भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को मध्यपुर थिमि र सूर्यविनायक नगर सहकारी समन्वय उपसमितिको संयुक्त आयोजनामा सहकारीमा देखापरेका समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रम भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले स्थानीय व्यक्तिहरु मिलेर चलाएको समुदायका सहकारी संस्थाहरुमा समस्या नभएको बताउँदै बेइमानी गर्ने नियतले खोलिएका सुनका सिक्का, विभिनन उपहारको प्रलोभन दिई बचत संकलन गर्ने संस्थाहरुले समस्या निम्त्याएको जनाए ।
बचत तथा ऋण लगानीको सामान्य अभिलेखीकरण समेत नराख्ने सहकारीमा समस्या आएको भन्दै उनले सहकारीकर्मीहरु विचलित नहुन अनुरोध गरे । सहकारीहरु सुरक्षित रहेको तर सचेत भने हुनुपर्ने उनले औंल्याए ।
सहकारीमा कर्जा सुचना केन्द्र, कालो सुचीको व्यवस्था, असुली न्यायाधिकरणको गठन र स्थिरीकरण कोषको स्थापना लगायतको काममा नगरपालिकाले सहयोग गर्ने विश्वास उनले दिलाए । सहकारी संस्थाले न्यून आय भएका सदस्यहरुलाई स्वरोजगार बनाउन महत्वपुर्ण भूमिका खेलेको बताउँदै सदस्यले आफ्नो संस्थाको माया गर्नुपर्ने विचार उनको थियो ।
संघका उपाध्यक्ष हरि बल्लले अन्तरक्रिया कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिर्दै एक व्यक्ति एक सहकारी व्यबहारमा लागु गर्न नसकिने र स्थिरिकरण कोष, ऋण असुली न्यायधिकरण, कर्जा सुचना केन्द्रको स्थापना गनुपर्नेमा जोड दिए । सहकारीहरुको अनुगमन नगरपालिकाले बनाएको सहकारी ऐन अनुसार विषयगत संघलाई समेत सहभागितामा गर्नुपर्ने आवश्यकता औंल्याए ।
संघका कोषाध्यक्ष कान्छाभक्त घजुले सम्पुर्ण सहकारीहरु वित्तीय अनुशासनको परिपालना गर्नुपर्ने, संस्थाहरु कोपोमिसमा आवद्ध हुनुपर्ने र सम्पत्ति शुद्धिकरणका व्यवस्थाहरु पालना गर्नुपर्नेे उल्लेख गरे । सहकारी संस्थाहरुले तरलता व्यवस्थापनलाई वेवास्ता गरी अधिक बाह्य ऋण लिएर लगानी गर्ने, जगेडा कोष भन्दा बढी घरजग्गा जोड्ने जस्ता कारणले तरलता समस्या उत्पन्न भएको बताए ।
मध्यपुर थिमि नगरपालिकाका सहकारी शाखा प्रमुख सुरेश राईले सहकारी संस्थाहरुले मूल्य र मान्यतमा सञ्चालन संस्थाहरु मजबुत भएको बिचार राख्दै सहकारी संस्थाहरु एक आपसमा प्रतिस्पर्धी हुन नहुने उल्लेख गरे ।
सुर्यविनायक नगरपालिकाका सहकारी शाखा प्रमुख राजेन्द्र कुमार श्रेष्ठले सहकारीको भित्री र बाहिरी समस्याहरुको पहचान गरि समाधान गर्नुपर्ने र प्रविधि अनुसारसँगसगै अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे । आफ्नो संस्थाको आर्थिक प्रतिवेदनबारे सदस्यहरुको ध्यान सचेत हुनुपर्ने तथा नियामक निकायको निरिक्षणपश्चात् दिइएका सुझावहरुको परिपालना गर्नुपर्नेमा जोड दिए ।
संघका व्यवस्थापक बालकृष्ण धोंजुले सहकारीमा देखा परेका समस्या र समाधान विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । आवद्ध संस्थाका ८१ जनाको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन सूर्यविनायक नगर सहकारी समन्वय उपसमितिका सदस्य मिठाराम न्यौपानेले गरेका थिए ।