बागमती प्रदेशका बचत तथा ऋण सहकारीहरूको सार्थक एवं प्रभावकारी सहयोग र नविनता व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । बागमती प्रोस्कूनले विकास गरेको कोशिस कार्यक्रममा आवद्ध सहकारी संस्थाका प्रतिनिधिहरूबीच कार्यशालामा आयोजना गरिएको हो ।
बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षता, बागमती प्रदेश सचिव बलराम निरौलाको प्रमुख आतिथ्यता र बागमती प्रदेश सहकारी रजिष्ट्रार नारयणप्रसाद ज्ञवालीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि निरौलाले बागमती प्रदेश भित्रका अधिकांश सहकारी संस्थाहरूलाई कोशिश कार्यक्रममा आवद्ध गराई बचत तथा ऋण सहकारी अभियान सुधार गर्न अभिभावकीय भूमिका निर्वाह गर्न सुझाव दिए । उनले कोशिस कार्यक्रम बागमती प्रदेश सरकारको पनि कार्यक्रम भएकोले सहकारी अभियान र नियामक निकाय मिलेर अभियानको सुदृढिकरण गर्न कार्यक्रमले थप विश्वासको वातावरण निर्माण गर्ने जनाए ।

प्रदेश सहकारी रजिष्ट्रार नारायणप्रसाद ज्ञवालीले कोशिस कार्यक्रमको विकास देखि हालसम्म बागमती प्रदेश बचत तथा ऋण सहकारी संघलाई नियामक निकायको तर्फबाट पर्याप्त सहयोग गरेको बताए । बागमती प्रोस्कूनले स्तरीकरण कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न सक्दछ भन्ने विश्वासले स्वीकृत गरिएको बताए।
कार्यक्रममा संघले बागमती प्रदेश सरकारबाट कोशिस कार्यक्रमको स्वीकृती लिइ सकेपछि हालसम्म कार्यक्रमको स्तरवृद्धिका लागि खेलेको भूमिका र तयारीका सम्बन्धमा संघका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले प्रस्तुतीकरण गरेका थिए।
कार्यक्रममा जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलीप शर्मा, नेफ्स्कून साकोस मेनेजर क्लबका अध्यक्ष केबी लामा, काभ्रेपलाञ्चोक सिएमसी क्लबका अध्यक्ष मदन बस्नेतको सहभागिता रहेको थियो ।