शनिबार, आश्विन १७ गते २०८३

राष्ट्र बैंकको क्षेत्राधिकारमा सरकारले कुनै किसिमको हस्तक्षेप गर्दैनः अर्थमन्त्री

माघ ९, २०७९ सोमबार
राष्ट्र बैंकको क्षेत्राधिकारमा सरकारले कुनै किसिमको हस्तक्षेप गर्दैनः अर्थमन्त्री

 

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंक स्वायत्त संस्था भएकोले राष्ट्र बैंकको क्षेत्राधिकारमा सरकारले कुनै किसिमको हस्तक्षेप नगर्ने बताएका छन् बताए । ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘राष्ट्र बैंक आफैं स्वायत्त कानुनको आधारमा सञ्चालित स्वायत्त संस्था हो । त्यसले आफ्ना विषयमा स्वतन्त्र निर्णय गर्ने अधिकार राख्छ । राष्ट्र बैंकलाई अर्थ मन्त्रालयले कुनै हिसावले हस्तक्षेप गर्दैन । 

उनले पछिल्ला दिनहरुमा बैंकको ब्याजदर क्रमशः कम हुँदै जाने संकेतहरु देखिएको बताउँदै यसमा तीब्रता दिन लागि आफूहरु लागेको बताए । उनले भने, ‘ब्याजदर महँगो भयो भन्ने चर्चा छ, ब्याजदर कुनै न कुनै रुपमा मुद्रास्फीतिसँग जोडिएको छ, त्यसैले हामीले मुद्रास्फीतिलाई नियन्त्रण गर्दै महँगो ब्याजदरलाई पनि सीमाभित्र राख्नका लागि पहल गर्नुपर्छ भन्ने वर्तमान सरकारको सोच हो ।’ 

साना उद्योगका समस्याहरुलाई बुझ्नका लागि सरकार प्रतिवद्ध रहेको उनले बताए । नीतिगत अस्पष्टता छन् भनेर निजी क्षेत्रले भन्छ भने आफूले त्यसको प्रतिवाद नगर्ने उनले बताए । निजी क्षेत्रका कतिपय मागहरु सरकारले सम्बोधन गर्ने काम सुरु भइसकेको उनले बताए । उनले कर बुझाउन जाँदा दुःख व्यहोर्नुपरेको गुनासोलाई अब सरकारले सम्बोधन गर्ने बताए ।

‘कर बुझाउन जाँदा दुःख व्यहोर्नुपरेको अवस्थाको गुनासो गर्नुभएको छ, कहाँ कसले कस्तो प्रकृतिको गल्ती गरेको छ, त्यसका बारेमा अर्थ मन्त्रालयको नेतृत्वलाई जानकारी दिनुहोस्,’ उनले भने, ‘राज्यका कुनैपनि निकाय, कर्मचारीले कोही पनि नागरिकलाई हैरान गर्ने काम गर्नुहुँदैन । दुःख दिने अधिकार कसैलाई छैन । कसैले दुःख दिइरहेको छ भने जानकारी पाउँ, कारबाहीको दायरामा ल्याउँछौं ।’ निजी क्षेत्रले सरकारसँग र सरकारले निजी क्षेत्रसँग गरेका अपेक्षाहरुलाई सघाउने सन्दर्भमा वर्तमान सरकार सकारात्मक रहेको उनले बताए ।