आइतबार, कार्तिक ९ गते २०८३

गुर्जुधारा सहकारीको १३ औं साधारणसभा सम्पन्न, वित्तीय काराेबार सन्तोषजनक

पौष २१, २०७९ बिहीबार
गुर्जुधारा सहकारीको १३ औं साधारणसभा सम्पन्न, वित्तीय काराेबार सन्तोषजनक

गुर्जुधारा बचत तथा ऋण सहकारी संस्थाको १३औं साधारण सभा सम्पन्न भएको छ । काठमाडौं बचत तथाऋण सहकारी संघ (कास्कून) का अध्यक्ष दिपक पनेरुको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभामा अध्यक्ष राज कुमार महर्जनले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अर्थतन्त्रको ३ मध्ये एक खम्बाको रुपमा सहकारीलाई लिएको  भए पनि सरकारको नीति र नियामक निकायका कारण सहकारी फस्टाउनुको साटो खस्कँदै गएको बताए ।

समुदायमा आधारित भएर सदस्यहरुलाई गुणस्तरीय वितीय सेवा प्रदान गर्दै आएको गुर्जुधाराले सदस्यहरुको सन्तुुष्टीलाई नै पहिलो प्राथमिकता राखेको उनले बताए । 

संस्थाले सहकारी मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै नवीनतम विधि र आधुनिक प्रविधिको प्रयोग गरी सदस्यलाई उत्कृष्ट वित्तीय सेवा दिँदै आएको महर्जनले जानकारी दिए । सहकारीमार्फत सदस्यहरुको जीवनस्तर अभिवृद्धि गर्नु नै संस्थाको ध्येय रहेको भन्दै उनले सोही अनुसार संस्थाले काम गर्दै आएकाे जनाए । 

संस्थाले आ.ब.२०७८/०७९को असार मसान्तसम्म २४०४ सदस्य मार्फत १ करोड १३ लाख शेयर पूँजी, १३ करोड ८९लाख ५७ हजार बचत संकलन र १५ करोड ४० लाख ४९ हजार ऋण लगानी गर्न सफल भएको सो अवसरमा जानकारी दिए । संस्थाले सदस्यहरुलाई ग्याँस वितरण, कृषि रासायनिक मल, विप्रेषण सेवा, सीप तथा क्षमता विकास तालिम,रक्तदान,सामाजिक सुरक्षा तथा शेयर सदस्य हितकोष र सदस्य शिक्षा एवं तीर्थटान जस्ता कार्यक्रम गर्दै आएको छ ।

323463350_1198527991042039_1332832972258539874_n.jpg संस्थाको दिगोपना र वित्तीय कारोबारलाई समय सापेक्ष बनाउन डिजिटलाईजेशनमा जाने योजना अघि सारेको छ । संस्थाले वित्तीय पहुँचबाट टाढा रहेका सिमान्तिकृत, गरिब, न्युनआय र विपन्न वर्ग र विशेषगरी महिलाहरुलाई लक्षित गरी लघुवित कार्यक्रम सञ्चालन गर्ने भएको छ । लघुवित मार्फत उनीहरुलाइ उत्पादनमूलक र आयमूलक क्षेत्रमा लगाई रोजगारी सृजना गरी, आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपमा माथि उठाउने लक्ष्य संस्थाले लिएको छ ।

संस्थाले नेशनल क्यान्सर अस्पताल र समाज डेण्टलसँगको सहकार्यमा सदस्यलाई क्यान्सर सम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने र सदस्यहरुका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाएको छ ।

सभामा लेखा सुपरिवेक्षण समितिका संयोजक दशमाया महर्जनले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै निक्षेपको बीमा गर्न सुझाव दिएकी छिन्र । संस्थामा भाखा नाघेको ऋणको अनुपातमा वृद्धि हुदै गएकाले ऋण नोक्सानी कोष वृद्धि गर्नु पर्ने सुझाव उनकाे छ।  

323449395_698170408595687_3978900362040021370_n.jpg