हिमालयन बैंकको ३०औं साधारणसभाले सिभिल बैंक लिमिटेडलाई १०० बराबर ८०.२८ को अनुपातमा प्राप्ति गर्ने प्रस्ताव लगायतका अन्य प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति पश्चात “हिमालयन बैंक लिमिटेड” कै नाममा एकिकृत कारोबार गर्नेछ ।
प्राप्ति गरे पश्चात बैंकको कूल अधिकृत पूँजी रु. २६ अर्ब हुनेछ भने जारी तथा चुक्ता पूँजी रु. २१.६५ अर्ब भन्दा बढी हुनेछ । प्राप्ति पश्चात बैंकको कूल पूँजीकोष रु. ३६.६९ अर्ब भन्दा बढी हुनेछ । यसै गरी बैंकको कूल शाखा संजाल १८९, विस्तारित काउन्टर १९ र एटिएमा २६२ पुग्नेछ ।
साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सहित सोही आ.व. को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको ८% बोनस शेयरले हुने जम्मा रु. १.०३ अर्ब तथा ११.११ % नगद लाभांशले (कर सहित) हुने जम्मा रु. १.४४ गरी कुल १९.११% लाभांश प्रदान गर्ने निर्णय पारित गरेको छ । सभाले बिजय बहादुर श्रेष्ठलाई निर्बिरोध रुपमा सर्वसाधारण शेयरधनीका तर्फबाट संचालक समितिमा निर्वाचित गरेको छ ।