शनिबार, आश्विन १७ गते २०८३

‘बैंकिङ इतिहासमा नै पहिलो पटक वाणिज्य बैंक नोक्सानीमा’

माघ ११, २०७९ बुधबार
‘बैंकिङ इतिहासमा नै पहिलो पटक वाणिज्य बैंक नोक्सानीमा’

 

नेपालको बैंकिङ इतिहासमा नै पहिलो पटक बैंक तथा वित्तीयसंस्था नोक्सानीमा पुग्ने अवस्था सिर्जना भएको बैंकरहरूले बताएका छन् । नेपाल बैंकर्स एसोसिएसनले आयोजना गरेको चालु आर्थिक वर्षको ६ महिना अवधिमा बैंकिङ क्षेत्रको अवस्था विषयक अन्तरक्रियामा एसोसिएसनका अध्यक्ष  सुनिल केसीले इतिहासमै पहिलो पटक वाणिज्य बैंक नोक्सानमा गएको अवस्था देखिएको बताए । उनले साना तथा मझौला कर्जाहरूको समेत ऋण असुल नहुने अवस्था आएको बताए । 

चालु आर्थिक वर्षको ६ महिनामा वित्तीय विवरण प्रकाशित गरेका वाणिज्य बैंकरूमध्ये कृषि विकास बैंक १२ करोड रूपैयाँ नोक्सानमा गएको छ। यस बैंकको खराब कर्जा समेत बढेर ४।८ प्रतिशत पुगेको छ। केसीले संसारभर नै आर्थिक गतिविधिमा सुस्ति आएको कारण नेपालमा समेत त्यसका बाछिटा देखिन थालेको बताए। यही कारण वाणिज्य बैंकहरूको औसत खराब कर्जाको दर बढेपनि अन्य मुलुकहरूको तुलनामा भने कमै रहेको उनले बताए ।

बैंकर संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले अहिले देखिएको खराब कर्जा व्यवस्थापन गर्न सकिने तहमै रहेको बताए ।

४२ खर्ब ७८ अर्ब रूपैयाँ कर्जा लगानी गरेका बैंकहरूको खराब कर्जा औसतमा २।२९ प्रतिशत पुगेको छ। अर्थात्, ९७ अर्ब ९६ करोड रूपैयाँ बराबरको कर्जाको सावाँ र किस्ता तीन महिनादेखि नउठेर खराब भएको हो। यसपटक बैंकहरूको नाफालागयतका वित्तीय सूचकहरू समेत प्रभावित भएको छ।

वाणिज्य बैंकहरूको नाफा गत चार आर्थिक वर्षकोभन्दा कम देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा ३० अर्ब ८१ करोड नाफा रूपैयाँ कमाएका बैंकहरूको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा ३० अर्ब १९ करोड रूपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा भने बैंकहरूको नाफा ३४ अर्ब २१ करोड रूपैयाँ रहेको थियो।

बैंकहरूले अधिक नाफा कमाएको आरोप लाग्ने गरेको भएपनि यस्तो नभएको बैंकरहरूको दाबी छ। विगत ६ महिनामा बैंकहरूको ब्याज आम्दानी ६८ प्रतिशतले बढ्दा ब्याज खर्च भने ८४ प्रतिशतले बढेको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए । उनले बैंकहरूले गत वर्षसम्म औसत १४।३ प्रतिशतसम्म लाभांश दिइरहेका थिए यो वर्ष १०।७६ प्रतिशत बराबर मात्र दिन सफल भएको पनि बताए ।