद्ध थिए । त्यसमध्येको बिन्धबासिनी पनि एउटा थियो । संस्थागत विकास र सदस्यको व्यवस्थापन कसरी गर्ने तथा सेवालाई कसरी व्यवस्थित गर्दै लैजाने तथा र पल्र्स रेसियोमार्फत वित्तीय अनुशासन पालन गर्नुपर्ने कुरा त्यही कार्यक्रमले सिकाएको हो । ०५५/५६ सालदेखि संस्थाले संस्थाले पल्र्सलाई पूर्ण रुपमा परिपालन गर्दै आएकोछ । संस्था स्थापना हुँदा ६६ जना पुरुष र ५६ जना महिला थिए । ०५५/५६ सालमा २१ प्रतिशत महिला र ७९ प्रतिशत पुरुषको सहभागिता संस्थामा रहेको देखियो । जनसंख्या अनुसारको सहभागिता गराउन सकिएन भने संस्था दिगो हुँदैन भन्ने कुरा आत्मसात गर्दै २०५८ सालमा महिलालाई संस्थामा सहभागि गराउन नयाँ कार्यक्रम ल्याइयो । शुरुमा विपन्न महिला विकास कार्यक्रम भनियो । संस्थामा महिला सदस्य बढाउन पुरुष सदस्य भए महिला सदस्य बनाउनुपर्ने निर्णय साधारणसभाबाट नै गरियो । त्यसैगरी महिलालाई १ हजार र पुरुषलाई २ हजारको शेयर खरिद गर्नुपर्ने व्यवस्था गरियो । त्यसो गर्दा पनि संस्थामा महिला सदस्य बढेनन् । त्यसपछि महिलाहरुलाई संस्थामा प्रवेश गराउने छुट्टै ढोका चाहिन्छ भनेर लघुवित्त कार्यक्रम शुरु भयो । स्थानीय तहमा नै गएर महिलाहरुलाई समुहमा आवद्ध गराउने र बचत संकलनदेखि सहुलियतको ऋण प्रदान गर्ने काम शुरु गरियो । यो कार्यक्रमलाई सफल बनाउन आरएमडिसीले सहयोग गर्‍यो। प्राविधिक सहयोग अन्तर्गत, समुह गठन र लघुवित्त कार्यक्रम सञ्चालनका लागि सिकाउन आरएमडिसीकै खर्चमा समुहमा आवद्ध महिला, सञ्चालक र कर्मचारीहरुलाई लहानमा रहेको स्वावलम्बन लघुवित्तको भ्रमण गरायो । त्यसपछि कार्यक्रमको मोडललाई परिमार्जन गरेर लघुवित्त कार्यक्रमको नामबाट अगाडि बढ्यो । अर्कोतर्फ आरएमडिसीले लघुवित्त कार्यक्रमका लागि १० लाख रुपैया २ प्रतिशत ब्याजमा उपलब्ध गराएको थियो । ०५८ सालमा एउटा सदस्यलाई ५ हजार ऋण दिइन्थ्यो । सदस्यलाई बचत ऋण मात्र होइन सदस्य सुरक्षण कार्यक्रम पनि सञ्चालन गर्नुपर्छ भनेर संस्था लागि प¥यो । शुरुमा सदस्यको बीमा गर्ने कुरा गरेको र प्रिमियम तिर्न वार्षिक ५–६ लाख रुपैया लाग्ने देखियो । प्रिमियम तिरेर सदस्यले कति लाभ पाउन सक्छन् भन्ने कुरा यकिन भएन । ०५८ सालमा ५ लाख भनेको ठूलो रकम थियो । त्यसपछि संस्थाले सदस्यको नियमित बचतबाट केहि रकम कट्टा गर्ने र संस्थाले उति नै रकम थपिदिएर एउटा सदस्य हितकोष कार्यक्रम शुरु ग¥यो  । यो कार्यक्रम असाध्यै प्रभावकारी भयो । नेपालका सबै सहकारीले बिन्धबासिनीबाट सिकेर यस्तो राहत कार्यक्रम शुरु गरेका हुन् । पछि सदस्य सुरक्षण कार्यक्रममा नयाँ कार्यक्रम थप गरी लघु जीवनबीमा शुरु गरियो । यो सहकारी क्षेत्रमा पहिलो कार्यक्रम थियो । 

सदस्यता एवं कुल कारोबार

६२ हजार पुँजीबाट संस्था शुरु गरिएको बिन्धवासिनी अहिलेसम्म संस्थामा ४८ हजार सदस्य र ९ हजार ५ सय बालबचतकर्ता छन् । करिब ५७ हजारलाई संस्थाले सेवा दिँदै आएको छ ।  संस्थाको ४६ करोड ४२ लाख शेयरपुँजी, जगेडा कोष ३१ करोड, अन्य कोषहरुमा १५ करोड रहेको छ । संस्थाको बचत ३ अर्ब ६ करोड पुगेको छ भने कुल वासलत ४ अर्ब ४५ करोड पुगेको छ ।  अहिलेको वित्तीय संकटको स्थितिमा श्रोत व्यवस्थापन गर्न संस्थाले बाह्य ऋण समेत लिएको छ । त्यसैगरी बैंक र केहि संघहरुमा ऋण स्वीकृत गराएको छ । त्यसैगरी साना किसान लघुवित्त वित्तीय संस्थाबाट पशुपालन र कृषिमा सहुलियत ऋण लिएर सदस्यमाझ ३% देखि ९% मा सहुलियत ऋण लगानी गर्दै आएकोछ । 

सदस्य सुविधा कार्यक्रम

संस्थाले बचत संकलन गर्ने र ऋण लगानी गर्ने मुख्य कार्य गर्दै आएको छ । बचत संकलन गर्दा सदस्यको आत्मनिर्भरतालाई ध्यान दिन्छौं । बिन्धबासिनीको सदस्य बनेपछि केहि काम गर्न ऋण खोज्ने होइन, बचतबाट आफ्नो घरव्यहार चलाउने, चाडपर्व मनाउने र छोराछोरीको विवाह, ब्रतबन्ध, स्वास्थ्य उपचार, छोरा छोरीको शिक्षा प्रदान गर्न सकुन् भन्ने संस्थाको उद्देश्य हो । त्यसैगरी संस्थाबाट ऋण लिएर रोजगारमूलक कार्य गर्न अभिप्रेरित गर्ने कुरालाई हामीले जोड दिएका छौं । तालिम, प्रशिक्षणमार्फत सदस्यहरुमा सीप विकास गर्दै आएका छौं । सहकारी शिक्षा कार्यक्रममार्फत सहकारी के हो भन्ने बुझाउँदै आएका छौं । संस्थामा कारोबार गर्दा बचत र ऋण सुरक्षित छ भन्ने कुरा बुझाउन सकिएन भने सदस्यले बचत गर्दैनन् । यसर्थ हामीले सीपमूलक तालिमसँगै वित्तीय साक्षरत सम्बन्धी प्रशिक्षणलाई विशेष जोड दिन्छौं । पहिला प्रशिक्षण नगरी हामी सदस्य बनाउँदैनौं । सहकारीको मुल्य, मान्यता र सिद्धान्तका साथै बिन्धबासिनीको समग्र अवस्थाको बारेमा बताएर मात्रै सदस्य बनाउँदै आएका छौं । सदस्य बनेको ३ महिना पछि पुनः सहकारी शिक्षा दिन्छौं । संस्थाले रेमिटान्सको कार्य पनि गर्दै आएको छ । ३६५ दिने र सन्ध्याकालिन सेवा पनि सदस्यलाई दिँदै आएका छौं ।
 
प्रविधिलाई आत्मसात

प्रविधिमैत्री सेवा दिने हाम्रो प्रयास छ । संस्थाले एटिएम र मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । मोबाइल एप्समार्फत युटिलिटी पेमेन्टका साथै बैंक तथा वित्तीय संस्थामा फण्ड ट्रान्सफर गर्न सकिन्छ । नेपालमा पहिलो पटक हामी र केही संस्थाहरुले सहकारी क्षेत्रमा एटिएम सञ्चालनमा ल्याएका हौं । अहिले बजारमा कलेक्सनमा जाँदा पासबुक भर्नु पर्दैन । ट्याब्लेट बैंकिङ मार्फत सिधै रकम इन्ट्री गर्ने सुविधा ल्याएका छौं । त्यस बाहेक हामीले क्यासलेस बैंकिङ क्यूआर पेमेन्ट सेवा पनि सञ्चालनमा ल्यएको छ । 

सदस्य सम्मान र पुरस्कार

संस्थाले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी र बढी शेयर खरिद गर्ने सदस्यलाई हरेक वर्ष  सम्मान गर्दै आएको छ । भाका ननघाइ ३ वर्षसम्म नियमित ऋण तिर्ने सदस्यलाई ग्रिन कार्ड(सहुलियत परिचय पत्र)को व्यवस्था गरेका छौं । त्यहि कार्ड देखाएर कतिपय सदस्यले अन्य बैंकबाट सहुलियत ऋण लिएका छन् । बालबचतकर्ता मध्ये निम्न आयवर्गका र दलित बालबालिकाहरुलाई संस्थाले छात्रवृत्ति प्रदान गर्दै आएको छ । लघुवित्त कार्यक्रमामा उत्कृष्ट समुहलाई पनि संस्थाले सम्मान गर्दै आएको छ । ७० वर्ष उमेर पुग्ने वित्तिकै ज्येष्ठ सदस्यलाई सम्मान कार्यक्रम गर्नुका साथै बार्षिक रुपमा भत्ता समेत प्रदान गर्दै आएको छ । अर्कोतर्फ फरक क्षमता भएका व्यक्तिहरुलाई संस्थामा सदस्य बनेपछि उनीहरुको जीवनयापनलाई केहि मात्रामा भएपनि सहज बनाउन सहयोग गर्छौं । क र ख वर्गको अपाङ्ग परिचय पत्र प्राप्त शेयर सदस्यलाई वार्षिक रुपमा भत्ता दिँदै आएका छौं । बालबचतकर्ता माझ सहकारीसम्बन्धी कविता, निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता गर्नुका साथै युवाहरु बीच निबन्ध प्रतियोगिता गर्दै आएका छौं । विभिन्न स्कुल कलेजमा युवा लक्षित कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता कक्षा सञ्चालन गर्दै आएका छौं ।

कृषि उत्पादनमा टेवा

कृषिको प्रवद्र्धनमा पनि हामीले सहयोग गरेका छौं । संस्थाको नयाँ भवनमा कोल्डस्टोर राख्ने  कन्सेप्ट ल्याएका छौं र सटरहरुमा सदस्यले उत्पादन गरेको वस्तुहरुको ग्रेडिङ प्याकेजिङ र विक्री वितरणलाई सहजीकरण गर्ने उद्देश्य बनाएका छौं । कृषिमा ज्ञानमा आधारित किसान  २ कार्यक्रम सुरु गरेर २ वर्ष ६ महिनामा सम्पन्न ग¥यौं । उक्त कार्यक्रममा ८० समुहका २००२ घरधूरीलाई सेवा दियौं । उनीहरुले व्यवसायिक खेती, तरकारीे खेती र पशुपालन गर्दै आएका छन् । त्यससँगै रोशी गाउँपालिकासँग सम्झौता गरेर हामीले ब्याज अनुदान दिने गरी कृषि कार्यक्रम गरेका छौं । एउटा कृषकलाई ६ लाख ५० हजारसम्म लगानी गर्छौं  र उनीहरुले पशुपालन र कृषिकार्य गर्छन् । संस्थाले ११ प्रतिशतमा लगानी गर्ने, त्यसमा संस्थाले १% र गाउँपालिकाले ५% अनुदान दिने र ५% मात्रै कृषकले तिरे पुग्छ । ४५ जनाले उक्त ऋण चुक्ता गर्न बाँकी छ भने थप २७ जनामा ऋण लगानी गर्ने तयारी छ । उक्त कार्यक्रममा संस्थाले ३ करोड भन्दा लगानी गरेको छ ।

सामाजिक उत्तरदायित्व बहन

त्यसैगरी संस्थाले स्वास्थ्य सेवा अन्तर्गत महिलाहरुको पाठेघर र स्तन क्यान्सरको निःशुल्क परिक्षण, बृहत स्वास्थ्य परीक्षण, दन्त शिविर जस्ता कार्यक्रम गर्दै आएको छ । बेथानचोक गाउँपालिका, रेयुकाई आँखा अस्पताल र संस्थाबीच त्रिपक्षीय सम्झौता गरेर मोतिबिन्दु उन्मुलन कार्यक्रम सञ्चालन गरेका छौं । त्यसैगरी पनौती नगरपालिकासँग सम्झौता गरे बनेपादेखि पनौतिसम्म १६ वटा यात्रु प्रतिक्षालय बनाउनुका साथै बीचमा ग्रिनरी बनाउन विरुवा रोप्ने र सडक बत्तीको व्यवस्था गरेका छौं । यसमा ४०% संस्थाको र ६०% नगरपालिकाको लगानी रहेको छ । रगत अभावलाई न्युनिकरण गर्न समयसमयमा रक्तदान कार्यक्रम गर्नुका साथै, कोभिडको बेलामा सदस्यहरुलाई निःशुल्क अक्सिजनको व्यवस्था गरेका थियौं ।

सदस्यको जीवनस्तरमा परिवर्तन

हामीले सहज रुपमा सदस्यलाई ऋण सुविधा उपलब्ध गराउछौं । ऋण भनेको चाहिनेले लिने हो । अन्य लघुवित्त संस्थाले सदस्य भएपछि अनिवार्य ऋण लिन लगाउँछन् । हाम्रो अनिवार्य छैन तर बचत भने अनिवार्य गर्नैपर्छ । व्यवसाय गर्ने भए ऋण लिनुस् र ऋण लिएर दुरुपयोग नगर्नुस् भनेर हामीले सिकाउँछौं । लघुवित्तमा आवद्ध सदस्यमध्ये ३०–४० प्रतिशतले मात्रै ऋण लिएका छन् । ४८ हजार मध्ये करिब १२ हजार सदस्यले संस्थाबाट ऋण लिएका छन् । क्राइटेरिया पुगेका सदस्यले भनसुन बिना सहजै ऋण पाउँछन् । वर्तमान वित्तीय संकटको अवस्थामा पनि हामीले शैक्षिक, कृषि जस्ता क्षेत्रमा ऋण लगानी गर्दै आएका छौं । वित्तीय अवस्था धेरै चापिलो भएको बेला हामीले २५ लाखसम्म ऋण तुरुन्तै लिगानी गर्दै आएकोछ । क्रमशः तरलता वृद्धि हुँदै गएकाले ऋणको मात्रा बढाएर पूर्व सिमा अनुसार ऋण लगानी गर्ने योजना छ । संस्थामा २१% तरलता रेहकोछ । संस्थाबाट ऋण लिएर धेरै सदस्यले जीवनस्तर बदलेका छन् । कतिपय कृषक सदस्यले बालबच्चाको फि तिर्न नसक्ने अवस्था रहेकोमा अहिले डाक्टर नर्स पढाउन सक्ने भएका छन् । पहिले खानाका लागि मात्रै कृषि गर्ने सदस्यहरुले अहिले व्यवसायिक तरकारीखेती, फुल खेती, र पशुपालन गरी व्यवसायिक रुपमा अगाडि बढेका छन् । किसान २ कार्यक्रम अन्तर्गत बेमौसमी तरकारी खेती देखि ठूलै फर्महरु सञ्चालन समेत गरेका छन् । संस्थाको सहयोगले सदस्यहरुको जीवनमा देखिनसक्ने परिवर्तन भएका छन् । संस्थामा बचतसम्म गर्न नसक्ने सदस्यहरु अहिले बचत वृद्धि गर्नुका साथै ऋणको समेत कारोबार गर्न सक्ने अवस्थामा पुगेका छन् । 

लघुवित्त कार्यक्रमको प्रभावकारिता

विगतमा लघुवित्त कार्यक्रम अत्यन्त प्रभावकारी थियो । त्यो बेला यति धेरै वित्तीय संस्थाहरु थिएनन् । साहुमहाजनको भर पर्नु पथ्र्यो । शुरुवातमा संस्थाबाट ५–१० हजार रुपैया ऋण लिएर धेरैले व्यवसाय गर्न थाले । लघुवित्तमा डुुब्लिकेशन हुनुहुँदैन भन्ने हाम्रो मान्यता थियो । अन्य लघुवित्त संस्थामा पनि आवद्ध भएकाहरु हामीकहाँ सदस्य बन्न पाईंदैन थियो । पछिल्लो समय मानिसहरु धेरै वटा संस्थामा आवद्ध हुन थाले र एउटा ठाउँबाट ऋण लिएर अर्को ठाउँमा तिर्ने चलन वृद्धि भयो । अहिले धेरै संस्थामा आवद्ध हुने र महिनाभरी मिटिङमा हिँड्ने अनि कमाई भन्दा खर्च बढी हुन थालेको छ । अन्य वित्तीय संस्थाले ऋण दिन छाडे । हामीले भने लगानी रोकेको छैन । हामीकहाँ लिने र अर्को ठाउँमा तिर्ने हो कि भन्ने डर बढेर गएको छ । त्यसैले हरेक महिना प्रत्येक कार्यालयका लघुवित्त विभागलाई सदस्यले ऋण लगे अनुसारको काम गरेको छ कि छैन भनेर हेर्न कर्मचारी खटाएका छौं । नयाँ सदस्य बन्न आउनेलाई सबै कुरा बुझाएर मात्र सदस्य बनाउँछौं । ४८ हजार मध्ये करिब १८ हजार महिलाले ऋण लिएर व्यवसाय गर्दै आएका छन् संस्थाको ९४० समुह रहेको र एउटा समुहमा १०–५० जना महिला आवद्ध छन् । भेगीय हिसाबले त्यसको प्रभावकारिता ग्रामीण क्षेत्रमा बढी रहेको छ ।

विकेन्द्रित सेवा

संस्थाले ०५५/०५६ सालसम्म खोपासी सेवा कार्यालयबाट मात्रै सेवा दिँदै आएको थियो । २०५४ सालमा पनौतीमा मकर मेला भएको थियो र त्यहाँ संस्थाले स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । त्यो मेलाबाट बिन्धबासिनी साकोसको प्रचारप्रसार गर्ने उपयुक्त माध्यम बन्यो । सदस्यहरु बढ्दै गएको र ससानो बचत गर्न पनि टाढाटाढाबाट खोपासीसम्म पुग्नुपर्ने भयो । बनेपा धुलिखेलका सदस्यलाई बचत गर्न अप्ठ्यारो भएपछि संस्थाको सेवालाई स्थानीय क्षेत्रबाट नै दिनुपर्छ भनेर २०५७ सालमा संस्थाले सेवाकेन्द्रको अवधारणा ल्यायो । त्यो समयमा क्षेत्रीय अन्तरसमितिको अवधारणाको विकास गरी सम्पर्क कार्यालयको स्थापना गरी सेवा प्रदान गर्न थालियो । त्यही कुरा २०६८ सालमा सहकारी विभागबाट जारी गरिएको सहकारी मापदण्ड जारी गरी सहकारी क्षेत्रमा सेवाकेन्द्रको रुपमा विकसित भएको छ । संस्थाले ०५७।०५८ सालमा शुरु गरेको सो अवधारणा सहकारी मापदण्ड २०६८ मा नीति व्यवस्था भएर आउनु बिन्धवासिनीको गौरव मानेका छौं ।

२०५८ सालदेखि सदस्यलाई स्थानीय तहमा सेवा दिनुपर्छ भनेर ढुंखर्क, पनौती र जनागाल(बनेपा)मा सम्पर्क कार्यालय खोलियो । २०६० सालमा त्यसलाई स्तरोन्नति गरेर सम्पूर्ण सेवा दिन थालियो । सेवा केन्द्रको अवधारणाबाट सेवा दिन थाले पछि सदस्य बढ्दै गए । संस्थाले ल्याएका कार्यक्रमहरु प्रभावकारी हुँदै गए र अन्य संस्थाले पनि सिक्ने कुरा धेरै भए । संस्थाले सदस्यलाई सेवा दिन विभिन्न निकायसँग समन्वय गरे अगाडि बढेको छ । संस्थाले हाल कर्पोरेटसँगै १५ वटा कार्यालयमार्फत सदस्यलाई सेवा दिँदै आएको छ ।

भौतिक संरचना

खोपासीमा संस्थाको १० आना जग्गामा ३ तल्ले भवन छ । ढुंखर्कमा संस्थाले ९ आना घडेरीका लागि जग्गा खरिद गरेको छ  भने पनौतीमा प्रेरणा नारीचेतना सिपमूलक सहकारी संस्था एकिकरण हुँदा उक्त संस्थाको नाममा रहेको ४ आनामा बनेको २ तल्ले भवन छ । बनेपामा रहेको ३०.५ आना जग्गामा संस्थाले ब्लक ‘ए’ मा मुख्य भवन बनाएको छ । अण्डरग्राउण्डमा पार्किङ र ६० टन अट्ने कोल्डस्टोर रहेको छ । पहिलो तलामा सदस्यहरुलाई आवश्यक पर्ने सम्पूर्ण वस्तुहरु उपलब्ध गराउन मिनी मार्ट सञ्चालन गर्ने, दोश्रो तलामा बनेपा सेवा कार्यालय र २ तल्ला कर्पोरेट कार्यालय सञ्चालन हुने छ । त्यसैगरी आवासीय ट्रेनिङ सेन्टरका लागि १२ वटा कोठा रहेका छन् । त्यहाँ २५–३० जनालाई आवासीय तालिम दिन सकिने टपमा सेमिनार हल बनाउने योजना संस्थाको छ ।

त्यसैगरी ब्लक बी को भुईंतल्लामा सदस्यले उत्पादन गरेको वस्तु संकलन, ग्रेडिङ्ग, प्याकेजिङ्ग तथा विक्री वितरण गर्ने र माथिल्लो तल्ला रेष्टुरेन्ट सञ्चलानको सोच बनाएका छौं । भवन निर्माणको कुल लागत करिब १० करोड रहेको छ । कोभिडका कारण कतिपय वस्तुको मुल्य बढेकाले लागत बढ्न गएको छ । २७ प्रतिशत विलोमा इ–बिडिङ्ग भएकाले कुल लागत भन्दा माथि भने जाँदैन । संस्थाको स्थायित्वको लागि यो कोसेढुङ्गा सावित हुने हाम्रो विश्वास छ । संस्थागत पूँजीको ५०% सम्म स्थिर सम्पत्तिमा लागनी गर्न पाइन्छ, सोही अुनसार हामीले लगानी गरेका हौं । 
 
संस्थागत सम्मान तथा पुरस्कार

२०६६ सालमा नेफ्स्कुनबाट नेपालकै उत्कृष्ट संस्थाको रुपमा पुरस्कार पाएका थियौं । २०६६ सालमा राष्ट्रिय सहकारी महासंघले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्रदान गरेको थियो । अन्तर्राष्ट्रिय स्तरमा लघुवित्तमार्फत ग्रामीण क्षेत्रका वित्तीय पहुँचभन्दा टाढा रहेका मानिसहरुलाई वित्तीय पहुँच पु¥याएबापत सन् २०१० मा ‘क्रेडिट युनियन माइक्रोफाइनान्स इनोभेसन अवार्ड’ प्राप्त गरेका छौं । यो अवार्ड नेपालमा पहिलो पटक हामीले पाएका हौं । मिक्स मार्केटमा डाटा सम्प्रेषण गरेर ‘फाइव स्टार’ पाएका थियौं । राष्ट्र बैंक र विश्व बैंकले निःशुल्क रुपमा संस्थाको रेटिङ गरेको थियो । त्यसकै आधारमा फाइव स्टार पाएका हौं ।

नेफस्कुनले सञ्चालन गरेको एशियाली ऋण महासंघको एक्सेस कार्यक्रममा २०६४ सालदेखि आवद्ध भएर सन् २०१२मा ब्रोन्ज र २०१६ देखि सिल्भर ब्राण्ड पायौं । यस आ.व.को असारभित्र एक्सेस ब्राण्डका लागि अडिट गर्ने योजनाका साथ अघि बढेकाछौं । राष्ट्रिय सहकारी बैंकले मध्यमाञ्चलको उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत गरिसकेको छ । नेफ्स्कुनबाट उत्कृष्ट व्यवस्थापक पुरस्कार २०७० र २०७९ मा  प्राप्त गरेका छौं । डिभिजन सहकारी कार्यालय र जिल्ला सहकारी संघले पनि उत्कृष्ट व्यवस्थापक पुरस्कार प्रदान गरेका छन् । कोभिडको बेला सदस्यहरुलाई निःशुल्क अक्सिजनको व्यवस्था गरेका वापत नेफ्स्कुनले हामीलाई उत्कृष्ट सामाजिक उत्तरदायित्व बहन सम्मानबाट पुरस्कृत गरेको थियो । २०७५ सालमा आन्तरिक राजश्व कार्यालय काभ्रेले सबैभन्दा बढी कर तिर्ने संस्थाको रुपमा पुरस्कृत गरिसकेको छ । संस्थाका संस्थापक अध्यक्ष भरतप्रसाद शर्माले २०७४मा  नेफस्कुनबाट उत्कृष्ट संस्थापक अध्यक्ष सम्मान प्राप्त गर्नुभएको छ । २०७९ मा नेफ्स्कुनले देशभरकै उत्कृष्ट व्यवस्थापकको रुपमा संस्थाका प्रमुख कार्यकारी अधिकृत के.बी. लामालाई सम्मानित गरेको छ । यो सम्मान दोश्रोपटक हो । 

३ वर्षे रणनीतिक योजना

संस्थाले गत ३ वर्षे रणनीतिक योजना बनाइ आ.व. २०७९/८० बाट लागु गरेको छ । यो   योजना २०८१/८२मा समाप्त हुन्छ । त्यस अवधिमा संस्थाको १ लाख ५ हजार सदस्य, १० अर्ब १२ करोडको वासलात पु¥याउने योजना छ । संस्थाले सोही अनुसारको योजना बनाइ कार्यान्वयनमा ल्याएको छ । तर अहिलेको वित्तीय संकटले लक्ष्य प्राप्तिमा चुनौति थपिने अनुमान गरिएको छ । लक्ष्य प्राप्तिका लागि योजना बनाएर हरेक कार्यालयलाई टार्गेट दिइएको छ ।