काभ्रेपलाञ्चोक स्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको आ.व. २०७९।०८० को पहिलो ६ महिनाको समिक्षा गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सेवाकेन्द्र ब्यवस्थापन उपसमितिका संयोजक, सल्लाहकारहरु तथा कर्मचारीहरुको उपस्थितिमा रहेको थियो ।
संस्थाका प्रमुख सल्लाहकार तथा जिल्ला सहकारी संघ, काभ्रेपलाञ्चोकका सञ्चालक सदस्य दीपक थापाले गोष्ठीको उद्घाटन गरेका थिए । संस्थाका उपाध्यक्ष कुमारप्रसाद लामिछानेले संस्थाले वार्षिक रुपमा लिएको लक्ष्यमा हाल प्राप्तिको स्थिति के कस्तो रहेको रहेको छ र अव बाँकी रहेको समयमा शेष लक्ष्य प्राप्तिका लागि के कसरी अगाडि जाने भन्ने योजना रहेको बताए ।
सल्लाहकार थापाले संस्था सञ्चालनको शुरुवाती चरणमा शतप्रतिशत नै सञ्चालकहरुको मेहनत र परिश्रम पर्ने बताउँदै मध्यकालमा सञ्चालक र कर्मचारीहरुको ५०।५० प्रतिशत मेहनत र परिश्रम पर्ने जनाए । ‘विकसित संस्थामा भने १०० प्रतिशत कर्मचारीहरुकै महेनत र परिश्रम गर्नुपर्ने हुन्छ’, उनले भने, ‘ सामुदायिक साकोसको कर्मचारी संख्या ११६ जना रहेकाले कर्मचारी ब्यवस्थापन र उत्पादकत्व लिन चुनौतीपूर्ण हुन सक्छ यस विषयमा गम्भिर भएर ध्यान दिन अनुरोध गर्दै कर्मचारीहरुमा जिम्मेवारीबोध र दायित्वबोध गराएर उत्पादकत्व बढाउन सुझाउँछु ।’
कार्यक्रममा सहभागीहरुको तर्फबाट मन्तब्य राख्दै कुन्तावेशी सेवाकेन्द्र ब्यवस्थापन उपसमितिका संयोजक नारायण प्रसाद लम्सालले यो संस्था जिल्लाकै अब्बल संस्था रहेकोले संस्थाको सेवा उपभोग गर्न नजिकका जिल्लाका ब्यक्तिहरुको समेत आग्रह आएकोले त्यस तर्फ पनि ध्यान दिन समितिलाई आग्रह गरे ।

कार्यक्रममा नेफ्स्कुनका पूर्व प्रमुख कार्यकारी अधिकृत एवं संस्थाका योजना परामर्श उपसमितिका संयोजक डा. शिवजी सापकोटाले कार्यक्रम र कार्यक्रममा प्रस्तुतीका लागि सुधार गर्नुपर्ने कुराहरुको बारेमा सुझाब दिदैं सामुदायिकको ब्राण्ड नै काफी रहेको र सामुदायिक साकोसलाई वस्तु तथा सेवाको विस्तार गर्दै लक्ष्य हासिल गर्न कुनै पनि समस्या नरहेकोले बताए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले संस्थाको समग्र वित्तीय तथा ब्यवस्थापकिय लक्ष्य र प्राप्तिको बिवरणका साथै आगामी लक्ष्य प्रस्तुत गरेका थिए । संस्थाले यस आ.व. मा साविक बनेपा ७ स्थित युवा बचत तथा ऋण सहकारी संस्था लि. सँग एकीकरणको स्वीकृती भई एकीकृत कारोवार समेत सुरु भैसकेको जानकारी गराउँदै २०७९ पौष मसान्तसम्म संस्थाले कुल कारोवार रकममा लक्ष्य भन्दा ७ करोड बढि हासिल गर्न सफल भएको उनले बताए । संस्थाको सदस्य संख्या ४९८६९ जना, शेयर पुँजी ३९ करोड ७९ लाख, कुल कारोबार ४ अर्ब ३० करोड भएको समेत उनले बताए ।
कार्यक्रममा संस्थाले तयार गरेको पञ्चवर्षिय रणनीतिक योजना अनुरुप आ.व.२०७९/०८० को लागि निर्धारित लक्ष्यमा २०७९ श्रावण १ गतेदेखि २०७९ पुष मसान्त सम्मको वित्तीय तथा गैर वित्तीय लक्ष्यमा भएको प्राप्ति तथा सो लक्ष्य प्रप्तिका क्रममा गरिएका कृयाकलाप देखिएका समस्या तथा त्यसका समाधानका लागि तयार पारिएका योजना र सोहि अनुरुप समयसिमा भित्र लक्ष्य हासिल गर्ने प्रतिवद्धता समेत विभागिय प्रमुख र सेवाकेन्द्र प्रमुखहरुले गरेका थिए ।
कार्यक्रमका सभाध्यक्ष एवं संस्थाका अध्यक्ष प्रकाश वन्जाराले लक्ष्य प्राप्तिमा एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिए । संस्थाको सक्षमता कायम राखि विकास र विस्तारका लागि आवश्यक संशाधन र स्रोतको ब्यवस्थापनमा कमी हुन नदिने प्रतिवद्धता समेत उनले ब्यक्त गरे । सामुदायिक साकोसले सदस्य सेवामा स्थानिय तह देखि प्रदेश तहसम्म सहकार्य गरी कार्य गर्न तत्पर रहेको उल्लेख गर्दै बञ्जाराले सामुदायिक नै भावना र ब्यवहारमा हुनुपर्ने विचार राखे ।