शनिबार, आश्विन १७ गते २०८३

राष्ट्रिय वाणिज्य बैंककाे ५८औं वार्षिकाेत्सव , वित्त बजारमा सशक्त प्रतिस्पर्धी रहेकाे दावी

माघ १०, २०७९ मंगलबार
राष्ट्रिय वाणिज्य बैंककाे ५८औं वार्षिकाेत्सव , वित्त बजारमा सशक्त प्रतिस्पर्धी रहेकाे दावी

राष्ट्रिय वाणिज्य बैंक ५८औं वर्षमा प्रवेश गरेको छ । त्यस अवसरमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीइओ० किरणकुमार श्रेष्ठले व्यवहार र प्रतिफलबाट पूर्ण सरकारी स्वामित्वको बैंक भएतापनि निजी तथा संयुक्त लगानीको बैंकसँगको प्रतिस्पर्धाका कुनै पक्षमा कम नरहेको बताएका छन् ।

वित्तीय सूचकांक र व्यवस्थापनमा निरन्तर सुधार गरेको भन्दै उनले संस्थागत सुशासन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई अझ सुदृढ बनाउन आवश्यक कार्यहरु संचालन गरिने बताए । उनले मर्जरको लहर चलेको भन्दै राष्ट्रिय वाणिज्य बैंकले समेत उपयुक्त रणनीति बनाई अगाडि बढ्ने जनाए ।

बैंकले अधिकतम स्रोत परिचालन तथा व्यवसाय विस्तार, निष्क्रिय कर्जा व्यवस्थापन, रि(ब्रान्डिङ तथा प्रविधिमा सुधारलगायतमा काम गरेको जानकारी दिँदै एनआईडिसी डेभलपमेन्ट बैंकसँगको मर्जर, सहायक कम्पनीका रुपमा आरबीबी मर्चेन्ट सञ्चालन, नेपाल टेलिकमसँगको संयुक्त लगानीमा नेपाल डिजिटल पेमेन्ट कम्पनीको स्थापना र सञ्चालन गरेको छ । 

चुक्ता पुँजी १५ अर्ब ६३ करोड रहेकाे बैंकले सबै जिल्लामा गरी २ सय ६५ वटा शाखा कार्यालय, दुई सय ६९ वटा एटीएम, ५१ वटा एक्स्टेन्सन काउन्टरमार्फत् सेवा प्रवाह गरिरहेको छ । 

चालू आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक अवधिसम्ममा बैंकको निक्षेप दुई खर्ब ८२ अर्ब, कर्जा दुई खर्ब ३४ अर्ब र नेटवर्थ ३४ अर्ब ३४ करोड पुगेको छ । बैंकको निष्क्रिय कर्जा दुई दशमलव ७९ प्रतिशत छ।

चालू आर्थिक वर्षको अन्त्यसम्ममा कुल निक्षेप तीन खर्ब, कुल कर्जा दुई खर्ब ५८ अर्ब, मुनाफा चार अर्ब ९७ करोड बनाउने बैंकको लक्ष्य छ । त्यस्तै शाखा संख्या तीन सय, ग्राहक संख्या ३९ लाख ७१ हजार पुर्‍याउने पनि बैंकको लक्ष्य छ ।