शनिबार, आश्विन १७ गते २०८३

सनराइज र लक्ष्मी बैंकबीच भयाे मर्जरको प्रारम्भिक सम्झौता

पौष २६, २०७९ मंगलबार
सनराइज र लक्ष्मी बैंकबीच भयाे मर्जरको प्रारम्भिक सम्झौता

 


सन्राइज बैंक र लक्ष्मी बैंकबीच मर्जरको प्रक्रिया अघि बढाउने सम्झौता भएको छ । दुबै संस्थाका अध्यक्षले प्रारम्भिक समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गरेका हुन् । 

दुवै संस्थाका सम्पत्ति तथा दायित्व मूल्यांकन गर्न विषेशज्ञलाई तत्काल नियुक्त गरी सोको प्रतिवेदन प्राप्त भएपछि संयुक्त मर्जर समितिमा विस्तृत छलफल गरी समितिले सिफारिश गरेको प्रतिशेयर मूल्यलाई दुवै पक्षको संचालक समितिले स्वीकृत गरी साधारण सभाबाट स्वीकृति भए बमोजिमको शेयर अनुपात कायम हुने र प्राविधिक रुपमा एकिकरणको प्रक्रिया छिटो छरितो गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था सम्बन्धी प्रचलित ऐन तथा बैंङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ अन्तर्गत गाभ्नेगाभिने सम्बन्धमा  दुवै पक्ष सहमत भएका हुन् । 

सन्राइज बैंक लिमिटेडको चुक्ता पूँजी करिब रु. १० अर्ब १२ करोड रहेको छ भने लक्ष्मी बैंकको चुक्ता पूँजी करिब रु. ११ अर्ब ५५ करोड रहेको छ । 

गत मङ्सीर मसान्तको वित्तिय विवरण अनुसार सन्राइज बैंक लिमिटेडको कूल निक्ष्ोप रु. १३२.३१ अर्ब, कर्जा रु. १२२.५३ अर्ब रहेको र बैंकको शाखा सञ्जाल १३९, एक्सटेन्सन काउण्टर १३, शाखा रहित बैंकिङ्ग सेवा ९८ र १६१ एटीएम मार्फत बैंकका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । 

सोही अवधिमा लक्ष्मी बैंक लिमिटेडको शाखा सञ्जाल १४३, एक्सटेन्सन काउण्टर १४ शाखा रहित बैंकिङ्ग सेवा ६४ र १७६ स्थानमा एटीएम जडान गरी बैंकका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । 

दुबै संस्था एक आपसमा गाभिए पश्चात बैंकको शाखा सञ्जालमा बृद्धि हुन गई शाखाको संख्या २८२, एक्सटेन्सन काउण्टरको संख्या २७, शाखा रहित बैंकिङ्ग सेवाको संख्या १६१ र एटिएमको संख्या ३३७ पुग्ने छ । बैंकको कूल निक्षेप रु. २७६.१२ अर्ब तथा कुल कर्जा रकम रु. २५५.२३ अर्ब पुग्ने देखिन्छ भने दुबै संस्था एक आपसमा गाभिए पश्चात नेपाल राष्ट्र बैंकले लिएको लक्ष अनुरुप वाणिज्य बैंकहरुको संख्या घटन गई बैंकको पहुच तथा व्यवसाय क्षमतामा व्यापक वढोत्तरी हुनुका साथै नेपाली अर्थतन्त्रमा बैंकको उपस्थिति अझ सवल हुन गई सबै पक्षलाई लाभदायक हुनेमा दुवै बैंकले विश्वास व्यक्त गरेका छन् ।