शनिबार, आश्विन १७ गते २०८३

पाइपलाइनमार्फत पेट्रोल ल्याउन भर्टिकल ट्याङ्क निर्माण शुरू

माघ १३, २०७९ शुक्रबार
पाइपलाइनमार्फत पेट्रोल ल्याउन भर्टिकल ट्याङ्क निर्माण शुरू

 

नेपाल आयल निगमले पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी दोस्रो चरणको पाइपलाइन परियोजनाअन्तर्गत भर्टिकल ट्याङ्कहरुको निर्माण सुरु गरेको छ ।

निगमको मधेश प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल र ट्रान्समिक्स ट्याङ्कको गत मङ्सिर २९ गते शिलान्यास गरी निर्माणकार्य सुरु भएको हो । निगमले मोतीहारी–अमलेखगञ्ज पाइपलाइनमार्फत २०७६ भदौदेखि डिजेल आयात गरिरहेको छ ।

मोतीहारी–अमलेखगञ्ज पाइपलाइन परियोजना डिजेल र पेट्रोल दुवै ल्याउने भए पनि पेट्रोल भण्डार गर्न ट्याङ्की नहुँदा डिजेल मात्रै आयात भइरहको थियो । 

दोस्रो चरणको योजना निर्माणको लागि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनले संयुक्त रुपमा लगानी गर्नेगरी सम्झौता भएर काम अगाडि बढेको जानकारी दिए । प्रमुख यादवले दुई वटा पेट्रोल ट्याङ्कमध्ये निगम र आईओसीले एकरएक वटा ट्याङ्कको लागत व्यहोर्ने जनाए । 

प्रमुख यादवले पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि दुई वटा ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि ३ हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङ्क भारतीय पक्षले निर्माण गरिदिने उल्लेख गरे। 

मोतिहारी–अमलेखगञ्ज मल्टिप्रोजेक्ट पाइपलाइन भएकोले यसबाट पेट्रोल, डिजेल र मट्टितेल तीनवटै ल्याउन मिल्छ । पहिलो चरणमा निगमले पेट्रोल र मट्टितेल भण्डार र ल्याप बनाउन सकिएको थिएन । त्यसैले पाइपलाइनबाट डिजेल मात्रै आयात गरिएको थियो । पाइपलाइनबाट डिजेल तीन वर्ष आयात भएको र पाइपलाइनबाट डिजेल आयात गर्ने एक दिन पनि अवरोध नभएको उनले जनाए । २४ घण्टा समेत सञ्चालनमा आएकोले पाइपलाइनबाट डिजेल आयात गर्दा निगमको टेक्नीकल लागतलाई शून्य भइ वार्षिक रुपमा करिव दुई अर्ब रुपियाँ बचत भएको उनको भनाइ छ ।

प्रमुख यादवले निगमले एउटा पेट्रोल ट्याङ्क, २४ वटा रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टम, ओडब्ल्युएस र पीएमसीसी कक्षको निर्माण गर्ने बताउनुभयो । त्यस्तै, निगमको एक अर्ब ५४ करोड भारतीय रुपियाँ बराबरको खर्च हुने अनुमान गरिएको छ ।