शनिबार, आश्विन १७ गते २०८३

भ्रष्टाचार सम्बन्धी सुचकांकमा नेपालको सुधार, ११७औं स्थानबाट ११० औं स्थानमा

माघ १७, २०७९ मंगलबार
भ्रष्टाचार सम्बन्धी सुचकांकमा नेपालको सुधार, ११७औं स्थानबाट ११० औं स्थानमा

ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्ट्राचार सम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ३४ अंक पाएर ११०औं स्थानमा उक्लिएको छ । यसअघि सन् २०२१ को प्रतिवेदनमा नेपाल ३३ अंकसहित ११७ ‍औं स्थानमा थियो । सन् २०२२ मा विश्व बैङ्क, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भी–डीईएम सहित ६ वटा संस्थाद्वारा प्रकाशित सर्वेक्षणलाई सिपिआइ २०२२ को आधार मानिएको छ ।

सीपीआई २०२२ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटान ६८ अंकसहित २५ औं स्थानमा, मालदिभ्स र भारतले ४० अंकसहित ८५ औं स्थानमा, श्रीलङ्का ३६ अंकसहित १०१ औं स्थानमा , पाकिस्तान २७ अंकसहित १४० औं स्थानमा, बङ्गलादेश २५ अंकसहित १४७ औं स्थानमा र अफगानिस्तान २४ अंकसहित १५०औं स्थानमा र चीन ४५ अंकसहित ६५ औं स्थानमा रहेको छ ।

यस वर्ष सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया १२ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएका छन् । यस सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्ट जनाउँछ भने ५० भन्दा कम अंक प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा मानिने गरिएको छ ।

यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुई तिहाई मुलुकमा भ्रष्टाचार गम्भीर समस्याको रुपमा रहेको उल्लेख गरिएको छ।