नेपाल राष्ट्र बैंकले १८ अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। आजै जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल हुने भएको हो। यसअघि यी ट्रेजरी बिलको बोलकबोल फागुन १ गते गर्ने भनिएको थियो। तर, सरकारले १ गते सार्वजनिक बिदा दिएकाले बोलकबोलको मिति आज सारिएको हो।
राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ७ अर्ब रुपैयाँ र १८२ दिनका लागि ६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दैछ। यी ट्रेजरी बिल क्रमशः फागुन ३० गते, २०८० वैशाख जेठ २ गते र २०८० साउन ३० गते परिपक्व हुनेछन्।
ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। दिउँसो २ बजे अनलाइनका माध्यमबाट हुने बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।