आर्थिक मन्दीको प्रभाव बढ्दै गएसँगै वित्तीय क्षेत्रमा खराब कर्जाको चाप देखिएको छ । विगत वर्षको तुलनामा यस वर्ष वाणिज्य बैंकहरुको खराब कर्जा बढ्दै गएको देखिएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनाको तथ्यांकले बैंकहरूको खराब कर्जा बढ्दो क्रममा रहेको देखिएको हो ।
नबिल बैंकको २०७८ पुसमा १.११ प्रतिशत रहेको खराब कर्जा दर बढेर २०७९ पुससम्म आइपुग्दा २.९८ प्रतिशत पुगेको छ । ग्लोबल आइएमईकाे १.१३ प्रतिशतबाट बढेर २०७९ पुससम्म २.९२ प्रतिशत पुगेको छ । एनएमबि बैंकको १.४९ प्रतिशत रहेकोमा यो बढेर २०७९ पुससम्ममा खराब कर्जा दर २.२४ प्रतिशत पुगेको छ । त्यसैगरी प्राइम बैंकको २०७८ पुसमा ०.७८ प्रतिशत रहेकोमा अिहले २.८१ प्रतिशत पुगेको छ ।
सञ्चालनमा रहेका २२ वाणिज्य बैंकले बुधबारसम्म चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । यसअनुसार गत पुससम्ममा ती बैंकको कुल खराब कर्जा करिब १ खर्ब रुपैयाँ छ । यो गत पुससम्म २२ वाणिज्य बैंकले प्रवाह गरेको कुल कर्जा तथा सापटीको २.३५ प्रतिशत हो ।
गत आर्थिक वर्षको पुससम्म वाणिज्य बैंकको कुल खराब कर्जा ४५ अर्ब ८२ करोड रुपैयाँ थियो । यो सोही अवधिमा ती बैंकले प्रवाह गरेको कुल कर्जाको १.११ प्रतिशत हो ।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले ६ महिनाको वित्तीय विवरणअनुसार बैंकहरूको नाफा खस्किएको बताए । कृषि विकास बैंक घाटामा गएको उल्लेख गर्दै उनले नेपाली वित्त इतिहासमा नै पहिलोपटक वाणिज्य बैंक नोक्सानमा गएको जनाएका हुन् ।
चालू आर्थिक वर्षको ६ महिनामा वित्तीय विवरण प्रकाशित गरेका वाणिज्य बैंकरूमध्ये कृषि विकास बैंक १२ करोड रुपैयाँ नोक्सानमा गएको छ । यस बैंकको खराब कर्जासमेत बढेर ४.८ प्रतिशत पुगेको छ ।