शनिबार, कार्तिक ८ गते २०८३

८८ अर्ब आन्तरिक ऋण उठाउने सरकारको तयारी 

माघ २४, २०७९ मंगलबार
८८ अर्ब आन्तरिक ऋण उठाउने सरकारको तयारी 


सरकारले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । यसका लागि राष्ट्र बैंकले आन्तरिक ऋणको तालिका सार्वजनिक गरेको छ । दोस्रो त्रैमासमा ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको सरकारले तेस्रो त्रैमासमा थप ८८ अर्ब रुपैयाँ उठाउन लागेको हो । 

सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ । उक्त लक्ष्यलाई तीन चरणमा गरेर उठाउन लागेको हो । सरकारले आर्थिक वर्षको पहिलो त्रैमासमा आन्तरिक ऋण उठाएको थिएन । दोस्रो त्रैमासबाट मात्र आन्तरिक ऋण उठाउन लागेको हो । जसअनुसार चौथो त्रैमासमा सरकारले १ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना राखेको छ । 

तेस्रो त्रैमासमा ट्रजरी विलमार्फत् ६० अर्ब, विकास ऋणपत्र मार्फत् २५ अर्ब, नागरिक बचतपत्र मार्फत २ अर्ब ५० करोड र वैदेशिक रोजगार बचतपत्र मार्फत ५० करोड गरेर कुल ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागिएको हो । जसमध्ये ट्रेजरी विल र विकास ऋणपत्रको ब्याजदर बोलकबोलका आधारमा तय हुने राष्ट्र बैंकले बताएको छ ।