आइतबार, कार्तिक ९ गते २०८३

सहकारीमा शुसासन कायम राखिएन भने जुनसुकै समयमा दुर्घटना हुनसक्छः नगर प्रमुख श्रेष्ठ

माघ २७, २०७९ शुक्रबार
सहकारीमा शुसासन कायम राखिएन भने जुनसुकै समयमा दुर्घटना हुनसक्छः नगर प्रमुख श्रेष्ठ

पनौति चौकोटमा रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा  प्रोबेसन बागमती क्लष्टर प्रथमको २७ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला  सम्पन्न भएको छ ।

नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित कार्यशालामा साकोसका अध्यक्ष  मैया महतको अध्यक्षतामा, धुलिखेल नगरपालिकाका नगर प्रमुखअशोक कुमार व्यञ्जु श्रेष्ठको प्रमुख आतिथ्यता, नेफ्स्कूनका सञ्चालक जिवसराज खड्काको विशेष आतिथ्यता रहेको थियो । प्रमुख अतिथि अशोक कुमार ब्यान्जुले अर्थतन्त्रको तिनओटा खम्बा मध्ये एउटा महत्पूर्ण खम्बा सहकारी रहेको बताउँदै सहकारीले सिमान्तकृत समुदायमा सेवा दिनुपर्ने बताए । उनले केही सहकारीहरु सहकारीको मुल्य, मान्यता र सिद्धान्त विपरित चलेको नचलेको बताउदै उनले अहिले सहकारीमा देखिएको समस्याको कारण सोही रहेको स्पष्ट पारे ।

उनले भने, “सहकारीको पहिलो काम ग्रामिण अर्थतन्त्रमा सुधार ल्याउनु हो । सहकारीहरु अरु जुनसुकै क्षेत्रमा जतिसुकै अब्वल भएपनि शुसासन कायम राख्न सकिएन भने संस्थामा जुनसुकै समयमा दुर्घटना हुनसक्छ ।”  नगर प्रमुख श्रेष्ठले राज्य र केन्द्रीय तहका संघहरुले आपसी समझदारी कायमगरी सहकारीको अनुगमन गर्नुपर्ने, विश्व अर्थतन्त्रमा देखिएको परिवर्तनलाई विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्थाबारे बुझ्दै सजग र सचेत रहनुपर्ने तथा संस्थाले पारदर्शि भएर सदस्यप्रति जवाफदेही भएर काम गर्नुपर्नेमा जोड दिए । अव सहकारीहरुले सदस्यहरुलाई गरिने लगानीलाई उद्यमशिलता विकासमा केन्द्रित गर्नुपर्ने बताउँदै उनले नेफ्स्कूनले संस्थाको गुणस्तरियता विकासमा सञ्चालनमा ल्याएका कार्यक्रमहरु निकै प्रशसनीय रहेको बताए ।

329694782_502691722021386_1996440124101580236_n.jpg

कार्यशालामा विशिष्ट अतिथि नेफ्स्कूनका सञ्चालक  जिवस राज खड्काले नेफ्स्कूनले सञ्चालनमा ल्याएको गुणस्तर सुधारका कार्यक्रमहरुको बारेमा जानकारी गराएक थिए । संस्थामा सदस्यहरुले हामीलाई विश्वास गरेर गरेको वचत विभिन्न शीर्षकमा लगानी गरिरहेको र उक्त सदस्यको बचतको सुरक्षा गरिदिनु संस्थाका सञ्चालक समिति र व्यवस्थापनको पहिलो कार्य भएको उनको भनाई छ । भाखा नाघेको ऋणहरुको लागि आवश्यक जोखिम व्यवस्था र ऋण लगानीमा गुणस्तरियता कायम गर्नुपर्ने उनको भनाई थियो ।  

कार्यशालाको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमलराज अधिकारीले गरेका थिए भने नेफ्स्कून सूचना प्रविधि अधिकृत प्रविण अधिकारीले सूचना प्रविधि विकास र प्रयोग सम्बन्धी सहजीकरण गरेका थिए  । कार्यशालामा ललितपुर काठमाडौं र काभ्रेका गरि ६ वटा बचत तथा ऋण सहकारी संस्थाबाट ३५ जनाको सहभागिता रहेको थियो ।