ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत काराेबार शुभारम्भ भएकाे छ । यससँगै ग्लाेबल आइएमई बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बनेको छ ।
एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जर पश्चात् एकीकृत कारोबारसँगै अधिकांश सूचकमा पहिलो बैंक बनेको बताए ।
हालसम्म ग्लोबल आइएमईमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ६ वटा फाईनान्स कम्पनी मर्ज भएको उनले बताए । सरकार र राष्ट्र बैंकको मर्जरको नीति कार्यान्वयन गरेर अन्य बैंकलाइ पनि मर्जरमा जान प्रेरित गरेको बताए । उनले नेपाल राष्ट्र बैंकले लिएको मर्जरको नीति कार्यान्वयन गराउने पहिलो बैंक ग्लोबल आईएमई बैंक बनेको बताए ।
मर्जर पश्चात १० प्रतिशत बजार हिस्सा ग्लोबल बैंकले ओगट्ने बताउँदै आकारमा मात्रै नभएर गुणस्तरीयतामा पनि रचनात्मक परिवर्तन ल्याउने उनको भनाइ छ ।
अब बैंकको कूल पुँजी ५७ अर्ब, चुक्ता पूँजी ३५ अर्ब ७७ करोड, कूल निक्षेप ४ खर्ब १२ अर्ब, कूल कर्जा ३ खर्ब ७७ अर्ब पुगेको छ । यस्तै कुल सम्पति ५ खर्ब ५ अर्ब, ग्राहक संख्या ४० लाख बढि रहेको बैंकले जनाएको छ ।