जिल्ला सहकारी संघ काठमाण्डौले लगानी गरेको कर्जामा जोखिम कोषको व्यवस्था नगरेको पाइएको छ । संघले लगानी गरेको कर्जाहरुलाई सहकारी विभागबाट जारी मापदण्ड २०६८ अनुसार असल, शंकास्पद र खराब कर्जामा वर्गिकरण गरी क्रमशः १ प्रतिशत, ३५ प्रतिशत र १०० प्रतिशत कर्जा जोखिम कोषको व्यवस्था गर्नुपर्ने भएपनि सो नगरिएको देखिएको छ ।
संघको हालै सम्पन्न २३ औं वार्षिक साधारणसभामा प्रस्तुत स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन सो कुरा औंल्याइएको छ । संघको गत आर्थिक वर्ष २०७८।७९को असार मसान्तसम्म १ करोड १३ लाख ६० हजार शेयरपुँजी रहेको छ । त्यसैगरी संघले गत आ.व.मा ८३ लाख ८९ हजार रुपैया सदस्य संस्थाहरुमा ऋण लगानी गरेको छ ।
संघले गरेको लगानीको समयमा साँवाब्याज उठ्न नसकेको र त्यसको लागि कर्जा जोखिम कोषको व्यवस्था समेत नगरिएको प्रतिवेदनले देखाउँछ । हालसम्म संघको कर्जा नोक्सानी व्यवस्था कोषमा शुन्य मौज्दात रहेको छ ।
त्यसैगरी प्रतिवेदनमा सम्पत्ति शुद्दिकरण निवारण ऐन २०६४, नियमावली २०६६ र सम्पत्ति शुद्दिकरण निवारण सम्बन्धी सहकारी संघसंस्थालाई जारी गरिएको निर्देशन २०७४ अनुसार संघमा आवद्ध प्रत्येक सदस्यको स्पष्ट अभिलेख राख्नुपर्ने सुझाव लेखापरीक्षकको छ ।
संघले कार्यालयमा रहने नगद, मार्गस्थल नगद र कारोबार काउण्टरको समेत बीमा गरेका छैन । संघले स्थिर सम्पत्तिको ह«ासकट्टी आयकर ऐनले तोकेको दर अनुसार गरेकोमा नेपाल लेखामान ०६ अनुसार सम्पत्तिको आयुअनुसार गर्नुपर्ने व्यवस्था भएकोमा त्यसो नगरीएको लेखापरिक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसैगरी संघको सञ्चित नोक्सान हिसाब बढ्दै गएको र त्यसलाई क्रमशः कम गर्दै नाफामा पु¥याउनका लागि ठोस कार्ययोजना बनाई कार्यान्वनमा जानुपर्ने लेखा सुपरीवेक्षण समितिको प्रतिवेदनमा उल्लेख छ ।
गत असार मसान्त संघमा १९६५ सदस्य संस्था आवद्ध रहेका छन् । तर संघको गतिविधिप्रति सहकारी संस्थाहरुको आकर्षण देखिँदैन । काठमाण्डौ जिल्लामा करिब ४००० को संख्यामा सहकारी संस्था रहेको भएपनि संघको भूमिका कमजोर हुँदा सबै सहकारी संस्था संघको सदस्य बन्न आकर्षित भएको पाईंदैन । संघमा आवद्ध संस्थाहरु पनि संघको कार्यशैलीप्रति सन्तुष्ट देखिएका छैनन् । आफ्ना सदस्यहरुलाई सहकारी मुल्यमान्यता र सिद्धान्त सिकाउने र संस्थाहरुको नेतृत्वदायी भूमिका खेल्नुपर्ने जिल्लाको माउ संघको अवस्था नै दयनीय देखिएको छ ।
जिल्लामा रहका अधिकांश संस्थाहरु तरलता अभाव, आर्थिक मन्दी र वित्तीय संकटबाट गुज्रिरहँदा संघले संस्थाहरुको समस्या समाधानमा ठोस कदम चाल्न नसकेको सहकारीकर्मी बताउँछन् । विभिन्न फोरमहरुमा संघका पदाधिकारीहरुले काठमाण्डौको सहकारी अभियानको नेतृत्व गरेर देशकै नमूना संघ बनाउने उद्घोष बारम्बार गर्दै आएको भएपनि संघको अवस्था भने आफैंमा दयनीय रहेको छ । संघमा आमन्त्रितसहित २१ जना सञ्चालक र ३ जना लेखा सुपरिवेक्षण समिति र विभिन्न उपसमितिहरु रहेका छन् तर संघको अवस्थालाई सुदृढ तुल्याइ संस्थाहरुको सबलीकरणको लागि सघाउन भने कसैको ध्यान पुगेको देखिँदैन ।