शनिबार, आश्विन १७ गते २०८३

सरकारको आम्दानी भन्दा खर्च बढी, उठेन लक्षित राजश्व

माघ २, २०७९ सोमबार
सरकारको आम्दानी भन्दा खर्च बढी, उठेन लक्षित राजश्व

 

महालेखा नियन्त्रकको कार्यालयले सरकारी खर्च आम्दानीभन्दा बढी भएको देखाएको छ । कुल सरकारी आम्दानीले खर्च थेग्न नसक्ने भएको हो । कायार्लयका अनुसार चालू आर्थिक वर्ष २०७९(८० को पुस मसान्त सकिँदासम्म सरकारको खर्च र आम्दानीबीच ठूलो खाडल प्रष्ट देखिएको छ। 

महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्म सरकारको खर्च आम्दानीको तुलनामा साढे ८१ अर्ब रुपियाँ बढी देखिन्छ । पुष मसान्तसम्म सरकारले कुल चार खर्ब ९४ अर्ब ८४ करोड रुपियाँ आम्दानी गरेको छ । जब कि सरकारको खर्च पाँच खर्ब ७६ अर्ब ३४ करोड रुपियाँ नाघेको छ । 

सरकारले पुस मसान्तसम्म गरेको कुल खर्चमध्ये अधिकांश चालू खर्च रहेकाे छ । ६ महिनाकाे अवधिमा चार खर्ब ५५ अर्ब १२ करोड रुपियाँ खर्च भएको छ । जुन चालू आवको लक्ष्यको ३८.४६ प्रतिशत हो । पुससम्म भएको कुल खर्चमध्ये भने चालू खर्चको हिस्सा करिब ७९ प्रतिशत हुन आउँछ । 

सामान्यतया पुष मसान्तमा आयकरको ४० प्रतिशत राजश्व रकम दाखिला गर्नुपर्ने व्यवस्थाका कारण पनि अन्य महिनाको तुलनामा धेरै राजस्व उठ्ने गरेको छ । त्यसै प्रयोजनका लागि सरकारले महिनाको अन्तिम दिन शनिबार हुँदा पनि सबै राजस्व कार्यालय र बैङ्क खुला राखेको थियो । 

त्यसै दिन मात्रै  १८ अर्ब रुपियाँभन्दा बढी राजस्व सङ्कलन भएको छ । पुस महिनाभर मात्रै सरकारले एक खर्ब २९ अर्ब ५५ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ । पर्याप्त प्रयासका बाबजुद पनि सरकारको आम्दानी र खर्चको अन्तर भने फराकिलो नै रहेको छ । 

कार्यालयका अनुसार कुल आम्दानीमध्ये सरकारले राजस्व शीर्षकअन्तर्गत चार खर्ब ५८ अर्ब ९८ करोड रुपियाँ सङ्कलन गरेको छ । त्यसमध्ये पनि कर राजस्व चार खर्ब पाँच अर्ब २६ करोड रुपियाँ रहेको छ । त्यस्तै गैरकर राजस्व ५३ अर्ब ७१ करोड रुपियाँ उठेको छ । सङ्कलित राजस्व चालू आवको कुल लक्ष्यको तुलनामा ३२।७१ प्रतिशत हुन आउँछ । राजस्वबाहेक सरकारले अनुदानबापत चार अर्ब ८० करोड रुपियाँ आम्दानी गरेको छ । त्यस्तै अन्य प्राप्तितर्फ ३१ अर्ब रुपियाँ सरकारलाई प्राप्त भएको छ । 

विकास निर्माणका लागि हुनुपर्ने पुँजीगत खर्च अत्यन्त कम छ । हालसम्म ५३ अर्ब ४५ करोड रुपियाँ मात्र पुँजीगत खर्च भएको कार्यालयले जनाएको छ । यो चालू आवको कुल पुँजीगत खर्च लक्ष्यको १४ प्रतिशत मात्र हो । 

त्यस्तै पुससम्म भएको कुल खर्चमध्ये यो केवल ९ प्रतिशत मात्र हुन आउँछ । वित्तीय खर्च भने लक्ष्यको करिब ३० प्रतिशत नजिक पुगेको छ । पुससम्म ६७ अर्ब ७६ करोड रुपियाँ वित्तीय शीर्षकअन्तर्गत खर्च भएको छ । चालू आवमा सरकारले दुई खर्ब ३० करोड २१ लाख रुपियाँ वित्तीय खर्च गर्ने लक्ष्य राखेको छ । त्यस्तै सबै शीर्षकअन्तर्गत गरेर सरकारले चालू आवमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँ खर्च गर्ने लक्ष्यसहित बजेट सार्वजनिक गरेको थियो । 

चालू आवका पछिल्ला महिना तरलता अभाव तथा उच्च ब्याजदरका कारण कर्जा प्रवाह हुन नसक्दा आर्थिक गतिविधिमा सङ्कुचन आएको र औद्योगिक क्षमतासमेत घटेको निजी क्षेत्रले बताउँदै आएको छ । त्यस्तै आयातमा लगाइएको प्रतिबन्धात्मक व्यवस्थाका कारणा भन्सार राजस्व पनि लक्ष्यअनुसार हुन सकेको छैन ।