शनिबार, आश्विन १७ गते २०८३

२५ लाख रुपैयाँको ‘नेपाल प्रहरी–प्रभु बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना हुने

फाल्गुण ५, २०७९ शुक्रबार
२५ लाख रुपैयाँको ‘नेपाल प्रहरी–प्रभु बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना हुने

‘नेपाल प्रहरी–प्रभु बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना हुने भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा, प्रहरी कल्याण कोष र प्रभु बैंक लिमिटेडबीच उक्त कोष सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्ने समझदारी भएको हो ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अक्षय कोष स्थापनाका लागि २५ लाख रुपैयाँको चेक प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गरी समझदारीपत्र आदान–प्रदान समेत गरिएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले तल्लो दर्जाका प्रहरी कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्ने काममा सहयोग गरेको भन्दै प्रभु बैंकलाई धन्यवाद दिए । सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको मनोबल बढ्ने उनको विश्वास छ ।

उक्त अवसरमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नेपालको एउटा व्यवस्थित संगठन नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीका सन्ततीलाई सहयोग गर्ने पाएकोमा खुसी व्यक्त गरे । उनले आगामी दिनमा समेत नेपाल प्रहरी र बैंकबीच सहयोग र सहकार्य आदानप्रदान हुने बताए ।

नेपाल प्रहरी कार्ययोजना, २०७९ को प्रहरी हवल्दार तथा जवान लक्षित कार्यक्रम अन्तर्गत नेपाल पुलिस स्कुलमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र अमररशहीद एवम् अशक्त परिवारका प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारका सन्ततीहरूलाई सबल, सक्षम, योग्य र कर्मठ नागरिक बनाउने उद्देश्यका साथ यो सम्झौता भएको हो ।

समझौताअनुसार नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र अमररशहीद एवम् अशक्त प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका उत्कृष्ट अंक प्राप्त गर्ने प्रहरी कर्मचारीका सन्ततिहरूलाई कम्तीमा २ जना जेहेन्दार विद्यार्थी छात्रवृत्ति वार्षिक शुल्क, परीक्षा शुल्क, स्टेशनरी र आवासीय सुविधा भएको स्कुलमा आवास र खाना खर्च तथा आवासीय सुविधा नभएको स्कुलमा गाडी भाडा समेत निरन्तर उपलब्ध हुनेछ ।

छात्रवृत्ति प्रदान गर्नको लागि कम्तीमा २५ लाख रूपैयाँ प्रभु बैंक लिमिटेडले प्रहरी कल्याण कोषको नाममा ‘नेपाल प्रहरी–प्रभु बैंक छात्रवृत्ति अक्षय कोष’ को स्थापना गर्ने र उक्त खाता सञ्चालन तथा व्यवस्थापन प्रहरी कल्याण कोषले गर्नेछ ।

आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागु हुने यो सम्झौताअनुसार नेपाल पुलिस स्कुलका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध हुने र नेपाल पुलिस स्कुलहरूले विद्यार्थीहरूको समयानुकूल शुल्क परिमार्जन भई वृद्धि भएको अवस्थामा छात्रवृत्ति अक्षय कोषबाट प्राप्त हुने ब्याज आम्दानी रकमबाट अपुग भएमा आपसी समन्वय र सहमतिमा समस्या सामाधान गरिने समेत समझदारीपत्रमा उल्लेख गरिएको छ ।