उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारी ढुकुटी रितो भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै उनले ‘सरकारी वित्त सन्तुलनमा चरम दबाब’ रहेको समेत बताए ।
सरकारको राजश्व ५५ वर्षपछि उच्च दरमा ऋणात्मक भएको र चालु आर्थिक वर्षमा सरकारी खर्च धान्न वैदेशिक अनुदान ७ अर्ब २१ करोड, वैदेशिक ऋण २८ अर्ब ५७ करोड र आन्तरिक ऋण ३० अर्ब लिनु परेको उनले बताए । आर्थिक वर्ष २०७८/७९ को असार मसान्तमा नेपाल सरकारको सञ्चित कोष ६६ अर्ब २ करोडले ऋणात्मक रहेकोमा २०७९/८० को पुस मसान्तमा १ खर्ब ३९ अर्ब ४१ करोडले ऋणात्मक रहेको समेत उनले जानकमरी दिए । आयात नियमनको असर तथा आर्थिक गतिविधिमा आएको सुस्तता लगायतका कारणले राजस्व वृद्धिदर नकारात्मक हुन गई सरकारी वित्त सन्तुलनमा चरम दबाब परेको उनको भनाई छ ।‘
८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने चालु आर्थिक वर्षको लक्ष्य पुरा नहुने उनले बताए । कृषितर्फ धानको उत्पादनमा यस वर्ष केही वृद्धि हुने अनुमान रहेको र पर्यटन क्षेत्र क्रमशः सुधार हुँदै गएको देखिएको तर उत्पादनमूलक उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसकिरहेकोले आर्थिक गतिविधिमा सुस्तता आएको छ ।मुद्रास्फीतिलाई ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकोमा पुस मसान्त सम्ममा मुद्रास्फीति ७.२६ प्रतिशत पुगेकोमा उनले चिन्ता व्यक्ति गरे । पहिलो ६ महिनामा कुल आन्तरिक कर्जा २.८ प्रतिशतले र बैङ्क तथा वित्तीय संस्थाहरूले सङ्कलन गर्ने निक्षेप ४.२ प्रतिशतले वृद्धि हुनु पनि चिन्ताको विषय रहेको उनको भनाई छ ।
त्यसैगरी चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोडमा झारेका उनले बताए । उनले बजेटको आकार २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले घटाएका हुन् । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले राजस्वको महत्वाकांक्षी स्रोत राखेर ल्याएको बजेटको आकार अर्थमन्त्री पौडेलले कैंची चलाएका हुन । आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले चालु खर्च ११ खर्ब ८३ अर्ब २३ करोडबाट १० खर्ब २१ अर्ब ९२ करोडमा झारेको बताएका छन् ।