मुलुकमा आएको आर्थिक मन्दीसँगै बैंक तथा वित्तीय संस्था तरलता संकटबाट गुज्रिरहेका छन् । तर समुदाय र सदस्य केन्द्रित रहेर वित्तीय कारोबार गर्दै आएका कतिपय सहकारी संस्थाहरुमा भने विषम परिस्थितिमा पनि पर्याप्त तरलता रहेको छ । त्यसको एक उदाहरण हो पोखरामा रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था । आर्थिक मन्दीका बीचमा पनि संस्थामा प्रयाप्त तरलता रहेको संस्थाले जनाएको छ । रोयल साकोसले तरलता अभावको समस्या कहिले पनि नबेहोरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भिम गुरुङ्ग बताउँछन् । कोभिड १९को बेला तरलता बढी हुँदा संस्थालाई लगानीमा समस्या रहेको उनले सुनाए । अर्थतन्त्रमा आएको मन्दीका कारण संस्थामा केहि समय अघि तरलता प्रतिशत १२/१३ मा झरेकाले केहि समयका लागि ऋण लगानी रोकेको उनले बताए । संस्थाले असुलीलाई प्राथमिकता दिएसँगै हाल संस्थामा २४ प्रतिशत माथि तरलता रहेको उनले जानकारी दिए । अर्को तर्फ संस्थाले तरलता बढाउन दशै तिहार लक्षित सय दिने आवधिक बचत योजना ल्याएको र उक्त योजनामा १० हजार सदस्य मार्फत १० करोड बचत संकलन गर्ने योजना बनाएको भएपनि त्यस स्किम मार्फत १६ करोड बचत संकलन भएको उनले जानकारी दिए । सदस्यकेन्द्रित भएर अगाडी बढेकाले संस्थाप्रति सदस्यको विश्वास कायम हुँदा तरलता समस्या नरहेको उनले सुनाए ।
त्यसैगरी संस्थाले लो स्प्रेड–रेटमा बचतऋणको कारोबार गर्दै आएको छ । सहकारी ऐनले ६ प्रतिशत स्प्रेडरेट कायम गर्न भनेपनि संस्थाले ५ प्रतिशत दरमा कारोबार गर्दै आएको उनले सुनाए । संस्थाले कोभिड १९ को समयमा ९ प्रतिशत ब्याजदरमा ऋण लगानी गरेको थियो । अहिले भने सबै प्रकारका ऋणमा १६ प्रतिशत ब्याजदर कायम गरिएको छ । कृषि, उत्पादनमूलक तथा व्यवसायिक क्षेत्रमा संस्थाले लगानी गर्नुपर्ने भए पनि वैदेशिक रोजगारमा जान ऋण माग्ने सदस्यहरु बढिरहेको संस्थाले जनाएको छ । यस क्षेत्रमा वैदेशिक रोजगार र लाहुर जानेहरु धेरै रहेको र ऋणको माग पनि यसै क्षेत्रमा बढी रहेको सिइओ गुरुङ्गको भनाई छ । विदेशमा पढ्न जान वा खाडी मुलुक जान पनि ऋण नै लिनु पर्ने बाध्यता छ, उनले थपे, ‘ कृषि क्षेत्रमा गरेको लगानी भन्दा वैदेशिक रोजगारमा गेरेको लगानीबाट छिटो रिटर्न आउने गरेको छ ।’ कृषि र उत्पादनमूलक क्षेत्रमा ऋण लगानी गर्ने संस्थाको उदेश्य भए पनि कृषिमा ऋणको माग कम आउने गरेको छ । ‘सहकारी पनि व्यवसाय भएकाले हामीले सुरक्षित ढंगले ऋण लगानी गर्नैपर्छ,’ उनले भने, ‘लगानी गरेपछि समयमा साँवा व्याज आउँछ आउँदैन त्यसलाई पनि ध्यान दिनुपर्छ ।’ सरकारी बैंकमा सस्तो र अनुदानमा कृषि ऋण पाइने हुँदा कृषि ऋणका लागि सदस्यले बैंकलाई प्राथमिकता दिने गरेका छन् । १ करोडको कृषि फार्म खोलेर सहकारीमा ऋण माग्न आउने मान्छे कम हुन्छन् । दुईचार लाख सम्मको कृषि ऋण भने हामीले दिँदै आएका छौं ।
अनुत्पादक क्षेत्रमा धेरै ऋण लगानी नगर्ने र संस्थाको वार्षिक योजना बनाउँदा बढिभन्दा बढि ऋण उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने योजना भएपनि सो अनुसार हुन नसकेको उनी स्वीकार्छन् । यो आफ्नो संस्थाको मात्रै समस्या नभएर राष्ट्रिय रोगकै रुपमा रहेको उनको बुझाइ छ । संस्थाको संस्थागत पुँजी बलियो हुँदै गएको र सस्तो ब्याजदरमा कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सक्ने सम्भावना रहेको उनले सुनाए । त्यसैगरी स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरेर भएपनि ती क्षेत्रमा लगानी बढाउने योजना रहेको उनले जनाए । विगतमा सुरक्षित र छिटो प्रतिफल आउने क्षेत्रमा लगानी भएकै हो र सदस्यको माग पनि त्यतैतर्फ बढि रहेको संस्थाले जनाएको छ ।
संस्थाले धितोसम्पत्ति विक्रीका लागि बढाबढमा बोलपत्र आह्वान गर्दा कसैको आवेदन नपरेको र उक्त सम्पत्तिलाई संस्थाले नै सकारेर सहकारी कानुनले दिएको सुविधा अनुसार ६ महिना पछि सदस्यलाई नै फिर्ता गरेको उनले जानकारी दिए । त्यसपछि पनि संस्थाले ३ जना ऋणी सदस्यको गैर सम्पति विक्रीका लागि सार्वजनिक सूचना निकालेको भए पनि कसैको आवेदन नपरेको उनको भनाई छ । उक्त सम्पति पनि संस्थाको नाममा ल्याएको र सदस्यले निश्चित समय भित्र फिर्ता लिन चाहे दिइने उनले जानकारी दिए । संस्थाले क्रमश: भाका नाघेको ऋण घटाउँदै लगेको जानकारी दिदै उनले गत आ.ब.मा २० प्रतिशत रहेको खराब कर्जा अहिले १३ प्रतिशतमा झार्न सफल भएको बताए ।
त्यसैगरी सस्थाले लघुवित कार्यक्रम समेत सञ्चालन गरेको छ । संस्थाले लघु कर्जा अन्तर्गत कृषि ,पशुपालन र व्यापारव्यवसायमा ५० हजार देखि ३ लाख सम्म ऋण लगानी गर्दै आएको छ । संस्थामा १३९ केन्द्र, ३६६ वटा समुहमार्फत १८९६ सदस्य लघुवित्तमा जोडिएका छन् । संस्थाले ९ वटा गाउँपालिकाका लघुवित्त समुहमा ६ करोड ५२ लाख रकम ऋण परिचालन गरेको छ । विगतमा संस्थाले सदस्यको आम्दानीको आधारमा २० बर्षसम्मका लागि लगानी गर्दै आएकोमा अहिले ऋणको समय अवधि घटाएको जनाएको छ । सदस्यले २० बर्षको लागि ऋण लिएर एक दुई बर्षभित्रमा नै सबै ऋण चुक्ता गर्दा कुनै शुल्क लिने गरेको छैन ।
संस्थाले सुखी सदस्यको अवधारणा अघि बढाएको छ । संस्थाले ५ वर्षे रणनीतिक योजनामा नै ‘सुखी सदस्य, दिगो सहकारी’को अवधारणा ल्याएको र सदस्यलाई कसरी सुखी र खुशी बनाउन सकिन्छ भनेर आफुहरु लागिपरेको उनले बताए । सदस्यको हरेक वित्तीय आवश्यकतासँगै जन्मदेखि मृत्युसम्मका सबै आवश्यकता परिपूर्ति गर्ने हिसाबले संस्था अघि बढेको छ । सदस्यहरुलाई वित्तीय सेवासँगै आर्थिक, सामाजिक एवं धार्मिक रुपमा समेत जोडेर लैजाने सिइओ गुरुङ्गले बताए । रोयलमा सदस्य बनेपछि सदस्यको सबै आवश्यकता कसरी पूरा गर्न सकिन्छ भन्ने सोचका साथ आफुहरु अगाडि बढेको उनको भनाई छ ।
सहकारीबाट मात्रै सबै काम गर्न सम्भव नभएकाले संस्थाले रोयल फाउन्डेशन नामक गैरनाफामूलक संस्था पनि स्थापना गरेको छ । सदस्यहरुले एक हजार शुल्क तिरेर उक्त फाउन्डेशनको सदस्य बन्नुपर्छ भने सस्थाले पनि विभिन्न कोषबाट केहि रकम फाउन्डेशनमा जम्मा गर्ने गरेको छ । हालसम्म उक्त कोषमा ५० लाख रुपैया पुगेको छ । त्यही कोषको रकमबाट संस्थाले महिला सदस्य सुत्केरी हुँदा २ जनासम्म बच्चालाई उपहार दिने, सदस्यहरु विरामी पर्दा आर्थिक सहयोग गर्ने र ७५ बर्ष नाघेका शेयर सदस्यहरुलाई वार्षिक रुपमा पेन्सन उपलब्ध गराउँदै आएको छ । सदस्यको मृत्यु भएपछि निजको आश्रित परिवारलाई आर्थिक राहत जस्ता सुविधा समेत प्रदान गर्ने गरेको छ । ती सुविधाहरु पाउन भने सदस्यहरु फाउन्डेशनको सदस्य बन्नु अनिवार्य रहेको उनले सुनाए । त्यसैगरी संस्थाले सदस्यहरुका लागि कोप कार्डको समेत व्यवस्था गरेको छ । उक्त कार्ड लिएका सदस्यले रोयल किचेनमा १० प्रतिशत, होटल रेष्टुरेन्टमा १० प्रतिशत, प्रयाेगशाला सेवामा ३० प्रतिशतसम्म, फार्मेसीमा ७ प्रतिशत र इन्टरनेट सेवा लिँदा १५ प्रतिशतसम्म छुट पाउन सक्छन् । कार्ड लिन सदस्यले फर्म भर्नुपर्छ र सदस्यलाई निःशुल्क कार्ड उपलब्ध गराउने संस्थाले जनाएको छ । सदस्यहरुको परिचय कार्ड नै यहि भएकाले प्रत्येक सदस्यले अनिवार्य रुपमा कार्ड लिनु पर्ने हुन्छ ।
संस्थाले प्रधान कार्यालय बुद्धचोक सहित दुलेगौंडा तनहुँ, भण्डारढिक कास्की र पोखराकै मोहरियामा गरी ३ सेवा केन्द्र सञ्चालन गरेको छ । संस्थाको कार्यक्षेत्र कास्की, स्याङ्जा, पर्वत, तनहुँ र लमजुङ गरी ५ जिल्ला रहेको छ । संस्थामा ८ हजार ७५२ सदस्य रहेको छन् भने ४३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । संस्थाको शेयरपुँजी २१ करोड १० लाख, संस्थागत पुँजी १५ करोड ८८ लाख, अन्य कोषहरु ९ करोड ६० लाख, बचत संकलन १ अर्ब ६६ करोड र ऋण लगानी १ अर्ब ७८ करोड गरी कुल सम्पत्ति २ अर्ब २६ करोड ९० लाख रहेको छ । संस्थाले सदस्यहरुलाई प्रविधिमैत्री सेवा दिने उद्देश्यकासाथ एटिएम, एसएमएस, मोबाइल बैंकिङ, क्यूआर लगायतका सुविधा प्रदान गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत ५०० भन्दा बढि महिलालाई साक्षर बनाउन निःशुल्क प्रौढ शिक्षा, विद्यालयहरुमा रोयल बचत क्लब अन्तर्गत विद्यार्थीसँग रोयल कार्यक्रम, गाउँगाउँमा वित्तीय साक्षरता नियमित रुपमा स्वास्थ्यशिविर र सरसफाई तथा सहकारी पुस्तकालय र प्रदर्शनीकक्ष व्यवस्थापन गरी अध्ययनको व्यवस्था समेत मिलाएको छ ।
संस्थाले सदस्य र समुदायमा पु¥याएको योगदानस्वरुप उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, उत्कृष्ट प्रादेशिक सहकारी पुरस्कार, उत्कृष्ट करदाता, उत्कृष्ट जिल्लास्तरीय सहकारी, उत्कृष्ट अध्यक्ष र उत्कृष्ट व्यवस्थापक जस्ता थुप्रै सम्मान तथा पुरस्कार प्राप्त गर्न सफल भएको छ ।